पूर्व सीईओ ढकाल बने मुक्तिनाथ विकास बैंकको अध्यक्ष

Dec 16, 2019 07:11 PM Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) का पूर्व सीईओ भरतराज ढकाल मंसिर ३० गते पोखरामा सम्पन्न तेह्रौं वार्षिक साधारण सभाबाट बैंकको अध्यक्ष चयन भएका छन्। बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी सञ्चालक बन्ने लहर चल्दै गर्दा ढकाल पनि अध्यक्ष बनेका हुन्।

यसअघि सीईओ रहेका पृथ्बीबहादुर पाँडे, उपेन्द्र पौडेल, राजनसिंह भण्डारी, राधेश पन्त, कृष्णप्रसाद शर्मा, किशोर महर्जन, उदयकृष्ण उपाध्याय, सुदेश खालिङ पनि सीईओ हुँदै विभिन्न बैंक तथा वित्तीय संस्थाका सञ्चालक भैसकेका छन्। 

मुक्तिनाथको बैंकको सोमबार सम्पन्न साधारण सभाले पूर्व सीईओ ढकालको अध्यतामा सञ्चालक समितिमा गजेन्द्र मान श्रेष्ठ, रविन्द्र मान श्रेष्ठ, श्रीमती निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्र सम्मिलित नयाँ सञ्चालक समिति चयन गरेको हो।

यसैगरि साधारण सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेअनुसार आव ०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १७.६० बोनस शेयर र कर प्रयोजनार्थ ०.९३ प्रतिशत नगद लाभांश सहित कूल १८.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जुन बोनस मंसिर २२ गते आइतबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन्। चुक्ता पूँजी ३ अर्ब ६७ करोड ७७ लाख रुपैंया रहेको बैंकको प्रस्तावित बोनस वितरण पश्चात चुक्ता पूँजी ४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।

बैंकको साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा विलय प्रकृयालाई पनि अघि बढाउन उपयुक्त संस्थाको खोजी तथा प्रकृया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको बैंकका प्रमुख सूचना अधिकृत तिल बहादुर गुरुङ्गले बताए ।

comments powered by Disqus