अवैतनिक वाणिज्यदूतहरूको संस्था (एचसिसीएन) र वाणिज्यदूतको विश्व महासङ्घले आयोजना गरेको सम्मेलनमा आर्थिक कूटनीतिको विस्तार, व्यापार, पर्यटन, संस्कृति तथा सामाजिक क्रियाकलापको माध्यमबाट समृद्धिमा साझेदारी गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनमा सहभागित विभिन्न २०० मुलुकका प्रतिनिधिमार्फत नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरवपूर्ण छविलाई थप उचाइमा पु¥याउने सम्मेलनको उद्देश्य रहेको छ।
सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको थियो।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले नेपाल राजनीतिक स्थायित्वसँगै आर्थिक रूपान्तरणमा प्रवेश गरेको उल्लेख गर्दै आर्थिकरूपले समृद्ध नेपाल निर्माण नै अहिलेको सरकारको प्राथमिकता भएको बताए। उनले दिगो विकास लक्ष्य हासिल गर्दै सन् २०३० सम्म नेपाललाई मध्यम आययुक्त मुलुकका रूपमा उभ्याउने गरी सरकारले आफ्नो कामलाई तीव्र गतिमा अघि बढाएको जानकारी दिए।
मन्त्री ज्ञवालीले संवैधानिकरूपमा नै सबै नागरिकलाई सामाजिक न्याय प्रदान गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ परिकल्पना साकार पार्ने सङ्कल्पका साथ सरकार अगाडि बढेको बताए। पछिल्लो एक दशक राजनीतिक उपलब्धि संस्थागत गर्न समय खर्च गर्नुपरेको यथार्थ सुनाउँदै उनले सबल अर्थतन्त्रको माध्यमबाट मुलुकलाई समृद्धशाली बनाउन सकिने बताए।
मुलुकको समग्र विकासका लागि वैदेशिक पूँजी भित्र्याउन सरकारले लगानीसम्बन्धी ऐन कानून जारी गरेको जानकारी गराउँदै उनले नेपालमा लगानीका लागि पहल गर्न आग्रह गरेका थिए। वैदेशिक लगानीलाई सहज बनाउन यससम्बन्धी विभिन्न ऐन कानून परिमार्जन गरेको र यसबीचमा एकल विन्दु सेवा सञ्चालनमा ल्याइएको, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन जारी भइसकेको, वैदेशिक लगानीलाई कानूनीरूपमा नै सुरक्षित गरिएको र त्यसको प्रतिफल सजिलै स्वदेश लैजान सकिने उनको भनाइ छ।
नेपालको परराष्ट्र नीतिको मूलभूत तत्व पञ्चशीलका सिद्धान्त भएको र सबै मुलुकसँग समानताका आधारमा व्यवहार गरिने बताउँदै उनले क्षेत्रीय सहकार्य र साझेदारीलाई परराष्ट्र नीतिको केन्द्रमा रहेको स्पष्ट पारेका छन्। मन्त्री ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) मार्फत क्षेत्रीयरूपमा समृद्धि खोजिएको बताए।
एचसिसीएन नेपालको डीन तथा नेपालस्थित दक्षिण अफ्रिकी वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठले आगामी दशकमा दिगो विकास लक्ष्य हासिल गर्न सबैको सहयोग आवश्यक रहको बताए। जलवायु परिवर्तन अहिलेको मुख्य चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै उनले तापमान वृद्धिले ती लक्ष्य प्राप्तिमा व्यवधान उत्पन्न हुनसक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए।
उनले लामो समयको सङ्क्रमणपछि मुलुक आर्थिक विकासको यात्रामा प्रवेश गरेसँगै मुलुकमा लगानीको अवसर प्रशस्त रहेको, जलविद्युत्, उद्योग, सम्पर्क सञ्जाल निर्माण, पूर्वाधार र सेवाक्षेत्रमा लगानीका प्रशस्त अवसर रहेकाले आ–आफ्ना देशका लगानीकर्तालाई प्रोत्साहन गर्न आग्रह गरेका थिए।
वाणिज्यदूतको विश्व महासङ्घका अध्यक्ष डा. अएकुट इकेनले दिगो विकास लक्ष्य हासिल गर्न क्षेत्रीय साझेदारी आवश्यक भएकामा जोड दिँदै अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक वृद्धिका लागि महावाणिज्यदूतको भूमिका सक्रिय हुनुपर्ने बताए।
तीन दिनसम्म चल्ने यस सम्मेलनमा लैङ्गिक समानता, जलवायु परिवर्तन तथा हिमनदी पग्लने, सम्पर्क सञ्जाल र समृद्धिजस्ता विषयमा छलफल हुनेछ।