कुनैपनि कम्पनीमा लगानी गर्नुुअघि सर्वप्रथम सो कम्पनीको शेयर आम्दानीका आधारमा कति महङ्गो छ भनेर हेर्नुपर्ने हुन्छ। यसलाई मूल्य आम्दानी अनुपातबाट बुझ्न सकिन्छ। मूल्य आम्दानी अनुपातले कुनै पनि कम्पनीको शेयरमा लगानी गर्दा सो कम्पनीको एक कित्ता शेयरले कति आम्दानी गर्छ र सो आम्दानीका आधारमा उक्त कम्पनीको शेयरमूल्य कति गुणा महङ्गो छ भन्ने जानकारी दिन्छ।
थोरै शेयर मूल्य भएपनि एक कित्ता शेयरमा गरिएको लगानीबाट थोरै मात्र आम्दानी भएको कुनै कम्पनीको शेयरमा गरिने लगानीको तुलनामा धेरै प्रतिशेयर आम्दानी र मूल्य रहेको भएपनि थोरै मूल्यआम्दानी अनुपात रहेको कम्पनीका शेयर लगानी उपयुक्त मानिन्छ।
धेरै मूल्य रहेपनि मूल्य आम्दानी अनुपात थोरै भएका कम्पनीको प्रतिशेयर आम्दानी धेरै हुन्छ। धेरै कमाउने कम्पनीको शेयरमा लगानी थोरै कमाउनेको तुलनामा मूल्य धेरै रहेपनि उपयुक्त मानिएको हो।
साधारण तय: १५ देखि २० गुणा वा सो भन्दा कम मूल्य आम्दानी अनुपात रहेको कम्पनीको शेयरमा गरिने लगानीका सैद्धान्तिक रुपमा उपयुक्त हुन्छ भनिन्छ। २० गुणा मूल्य आम्दानी अनुपात भन्नाले सो कम्पनीको एक कित्ता शेयरले गर्ने आम्दानीको अनुपातमा सो कम्पनीको शेयरमूल्य २० गुणा धेरै रहेको छ भनेर बुझ्नुपर्छ।
धेरै प्रतिशेर आम्दानी रही कम मूल्य आम्दानी रहेका जुनसुकै कम्पनीहरु लगानीका लागि धेरै मूल्य आम्दानी अनुपात र थोरै प्रतिशेयर आम्दानी रहेका कम्पनीभन्दा धेरै उपयुक्त हुन्छन्।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुमध्ये ४७ वटा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसेका छन्। व्यवस्थापन र कर्मचारीको टकरावका कारण एक महिनादेखि कार्यालय ठप्प हुँदा नाडेपले वित्तीय विवरण सार्वजनिक गर्न सकेको छैन। भने यस्तै हालै मात्र आईपीओ जारी गरेका घोडीघोडा लघुवित्त र स्वाभिमान लघुवित्तले पनि प्रथम त्रैमास समाप्त भएको ३५ दिन कटेपनि वित्तीय विवरण सार्वजनिक गरेको छैनन्।
यद्यपी स्वाभिमान लघुवित्तले भने मेरोलगानीमा सम्पर्क गरि बुटवलबाटै प्रकाशित दैनिक पत्रिकामा कार्तिक २५ गते नै वित्तीय विवरण प्रकाशन गरिसकेको दाबी गरेको छ। तर उसले राष्ट्रिय दैनिक आर्थिक पत्रिकामा प्रकाशन गर्नुपर्ने प्रावधानलाई नटेरी धेरै शेयर लगानीकर्ताको पहुँच बाहिर रहेको स्थानीय दैनिकमा प्रकाशन गरेको हो। जसले अधिकांशले उसको वित्तीय विवरण थाहा पाउन सकेका छैनन्।
- हेरौं कुन लघुवित्त कम्पनीको मूल्य आम्दानी अनुपात कति छ ?
वित्तीय विवरण सार्वजनिक भएका ४७ लघुवित्त कम्पनीहरुमध्ये मंसिर ५ गते बिहीबारको शेययरमूल्यका आधारमा स्वाबलम्बव लघुवित्तको मूल्य आम्दानी अनुपात सबैभन्दा कम ११.९२ गुणा रहेको छ। वार्षिक प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ६० पैसा रहेको यस लघुवित्तको शेयर कमाईको तुलनामा ११.९२ गुणा धेरै अर्थात ९२५ रुपैयाँ रहेको छ।
यस्तै गुराँस लघुवित्तको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै अर्थात १९७ गुणा छ। वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ रहेको यस लघुवित्तको शेयर कमाईको तुलनामा १९७ गुणा धेरै अर्थात प्रतिकित्ता शेयरमूल्य ३९४ रुपैयाँ रहेको छ ।
यस अवधिमा ९ लघुवित्त कम्पनीहरुको मूल्य आम्दानी १५ गुणाभन्दा कम छ भने २० भन्दा कम मूल्य आम्दानी रहेका लघुवित्तको संख्या २० नै रहेको छ। ५० भन्दा कम पिई रहेका लघुवित्त ४३ वटा छ भने एक सयभन्दा धेरै पिई रहेको लघुवित्त एउटा मात्र रहेको देखिन्छ।
( नोट: चुक्ता पूँजी र खुद नाफा हजारमा देखाइएको छ।)
यसरी धेरै प्रतिशेयर आम्दानी हुने लघुवित्तको शेयरमूल्य धेरै रहेपनि सो कम्पनीको शेयरमा गरिने लगानी थोरै शेयरमूल्य रहेर थोरै प्रतिशेयर आम्दानी हुने कम्पनीको तुलनामा सुरक्षित लगानी मानिन्छ। तर यो लगानी विश्लेषणको यो एउटा आधार मात्र हो। लगानीका लागि कुनैपनि कम्पनीको व्यवस्थापकीय क्षमता, सो कम्पनीको अघिल्ला तीन वर्षहरुको प्रगतिको अवस्था, लगानीकर्तालाई वितरण गरेको लाभांश र शेयरमूल्य आएको उतार चढाव पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
दुख:ले आर्जन गरेको धन गलत कम्पनीको शेयरमा हुने लगानीबाट नोक्सानी हुने भएकाले लगानी गर्नुभन्दा पहिला नै कम्पनीको बारेमा विस्तृत अध्ययन गर्नु आवश्यक हुन्छ। कुनै समाचारमा आएको आधारमा मात्रै आँखा चिम्लेर गरिने लगानी पनि उत्तिकै जोखिमपूर्ण हुनसक्छ भन्ने कुरा बुझ्नुपर्छ। समाचारमा आउने विवरण लगानी निर्णयका लागि एउटा मात्र पाटो मात्र बन्नसक्छ न कि पूरै लगानीबाट प्रतिफलको सुनिश्चितता ! दोस्रो बजारमा गरिने लगानी प्राथमिक शेयरमा गरिने लगानीको तुलनामा थप जोखिमपूर्ण हुने भएकाले पनि लगानी निर्णयमा स्वयम लगानीकर्ता आफैँ जिम्मेवार बन्न आवश्यक छ।
प्रथम त्रैमास अवधिमा लघुवित्तहरुको कूल चुक्ता पूँजी १५ अर्ब १८ करोड ७८ लाख २६ हजार रुपैयाँ रहेको छ। यस अवधिमा वित्तीय विवरण सार्वजनिक भएका ४७ कम्पनीले एक अर्ब ५१ करोड ४ लाख १४ हजार खुद मुनाफा आर्जन गरेका छन्। यो नाफा पूँजीको तुलनामा करिब १० प्रतिशत हो।
लघुवित्तहरुको न्यूनतम दुई करोड ७६ लाख देखि अधिकतम एक अर्ब २० करोड चुक्ता पूँजी रहेकोमा औषत पूँजी ३० करोड ३७ लाख ५६ हजार र खुद नाफा न्यूनतम ३ लाख ९२ हजारदेखि अधिकतम २२ करोड २६ लाख १७ हजारसम्म मुनाफा आर्जन भएकोमा औषतमा ३ करोड २१ लाख ३६ हजार मुनाफा आर्जन भएको देखिन्छ।
यस्तै लघुवित्त समूहको औषत प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९३ पैसा, औषत मूल्य आम्दानी अनुपात २८.२९ गुणा र औषत शेयरमूल्य ६४९ रुपैयाँ ७७ पैसा रहेको छ।