स्वास्थ्य बीमामा सहभागी करीव २५ लाख मध्ये पचास प्रतिशत भन्दा धेरै महिला

Jan 11, 2020 10:01 AM Merolagani

अरूण पाख्रेन ।

नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारणहरुको आकर्षण बढ्दै गएको छ । २०७२ चैत्रबाट पाइलट प्रोजेक्टको रुपमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमको प्रभाव पछिल्लाे समय विस्तार हुँदै गएको हो ।

स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म ४९ जिल्लाका २४ लाख ७७ हजार जना सर्वसाधारण स्वास्थ्य बीमामा सहभागी भएका छन् । ४९ जिल्लामा सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई आगामी दिनमा थप ११ जिल्लामा पुर्याउने तयारी रहेको बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले जानकारी गराए ।

उनले २५ जिल्लाका अति गरिब र स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका वर्गलाई स्वास्थ्य बीमा कार्यक्रमले विषेश जाेड दिएकाे बताए । गरिबी निबारण कोषबाट प्रमाणपत्र प्राप्त भएका अति गरिबहरु निशुल्क बीमा कार्यक्रममा समेटिने क्रम तीब्र गतिमा भइरहेको उनको भनाई छ ।

  •  कार्यक्रममा सहभागी हुने झापामा धेरै 

स्वास्थ्य बीमा कार्यक्रम संचालनमा रहेको ४९ जिल्लाहरुमध्ये सबै भन्दा धेरै झापाका सर्वसाधारणहरु सहभागी भएका छन् । झापाका मात्रै २ लाख ७९ हजार ९४० जना सहभागी भएको स्वास्थ्य बीमा बोर्डको तथ्याङ्क छ । चितवनमा २ लाख ३६ हजार १८६ जना, सुनसरीमा १ लाख ७५ हजार ११२ जना, पाल्पामा एक लाख ६१ हजार १९९ जना सहभागी भएका छन् ।

यस्तै कास्की कैलाली, भक्तपुर र मकवनपुरमा पनि एक लाख भन्दा बढी सर्वसाधरणले स्वाथ्य बीमा कार्यक्रममा सहभागी भएको बोर्डको तथ्यांक छ ।

स्वास्थ्य बीमा कार्यक्रममा सबैभन्दा कम सहभागी हुनेमा भने डोल्पा रहेको छ । डोल्पामा एक हजार ९६१ जना मात्रै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी छन् । यस्तै मुगु, रुकुम पूर्व, हुम्ला, धनुषा, ओखलढुंगा, सोलुखुम्बु लगायतका जिल्लाहरुबाट पनि न्यून मात्रामा स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएको बोर्डले जनाएको छ ।

  • महिलाको आकर्षण उच्च

स्वास्थ्य बीमा कार्यक्रममा महिलाको उच्च आकर्षण देखिएको छ । कुल २४ लाख ७७ हजार सहभागी संख्या मध्ये करिब १३ लाख जना महिला मात्रै रहेका छन् ।

बोर्डको तथ्यांक अनुसार सातै प्रदेशमा स्वास्थ्य बीमा सुबिधा लिनेमा महिला अघि देखिएको छ । सबैभन्दा धेरै प्रदेश एकमा ३ लाख ३० हजार महिला सहभागी छन् ।

यस्तै प्रदेश ३ मा २ लाख ७७ हजार, प्रदेश ५ मा २ लाख २४ हजार, गण्डकी प्रदेशमा २ लाख, सुदरपश्चिम प्रदेशमा एक लाख ३१ हजार, कर्णाली प्रदेशमा एक लाख ३ हजार र प्रदेश २ मा ३३ हजार महिला सहभागी भएका छन् ।

  • स्वास्थ्य बीमा कार्यक्रम के हो ?

सरकारले सामाजिक सुरक्षा कार्यक्रम अर्न्तगत आम नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन, स्वास्थ्य सेवा उपयोगका क्रममा भइरहेको व्यक्तिगत खर्चलाई ब्यवस्थित गर्दै उपलब्ध स्रोतको प्रभावकारी, दक्ष तथा जिम्मेवार व्यवस्थापनका लागि राष्ट्रिय सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो ।

सम्पूर्ण जनतालाई सहजरुपमा स्वाथ्य उपचार पाउन र कुनै पनि नागरिकलाई सामान्य रोगदेखि मुटु, मृगौला, क्यान्सर लगायतका कडा रोग तथा अन्य उपचारमा सहायता होस् भन्ने उदेश्यले सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो ।

यसबाट महंगो र अत्यावश्यक सबै उपचार सेवालाई आम नागरिकको पहुँचमा पुर्याउने, जनताले स्वास्थ्यसेवा उपभोग गर्दा ठूलो आर्थिक बोझ व्यहाेर्नुपर्ने अवस्थाको अन्त्य हुने र नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति हुने सरकारको विश्वास छ ।

बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार खर्च बापत ५० हजार रुपैयाँसम्मको सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी समेत प्राप्त गर्न सक्नेछन् ।

तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झै झगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परि चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउने छैन । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

  • स्वास्थ्य बीमा कार्यक्रममा कसरी आवद्ध हुने ?

यस कार्यक्रमा सबै उमेर समुहका व्यक्ति सदस्य बन्न पाउने छन । कार्यक्रममा आवद्ध हुन चाहने पाँच जनासम्मको परिवारले बीमा शुल्क वापत प्रति परिबार प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ ।

५ जना भन्दा बढी जतिसुकै सदस्य भए प्रति सदस्यले ४२५ रुपैयाँका दरले थप शुल्क बुझाउनु पर्ने हुन्छ ।

बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखा मुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा शुल्क बापतको रकम तिरि दिने व्यवस्था छ ।

 

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।