सुनकाे मूल्य पुस लागेपछि ४ हजार बढ्याे, कारोबार सुस्ताउँदा व्यवसायी चिन्तित

Jan 05, 2020 06:15 PM merolagani

रविन पाैडेल

पछिल्लो समय सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड कायम गर्न थालेको छ। अन्तराष्ट्रिय बजारमा सुनको माग बढेर मूल्य बृद्धि हुँदा नेपालमा पनि  बढेर नयाँ उचाइमा पुगेको हो। 

  • पुस लागेयता ४ हजार रुपैयाँले बढ्यो

सुनको मूल्य एक महिनामै ४ हजार रुपैयाँले बढेको छ। पुस १ गते ७१ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य आइतबार  ७५ हजार ५०० रुपैयाँमा उक्लिएको छ।

यसअघि करिब ४ महिना पहिले सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। गत भदौ ९ गते ७३ हजार ५०० रुपैयाँको नयाँ रेकर्ड कायम गरेको हो। पुस १८ गते सुनको मूल्यले पुनः त्यही मूल्य भेट्टाएको थियो। त्यसपछि सामान्य कारोबारका बिच किनबेच भइरहेको सुन गत शुक्रबारदेखि नयाँ रेकर्ड उन्मुख भएको हो। 

आइतबार समेत सुनको मूल्य बढेर हालसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला सुनको मूल्य एक हजार रुपैयाँले बढेर ७५ हजार ५०० रुपैयाँमा उक्लिएको छ।

आइतबार अन्तराष्ट्रिय बजारमा समेत सुनको रुपैयाँ उल्लेख्य बढेको छ। सोही कारण स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तराष्ट्रिय बजारमा आइतबार झण्डै १.८२ प्रतिशतले सुनको मूल्य बढेर प्रतिआउन्स एक हजार पाँच सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

गएको एक महिनामै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ३.२२ प्रतिशतले बढ्दा प्रतिआउन्स सुनको मूल्य  ४७ अमेरीकी डलर बढेको छ। गएको ६ महिनामा ७ प्रतिशत अर्थात १०६ डलरले बढेको छ।

अन्तराष्ट्रिय बजारमा तय हुने मूल्यको आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारका लागि मूल्य तय गर्ने गरेको छ। सोहि आधारमा आइतबारको मूल्य तय भएको हो। 

  • भाउ बढेपछि कारोबारमा मन्दी

भाउ बढ्दै गएपछि सुन कारोबार भने निकै घटेको व्यवसायीहरु बताउछन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार पछिल्लो समय दैनिक १० किलो  सुन पनि बिक्न छाडेको छ। यस अघि चालु आर्थिक बर्ष लागेसँगै सुनको कारोबारमा मन्दी देखिएको थियो। भदौमा थप मूल्य बढेपछि कारोबार थप सुस्ताएको थियो। भदौमा सुनको मूल्य ७३ हजार ५०० सम्म उक्लिएको थियो। भदौमा नै मूल्य बढेर कारोबार सुस्ताउँदा आत्तिएका व्यवसायी आइतबार थप मूल्य बढेपछि चिन्तित देखिएका छन्।

'पुस सुनचाँदी व्यवसायीको लागि अफसिजन मानिन्छ। यस महिनामा विवाह जस्ता कार्यहरु नहुने तथा अन्य सुन उपभोग गर्ने चाडपर्व पनि नपर्ने भएकाले यो महिनामा अन्य समयको तुलनामा निकै कम सुन कारोबार हुने गरेको छ,' शाक्यले भने। शाक्यका अनुसार गत वर्षको पुसको तुलनामा यस वर्ष कारोबार अझै घटेको छ।

सुन कारोबारमा मन्दी छाएपछि बैंकहरुले समेत सुन आयात गर्न छोडेका छन्। बैंकर्स एशोशियसनका अनुसार चालु आर्थिक वर्षको झण्डै ५ महिना वित्न लाग्दा बैंकहरुले एक हजार २५० किलो मात्र सुन आयात गरेका छन्। आर्थिक वर्ष सुरु भएदेखि नै सुनको भाउ बढ्न थालेपछि कारोबार कम हुँदै गएको थियो जसको कारण बैंकहरुले पहिलो चार महिना सुन आयात नै गरेनन्।

त्यसपश्चात गत कार्तिकमा कारोबार केही बढेपछि बैंकहरुले ६०० किलो सुन आयात गरेका थिए भने मंसिरमा ६५० किलाे सुन आयात गरेका हुन्। त्यस यता बैंकहरुले थप सुन आयात गरेका छैनन्।

  • किन बढ्दैछ सुनको मूल्य?

पछिल्लो समय सुनको मूल्य अचाक्ली रुपमा बढ्दै गएको छ। अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो।

अमेरिका र इरानबिचको विवादका कारण सुनचाँदीको भाउ लगातार उकालो लगेको  व्यवसायी तेजरत्न शाक्यले बताए। 'सुनको भाउ बढ्नुको मुख्य कारण अमेरिका र इरानबिचको विवाद हो' शाक्यले भने। इरानका सैनिक कमाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि दुई देशबीच तनाव बढ्दा त्यसको असर आर्थिक क्षेत्रमा समेत परेको छ। जसका कारण लगानीकर्ताहरु शेयर बजारभन्दा सुनप्रति आकर्षित भएका छन्। परिणमस्वरुप, अन्तराष्ट्रिय बजारमा सुनको माग बढेको छ। माग बढेकै कारण सुनको भाउ उच्च रुपले बढ्दै गएको शाक्यको भनाइ छ। अमेरिका र चीन बिचको व्यापार युद्ध, डलरको तुलनामा भारु कमजोर हुनुले पनि सुनको भाउ बढ्न टेवा पुर्‍याएको छ। 

अमेरिका र चीनबिच प्रारम्भिक व्यापार सम्झौता भएपनि त्यसको कार्यान्वयन अझैसम्म हुन सकेको छैन्। सम्झौता कार्यान्वयनको लागि जनवरी १५ मा दुइ देशविच वार्ता हुँदैछ। इरान र अमेरिकाको विवादकै कारण पछिल्लो समय अन्तराष्ट्रिय क्षेत्रमा तेलको भाउ समेत बढ्दै गएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।