धितोपत्र बोर्डले लागू गरेको बुक बिल्डिङ्ग बिधि के हो ?

Feb 13, 2020 06:43 PM Merolagani

सुधा देवकाेटा

नेपाल धितोपत्र बोर्डले फागुन १ गतेदेखि शेयर बजारको प्राथमिक बजारमा बुक बिल्डिङ्ग विधि लागू गरेको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्काशन (तेस्रो संशोधन) नियमावली, २०७६ जारी गरी बुक बिल्डिङ्ग बिधिको सुरुवात गर्ने भएको हो ।

यद्यपि नेपालको शेयर बजारमा यो बिधि बिल्कुलै नयाँ बिधिको रुपमा रहेको छ । धितोपत्र बोर्डले लागूू गरेसँगै लगानीकर्ताले शेयर बजारमा बुक बिल्डिङ्ग विधि कसरी लागू हुने र यसले बजारमा कस्तो प्रभाव पार्न सक्दछ भन्ने विषयलाई चासोका रुपमा लिएको पाइन्छ ।

  • बुक बिल्डिङ्ग विधि

साधारणतया सार्वजनिक निष्काशनमा आउने शेयरको मूल्य निर्धारण गर्ने विधि नै बुक बिल्डिङ्ग विधि हो । यसले प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्र तथा शेयरको वास्तविक र न्यायोचित मूल्य निर्धारण गर्दछ ।

बोर्डले जथाभावी रुपमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ तथा एफपीओ निष्काशन गर्न अनुमति दिँदा लगानीकर्ताहरुले बजारबाट आफ्नो लगानी गुमाउनु परेको आरोप लगाउँदै आएका छन् । यसलाई मध्यनजर गर्दै बोर्डले प्रथामिक निष्काशमा बिल्डिङ्ग विधि लागू गरेको हो ।

प्राथमिक बजार बिल्डिङ्ग विधिमा जाने भन्ने बारेमा नीतिगत व्यवस्था भएको तर यसलाई कसरी लैजाने र कसरी काम गर्छ भन्ने बारेमा चाहिँ निर्देशिकामा थप स्पष्ट रुपमा उल्लेख गरिने बोर्डका सह प्रवक्ता रुपेश केसीले बताए ।

नेपालको पूँजीबजारमा वास्तविक क्षेत्रका (रियल सेक्टर) कम्पनीहरु अत्यन्त न्यून रहेको हुदा त्यस्ता कम्पनीलाई बजारमा प्रवेश गराउनका लागि पनि बुक विल्डिङ्गको आवश्यक रहेको केसीको भनाई छ ।

बुक विल्डिङ्ग लागू भएपछि प्राथमिक बजारको मूल्य निर्धारण प्रकृया अझ पारदर्शी हुन्छ भन्ने उद्देश्यले नै उक्त व्यवस्था ल्याईएको केसीले बताए । बुक विल्डिङ्गलाई छिट्टै कार्यान्वयनमा ल्याउनका लागि निर्देशिका बनाउने काम पनि अगाडि बढिसकेको केसीले बताए ।

अर्थ मन्त्रालयले गठन गरेको अध्ययन समितिले बुझाएको सुझाव प्रतिवेदनमा ४६ नम्बरमा बुक बिल्डिङ्ग विधि लागू नभएसम्म आईपीओमा नेटवर्थको दुई गुणासम्म र एफपीओमा नेटवर्थ बराबर मूल्य निधारण गरेर धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्ने उल्लेख गरेको छ । उक्त विधिको सुरुवात गरेर बोर्डले अर्थमन्त्रालयको साही निर्देशनलाई कार्यान्वयनमा ल्याएको हो ।

धितोपत्र दर्ता तथा निष्काशन (तेस्रो संशोधन) नियमावली, २०७६ अनुसार, बुक बिल्डिङ्ग विधिबाट सार्वजनिक निष्काशन गर्ने कम्पनीले तीन आर्थिक वर्षदेखि लगातार खुद मुनाफामा सञ्चालन भएको हुनुपर्ने पहिलो शर्त राखेको छ । त्यसैगरी सार्वजनिक निष्काशन गर्ने कम्पनीको वार्षिक साभारण सभाले यस बिधि मार्फत शेयर जारी गर्ने प्रस्ताव पारित गरी प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पूँजीको कम्तिमा १५० प्रतिशत रहनुपर्ने र कम्पनीको आईपिओ जारी गर्ने क्रेडिट रेटिङ्गको ग्रेड कम्तिमा औसत वा सो भन्दा माथिल्लो हुनुपर्ने व्यवस्था गरेको हो ।

शेयर निष्काशन गर्न योग्यता पुगेका कम्पनीहरुले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै उक्त शेयरको बिक्री मूल्यकाे सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नुपर्ने नियमावलीमा उल्लेख छ । उक्त कम्पनीको शेयर बजारमा सूचीकरण भएको मितिले छ महिनासम्म बिक्री वा हस्तान्तरण गर्न नपाउने व्यवस्था नियमावलीमा छ । बुक विल्डिङ्ग मार्फत शेयर खरिद गर्ने संस्थागत लगानीकर्ता बोर्डबाट स्वीकृत प्राप्त हुनु पर्नेछ ।

यस बिधि विश्वका अधिकांश राष्ट्रहरुमा प्रयोगमा ल्याएको पाईन्छ । हाम्रो छिमेकी देशहरु भारत चीन, पाकिस्तान लगायतमा पनि बुक विल्डिङ्गमार्फत मूल्य निर्धारण गर्ने गरेको पाइन्छ ।

भारतमा सार्वजनिक निष्काशन गर्दा सबै बुक विल्डिङ्गबाट गर्ने वा बुक विल्डिङ्गमार्फत ७५ प्रतिशत तथा निश्चित मूल्यबाट २५ प्रतिशत गर्ने गरेको पाइन्छ । भारतमा प्राथमिक निष्काशनको रकममध्ये रिटेल ईण्डिभिडियुल ईन्भेष्टर्सलाई ३५ प्रतिशत, नन ईन्ष्टिच्युशनल बिडर्सलाई १५ प्रतिशत र क्वालिफाईड ईन्ष्टिच्युशनललाई ५० प्रतिशत छुट्याईने गरेको पाइन्छ । भारतमा बुक विल्डिङ्गबाट शेयर निष्काशन गर्दा मर्चेन्ट बैंकले दुई तरिकाबाट मूल्य निर्धारण गरेको पाइन्छ ।

चीनमा बुक विल्डिङ्ग र मूल्य बढाबढ प्रक्रियाबाट शेयरकोे सार्वजनिक निष्काशन गर्ने गरिन्छ । बोलकबोल र बुक विल्डिङ्ग विधिबाट धितोपत्र बिक्री गर्दा मूल्य आम्दानी अनुपात १५ देखि २० गुुणा भित्रमा हुनुपर्ने तोकिएको छ ।नेपालमा भने ६० सर्बसाधारणलाई र ४० संगठित संस्थालाइ दिनु पर्ने प्रावधान राखिएको छ ।


comments powered by Disqus

निष्क्रिय कर्जा बढेपछि घट्यो सामुदायिक लघुवित्तको नाफा

Aug 10, 2020 08:35 AM

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुवित्तको खुद नाफा घटेको छ।