दोस्रो बजारमा थपियो दुई करोड २५ लाख कित्ता शेयरको आपूर्ति

Dec 18, 2019 05:21 PM Merolagani



धितोपत्रको दोस्रो बजारमा पुस २ गते २ करोड २५ लाख ४६ हजार २४४ दशमलव ७० कित्ता शेयर कारोबारका लागि सूचीकरण भएको छ । दुई वाणिज्य बैंकको बोनस र एक इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर गरि उक्त परिमाणको शेयर बुधबार सूचीकरण भएको हो।

नेप्सेमा बुधबार एनआईसी एशिया बैंकले ८८ लाख ३४ हजार २२८ दशमलव ७० कित्ता र बैंक अफ काठमाण्डूको ४८ लाख ३७ हजार ८६० कित्ता बोनस शेयर कारोबारका लागि सूचीकरण भएको हो।

यसैगरि सूर्या लाइफ इन्स्योरेन्सको ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर पनि बुधबार नै दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरि सूचीकरण भएको नेप्सेले जनाएको छ।

माग पक्ष कमजोर रहेको घटिरहेको अहिलेको समयमा बुधबार थपिएको सबा दुई करोड कित्ता शेयरको आपूर्तिले  बिहीबारको बजारमा यसको असर देखिनसक्छ।

एनआईसी एशिया बैंक (NICA) को असोज १० गते सम्पन्न २२ औं वार्षिक साधारणबाट चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ८८ करोड ३४ लाख २२ हजार ८७० रुपैयाँको बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने ९७ करोड ६४ लाख १४ हजार ७५१ रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही बोनस नेप्सेमा बुधबार सूचीकृत गरिएको हो। नगद लाभांश भने बैंकले यसअघि नै शेयरधनीको बैंक खातामा पठाइसकेको छ।

उक्त बोनस साधारण सभाका लागि बुकक्लोज गरिएको अघिल्लो दिन अर्थात भदौ २८ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीले मात्र पाउनेछन्। बोनस पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५६८ पुगेको छ।

यसैगरि बैंक अफ काठमाण्डू (BOKL) को असोज ३० गते सम्पन्न २५ औं वार्षिक साधारणबाट बैंकको चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको थियो। उक्त बोनस साधारण सभाका लागि बुकक्लोज गरिएको अघिल्लो दिन अर्थात असोज १५ गतेसम्म कायम शेयरधनीले मात्रै प्राप्त गर्नेछन्।

यसैगरि सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले भदौ ८ देखि असोज १२ गते सम्म बिक्रीमा ल्याएको चुक्ता पूँजीको ७० प्रतिशत बराबरले हुन आउने ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकरण गरेको हो।

उक्त हकप्रद साउन २८ गते मंगलबारसम्म शेयर खरिद गरी कायम भई हकप्रदमा आवेदन दिएका शेयरधनीले मात्र पाउनेछन्। हकप्रद बिक्रीपछि सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुगेको छ।

 




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।