उनले भने, ‘निगम निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न तयार हुनुपर्छ, पेट्रोलियम कारोबारमा निगमसँग प्रतिस्पर्धा गर्न आउनेलाई हामीले बाटो खोलिदिनुपर्छ ।’ पेट्रोलियम पदार्थको विकल्पका रुपमा विद्युतीय शक्तिलाई लिइएको भन्दै उनले निगमलाई अन्य क्षेत्रमा लगानी गर्न आग्रह गरे। ‘निगमले अब जलविद्युत् क्षेत्रमा पनि लगानी गर्नेतर्फ ध्यान दिनुपर्छ,’ उनले भने।
निगमलाई सफल बनाउन सामूहिक भावनाका साथ काम गर्न निर्देशन दिँदै उनले इमान्दारितापूर्वक निगम सुधारको बाटोमा काम गर्न आग्रह गरे। निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले कार्यक्षमता सुधारमा ध्यान दिन निगम व्यवस्थापनलाई आग्रह गरे। ‘निगमको छवि सुधार्न लागत, समय र व्यवस्थापनमा कार्यक्षमता बढाउनुपर्छ,’ उनले भने।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले पछिल्लो समय निगमको कामकारबाहीप्रति जनतामा विश्वास बढ्दै गएको उल्लेख गर्दै प्रणालीलाई विश्वसनीय बनाउन सुझाव दिए। ‘अब पेट्रोलियम क्षेत्रमा बन्द हड्ताल हुँदैन, तर ग्यास उद्योगीको खर्च समायोजनमा भने निगमले ध्यान दिनुपर्छ,’ उनले भने।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष खगेश्वर बोहराले व्यवसायीले चर्को लागत व्यहोर्दै ‘ट्याङ्कर लकिङ प्रणाली’मा निगमलाई सहयोग गरेको बताए। पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन सुझाव दिँदै उनले निगमको ५० वर्षे इतिहासमा ५० दिनको माग धान्न नसक्ने अवस्था देखिनु दुःखद् भएको बताए। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले सरोकारवालासँग छलफल गरेर नीति निर्माण गर्न सुझाव दिए।
निगम सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले स्वर्णजयन्तीको अवसरमा निगमका सम्पूर्ण कर्मचारीलाई प्रोत्साहनस्वरुप एक महिनाको पारिश्रमिक दिइने घोषणा गरेका थिए। कार्यक्रममा निगमको स्वर्णजयन्तीको अवसर पारेर आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोगितामा विजेता हुने खेलाडीलाई पुरस्कृत गरिएको थियो। त्यस्तै निगमको श्रीवृद्धिमा योगदान पु¥याउने कर्मचारीलाई पनि सम्मान गरिएको थियो।