दुई वर्षभित्र नेपालको बिजुली बङ्गलादेशले बाल्नेछ : राजदूत डा. मिश्र

Feb 04, 2020 01:51 PM rss

भौगोलिक सीमाका हिसाबले नेपाल र बङ्गलादेशको दूरी २७ किलोमिटरको छ । असल र सुमधुर सम्बन्ध भएको बङ्गलादेश र नेपालको खानपान, सांस्कृतिक वातावरण, भौगोलिक अवस्था र भाषिक शब्द धेरै मिल्दोजुल्दो छ ।

हरेक दृष्टिले निकट यी दुई देशबीचको जनस्तरको सम्बन्ध, आपसी सहयोग, व्यापार–व्यवसायको आदानप्रदान र पर्यटन प्रवद्र्धनलगायत विषयमा बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रसँग उहाँकै कार्यकक्षमा राससकर्मी नारायण ढुङ्गानाले गरेको कुराकानीको सम्पादित अंशः

नेपाल र बङ्गलादेशको सम्बन्ध कस्तो पाउनुभएको छ ?

बङ्गलादेश स्वतन्त्र देशको रुपमा अस्तित्वमा आएदेखि नै हार्दिक, सुमधुर र घनिष्ठ सम्बन्ध रहिआएको छ । हामी बङ्गलादेशलाई मान्यता दिने सातौँ राष्ट्र हौँ । सन् १९७१ डिसेम्बर १६ मा स्वतन्त्र बनेको बङ्गलादेशले सन् १९७२ मै नेपालसँग दौत्य सम्बन्ध कायम गरेको थियो । दुई देशका बीचमा एकै प्रकारको सांस्कृतिक व्यवहार एकै खालको र खानपान, रीतिरिवाज मिल्दोजुल्दो छ । नेपाली र बङ्गलादेशीको भाषाका कैयौँ शब्द पनि एउटै छ । यहाँको वातावरण र भौगोलिक क्षेत्र पनि हाम्रो देशको तराईजस्तो छ । यो झण्डै २७ किलोमिटरको दूरीको सीमा रहेको देश हो, भारतमा पर्ने सडक मार्ग ३७ किलोमिटरको दूरीको छ । हामीबीच सम्बन्ध नजीक हुँदाहुँदै पनि जति भ्रमणको आदानप्रदान हुनुपर्ने हो, त्यति हुन सकेको छैन । जनस्तरको जुन सम्बन्ध हुनुपर्ने हो, जुनस्तरमा व्यापार, व्यवसाय र अन्य आदानप्रदान हुनुपर्ने हो, त्यो भएको छैन ।

भ्रमणको आदानप्रदान हुन नसक्नाको कारण ?

 समस्यारहित सम्बन्ध रहेको दुई मुलुकको बीचमा आदानप्रदान किन कमजोर भइरहेको छ भन्नेमा म आउनेबित्तिकै ध्यानाकर्षण भएको थियो । कारण खोज्दै जाँदा पहिलो कुरा कनेक्टटिभिटीकै असहजता हो भन्ने मैले ठानेको छु । हामीसँग हवाई सम्पर्क त निरन्तर छ तर पर्याप्त छैन । पहिले तीन÷चार उडान थियो, केही समयमा एउटामा मात्रै सीमित भयो । अहिले बल्ल दैनिक दुई उडान छ । सत्र करोड जनसङ्ख्या भएको देशमा दुई उडानले कति जोड्न सक्छ ? सबै जना जहाजबाट जाने भन्ने कुरा सम्भव पनि हुन्न । त्यसैले सडकमार्ग उनीहरुका लागि महत्वपूर्ण हुन्छ तर उनीहरुलाई भारतीय भिसा चाहिन्छ । त्यसमा केही समस्याहरु छन् । उनीहरुलाई भारत घुम्न बहुप्रवेशाज्ञा मिल्छ तर भारतबाट नेपाल आउँदा भिसा रद्द गरिन्छ र अर्को ट्रान्जिट भिसा लिनुपर्ने बाध्यता छ । त्यसकारण उनीहरु सीमामा पुगेर पनि फर्किएका उदाहरण छन् । दोस्रो समस्या चाहिँ बङ्गलादेश, नेपाल, भुटान र भारतसमेत बसेर २०१६ मा थिम्पुमा एउटा ‘मोटर भेइकल एग्रिमेन्ट’ गर्ने कुरा भएको थियो । यसमा भुटान पछि हटेकाले कार्यक्रम अघि बढ्न सकेको थिएन । अहिले भुटानबाहेकका तीन देश मिलेर गरौँ र गाडी चलाऔँ भन्ने भएको छ । त्यसले केही प्रगति हासिल गर्ने आशा छ । त्यसले नेपालमा पर्यटक भित्र्याउन असाध्यै सहज बनाउने छ । त्यो भयो भने बङ्गलादेशबाट नेपालमा जाने व्यक्तिको सङ्ख्या गुणत्मक रुपले वृद्धि हुने कुरामा दुई मत छैन । यससँगै अन्य कुरा पनि एकसाथ लैजानुपर्छ । अहिलेको सन्दर्भमा रेल र जलमार्गको विषय पनि महत्वपूर्ण छन् ।

 नेपाल–बङ्गलादेशलाई रेल र जलमार्गसँग जोड्न सकिने सम्भावना पनि छ ?

अवश्य छ । रेल कनेक्टिभिटीको सम्भावनालाई पनि अगाडि बढाउनुपर्छ । सम्भावना उजागर हुँदै पनि गएको छ । जोगबनीबाट विराटनगर जोड्न सकिन्छ, यो व्यवस्थापन गर्न मात्रै बाँकी हो । बङ्गलादेशको पञ्चगढबाट न्यू जलपाइगुडी हुँदै हाम्रो काँकडभिट्टासम्म रेल जाँदैछ । त्यसमा जोड्न सकिन्छ । त्यस्ता अन्य ठाउँ प्नि छन्, जुन नेपालबाट नजीक छ । एउटै रेलबाट बङ्गलादेश प्रवेश गर्न सकिन्छ र मालसामान पनि लैजान सकिन्छ । त्यो ठाउँलाई जोड्ने विषयमा पनि छलफल चलिरहेको छ । सन्धिसम्झौता गरेर व्यावहारिकरुपमा कार्यान्वयन गर्न जरुरी हुन्छ । रेलवेबाहेक जल यातायात पनि सम्भावना छ । हाम्रो सबै नदी गङ्गामा मिल्छ । त्यो गङ्गा यही बङ्गलादेशको पद्मा नदी हुँदै आउँछ । भारतले गङ्गाबाट पद्मा हुँदै मङ्गला र चितगाउँ बन्दरगाह पुगेर व्यापार गरिरहेको छ । हामी पनि गङ्गामा जोडिनासाथ सहज भइहाल्यो । यसरी हवाई सम्पर्कमा पनि विराटनगर, भद्रपुरलगायत क्षेत्रीय हवाई सेवाको सञ्जाल बढाउनेतर्फ पनि हाम्रो जोड छ ।

सम्पर्क सञ्जालको व्यावहारिक कार्यान्वयनमा यहाँको प्रयास के छ ?

 हामी त्यसमा गम्भीरतापूर्वक लागेका छौँ । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने दिन जनवरी ७ मा अहिलेको रेलमन्त्री नै सहभागी हुनुहुन्थ्यो । उहाँले पनि नेपालमा रेल विभाग निर्देशक पठाउने प्रतिबद्धता जनाइसक्नुभएको छ । प्रगति होला भन्ने लागेको छ । पहल जारी छ ।

बङ्गालीहरु नेपाल भ्रमण गर्ने अवस्था चाहिँ कस्तो छ ?

त्यति धेरै जनसङ्ख्या भएको देशमा सन् २०१८ मा झण्डै २६ हजारले मात्र भ्रमण गरेको देखियो, सन् २०१९ मा पनि त्यही हाराहारीमा छ । यो हेर्दा निकै न्यून हो । जनसङ्ख्या हेर्दा लाखमा भ्रमण हुनुपर्ने हो । नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार यसपालि सरकारले बङ्गलादेशबाट मात्रै ७२ हजार आउँछन् भन्ने लक्ष्य राखेको छ । त्योचाहिँ कम लक्ष्य हो । हाम्रो प्रयत्न भने एक लाख नघाउने भन्ने छ । सम्पर्क सञ्जालकै समस्याले कमी देखिएको हो । उच्च वर्गका मान्छेले मात्रै हवाइजहाज रुचाउँछन् । मध्यम र सामान्य मान्छेले त सडक सञ्जाल प्रयोग गर्छन् । सतह मार्गबाट धेरैभन्दा धेरै बङ्गलादेशी जान सक्छन् । उत्तर पश्चिम रङ्गपुर र राजशाही डिभिजनमा नै चार करोड मानिस छन् । नेपालको पूर्वभाग ब¬ङ्गलादेशको नजीक रहेको क्षेत्र हो । कतिपय त एक दिनमै गएर आउन सक्ने अवस्था छ । यस्ता क्षेत्रबाट आवागमन सहज बनाएमा भ्रमण बढ्छ ।

 नेपालीहरुचाहिँ कुन उद्देश्यले बङ्गलादेश आउने गर्छन् ?

 अहिलेको परिस्थितिमा नेपालबाट बङ्गलादेश आउने भनेको मेडिकल शिक्षाका लागि नै हो । उनीहरु यही चार हजारभन्दा बढी छन् । त्यसपछि कृषि र इञ्जिनीयरिङ शिक्षाका लागि छन् । बाँकी थोरै भ्रमण र व्यापार व्यवसायका छन् । नेपालबाट पनि आउने कमै छ । नेपालबाट पनि यहाँ संयुक्त लगानी हुन सक्छ । विनोद चौधरीले यहाँ चाउचाउमा लगानी शुरु गरिसक्नुभयो । यहाँका पूँजीपतिले पनि नेपालमा लगानी गर्ने सम्भावना

भ्रमण वर्ष जारी छ, बङ्गलादेशबाट पर्यटक पठाउन दूतावासको पहल कस्तो छ ?

 हामीले यहाँ जनवरी ७ तारिखमा भ्रमण वर्षको शुरुआत ग¥यौँ । त्यसदिन यहाँका विभिन्न क्षेत्रका झण्डै ४०० मानिसलाई सहभागी गराएर भ्रमण वर्षको भव्य कार्यक्रम ग¥यौँ । डिजिटल प्रस्तुति, फोटो प्रदर्शनी र सांस्कृतिक कार्यक्रम ग¥यौँ । भ्रमण वर्षका लागि तीन जना बङ्गलादेशीलाई सद्भावनादूत बनाएका छौँ । उहाँहरु प्रतिष्ठित व्यक्ति हुनुहुन्छ । बङ्गलादेशबाट पहिलो पटक सगरमाथा आरोहण गर्नुभएका एमए मोहित हुनुहुन्छ । उहाँले दुईचोटि सगरमाथा आरोहण गरिसक्नुभएको छ र दुई दर्जन अन्य हिमाल चढिसक्नुभएको छ । उहाँ नेपालमा हरेक वर्ष दुई पटक टिम लिएर जानुहुन्छ । उहाँ चढेको एउटा चुचुरालाई ‘नेपाल बङ्गलादेश फ्रेन्डसिप पिक’ नै नामकरण गरिएको छ । यहाँकी प्रसिद्ध गायिका मेहरिनलाई पनि सद्भावनादूतमा नियुक्त गरेका छौँ र अत्यन्तै लोकप्रिय सिने कलाकारलाई पनि जोडेका छौँ । उहाँहरुको सहभागितामा विभिन्न ठाउँमा कार्यक्रम गर्ने योजना बनाएका छौँ । प्रवचन, प्रतियोगितात्मक कार्यक्रम गर्ने सोच छ । यहाँका १० पत्रकारलाई नेपालमा सद्भावना ट्रिपमा पनि पठाएका थियौँ । उहाँहरुले यहाँ आएर विभिन्न पत्रपत्रिकामा लेख, समाचार लेखिरहनुभएको छ । अर्को कुरा, विभिन्न छोटा डकुमेन्ट्री बनाएर प्रदर्शन गर्ने सोच पनि बनाएका छौँ ।

 बङ्गलादेशले नेपालको ऊर्जा किन्ने विषय कहाँ पुग्यो ?

 नेपाल बङ्गलादेशबीच सबैभन्दा प्रगति भएको क्षेत्र नै ऊर्जा हो । विगतमा यसमा केही समस्या थिए जस्तै भारत भएर हामी ल्याउने कसरी ? त्यसका लागि भारतसँग लामो छलफल भयो । भारतले अन्ततः दुई वटा कुरा मञ्जूर गरिसकेको अवस्था छ । हाम्रो डेडिकेटेड विद्युतीय प्रसारण लाइन बनाउने कुरा महत्वपूर्ण थियो । त्यसमा भारतले मञ्जूर गरिसकेको छ । अनि विद्युत् प्रवाह गर्न दिन पनि उनीहरु तयार भएका छन् । यो ठूलो उपलब्धि र सकारात्मक कुरा हो । धेरै छलफलपछि बङ्गलादेशले नेपालमा जलविद्युत्को क्षेत्रमा लगानी गर्ने र बिजुली किन्ने लिखितै सम्झौता भएको छ । खाली कुनकुन लिने, कसले लिने र कसले लगानी गर्ने भन्ने व्यवहारमा प्रयोग गर्न मात्रै बाँकी छ । त्यसमध्ये एउटा भारतीय जलविद्युत् कम्पनीले बनाइरहेको नेपालको विद्युत् परियोजनाबाट ५०० मेगावाट बङ्गलादेशले किन्ने भनेर अर्को सम्झौता पनि भइसकेको छ । विद्युतीय आदानप्रदानको कुरा निकै अगाडि बढेको छ । व्यवहारमा कार्यान्वयन गरेको देख्न सक्ने अवस्था बनेको छ ।

 नेपालको विद्युत् यस वर्षदेखि बङ्गलादेशले प्रयोग गर्छ भन्न सकिने अवस्था छ ?

 ठ्याक्कै भन्न सकिने अवस्था त छैन तर म के देख्छु भने दुई वर्षभित्रमा केही मात्रामा भने पनि नेपालबाट बङ्गलादेशमा विद्युत् पुगिसकेको हुन्छ । नेपालका विभिन्न जलविद्युत् आयोजनाले उत्पादन गरेको केही विद्युत् बङ्गलादेशमा सप्लाई भएको देख्न सक्छौँ । त्यसबीचमा धेरै लगानी पनि भइसकेको हुन्छ । त्यो सम्भावना नजिक बनेको छ ।

 नेपालमा अघिल्लो वर्ष लगानी सम्मेलन भयो, त्यसले यहाँका व्यवसायीलाई आकर्षण गराउन सक्यो कि सकेन ?

 लगानी सम्मेलनले सकारात्मक वातावरण तयार पारेको छ । त्यसको प्रचारप्रसार जरुरी छ । नेपालभित्र संयुक्त लगानी लगाउने, एकल लगानी लगाउने वातावरण छ, सहयोग गर्छौं भनेका पनि छन् । सम्भावना नजीक रहेको महसुस गरेको छु । लगानी गर्न व्यवसायी पनि इच्छुक नै रहेको मैले पाएको छु । व्यापार अभिवृद्धि हुने आशा छ ।

 बङ्गलादेशी व्यापारीको लगानीको प्राथमिकता कुन क्षेत्रमा छ ?

डा मिश्रः वास्तवमा बङ्गलादेशी जलविद्युत्को क्षेत्रमा नै बढी आकर्षित देखिएका छन् । दोस्रो कुरा केही अझै अध्ययनको चरणमै छन् । जुस निर्माण गर्ने, केही बिस्कुट, एग्रोबेस उत्पादन गर्ने रुचि पनि देखिन्छ । नेपालमा कुन क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ भन्ने उनीहरु अझै डिसिजनमा पुगिसकेका छैनन् तर प्राथमिकता ऊर्जामा नै छ ।

भेटिएका केही विद्यार्थीले नेपालबाट पैसा ल्याउन समस्या भएको गुनासो गरेका छन्, तपाईलाई कतिको जानकारी छ ?

 त्यस्ता केही समस्या छन् । त्यसबारेमा हामीले कुरा गरिरहेका छौँ । यहाँका टुर अपरेटरहरुले पैसा पठाउने कुरा, बैंकिङ प्रणालीबाट पैसा आदानप्रदान गर्ने कुरामा समस्या छन् । यसमा हामी गम्भीर छौँ । समस्या हल गर्न पहलकदमी भइरहेको छ । त्यस्तै भिसाका कुरा छन् । विद्यार्थीलाई शुरुमा छ महिना मात्रै भिसा दिइन्थ्यो । त्यो हल भइसकेको छ । एकै पटक चार वर्षको दिने भन्ने कुरा भएको छ । त्यसबाहेक अन्य केही सानातिना समस्या छ । हल गर्ने प्रयत्न छ ।


comments powered by Disqus

सोल्टी होटलको बोनस डिम्याट खातामा

Aug 10, 2020 07:23 AM

सोल्टी होटल लिमिटेड (SHL) ले १५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ। कम्पनीले साधारण सभा प्रयोजनार्थ बुकक्लोज हुनु अघिसम्म अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरेको हो।