मुलुकमा अनाैपचारिक अर्थतन्त्र फस्टायाे, बैंक व्याज भन्दा सयकडा तीनको कारोबार बढ्यो

Feb 14, 2020 04:50 PM Merolagani

सुवास निरौला

मुलुकमा अैापचािरक अर्थतन्त्र (फरमल इकोनमी) भन्दा अनाैपचारिक अर्थतन्त्र (इनफर्मल इकोनोमी)ले जरा गाड्दै गएको छ । राज्यका निकायहरूले दिने तथ्याङ्कहरू वास्तविक अवस्थासँग मेल खाँदैन । राज्यले एकै पटक कसिलो नीति अघि सारेपछि अनाैपचारिक अर्थतन्त्रले प्रश्रय पाएको हो ।

यति बेला मुलुकमा औपचारिक आर्थिक गतिविधि भन्दा अनौपचारिक गतिविधि बढ्न थालेको तथ्याङ्कहरुको अध्ययनले देखाएको हो ।केन्द्रीय बैंकले प्रकाशित गरेको पाँच महिनाको तथ्याङ्कमा हालको अवस्था मेल नखाने धेरै आधारहरू देखिएका छन् । जसले अनौपचारिक आर्थिक गतिविधि बढेको देखिएको हो ।

पाँच महिनाको तथ्याङ्कमा विप्रेषण प्रवाह जम्मा ०.१ प्रतिशतले बढेको छ।जवकि वैदेशिक रोजगारीमा जानेको संख्या ११.८ प्रतिशतले बढेको छ । आयात घटेको छ तर उपभोग उल्लेख्य घटेको छैन । निक्षेपको वृद्धिदर र ऋणको वृद्धि असाध्यै न्यून छ । व्यक्तिगत ऋण लिने प्रवृत्ति बढ्दो देखिएको छ । यिनीहरूको एक आपसमा तालमेल मिलेको छैन । यसले अनाैपचारिक आर्थिक गतिबिधि असाध्यै बढ्दै गएको एक बैंकरले बताए ।

गएको पाँच महिनामा विप्रेषण अप्रबाह ०.१ प्रतिशतले मात्रै बढेर तीन सय ७६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । सोही अवधिमा अघिल्लो वर्ष यो दर ३१.९ प्रतिशतले बढेको थियो। तर अमेरिकी डलरकाे घटवढले पनि केही असर भने पारेकाे छ ।

यता विदेश जाने मानिस घटेका छैनन् बरु बढेकै छन् । तर उनीहरू गए अनुपातमा विप्रेषणको अनुपात भने बढेको छैन । गएको पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ११.८ प्रतिशतले बढेको छ । तर औपचारिक रूपमा विदेश जानेको संख्य बढेको भए पनि त्यस अनुपातमा पैसा भने भित्रिएको छैन ।गएको पाँच महिनामा औपचारिक रूपमा विदेशबाट चार सय २५ अर्ब ३६ करोड रुपैयाँ भित्रिएको छ ।यो भनेको ०.८ प्रतिशतको मात्रै वृद्धि हो ।

विदेश जाने मानिस ११.८ प्रतिशतले बढेका छन् तर विप्रेषण दर भने जम्मा ०.१ प्रतिशतले बढेको छ । जबकि यस अघि यस्तो दर नै घटेको थियो । फेरि यता औपचारिक रूपमा पैसा भित्रिने दर समेत निराशा जनक छ । यसको वृद्धि दर ०.८ प्रतिशत मात्रै छ ।

विदेशमा भएका मानिसले पैसा के गरिरहेका छन् ? प्रश्न उव्जिएकाे छ । ती बैंकर भन्छन्,विदेश जानेहरूले अनौपचारिक रूपमा उतै पैसा दिन थालेका छन् । यता घर परिवारले बैंकमार्फत भन्दा अन्य तवरबाटै भुक्तानी पाइरहेका छन्  । स्पष्ट भाषामा भन्दा हुन्डी कारोबार मौलाएको छ । अन्य अनलाइन एप्लिकेशनको समेत प्रयोग बढेको छ । जसको नियमन छैन ।

गएको पाँच महिनाको राष्ट्र बैंकको तथ्याङ्कले भन्छ आयात ४.२ प्रतिशतले घटेको छ । गएको पाँच महिनामा ५८१ अर्ब २६ करोड रुपैयाँकाे आयात छ । तर उपभोग भने गत वर्षको पाँच महिनाकै हाराहारीमा छ । भन्सार विभागको तथ्याङ्क अनुसार गएको पाँच महिनामा 'कमोडिटिज' बस्तु एक खर्ब ५० अर्ब रुपैयाँ बराबरको आयात भएको छ । गत वर्ष सोही अवधिमा एक खर्ब ५६ अर्ब रुपैयाँको आयात भएको थियो । फरक जम्मा ६ अर्बको मात्रै छ । यसले के देखाउँछ भने आयात घटेको तुलनामा उपभोग घटेको छैन ।

औपचारिक माध्यममै तालमेल मिलेको छैन भने अनौपचारिक रूपमा कति भित्रियो यकिन तथ्याङ्क छैन । उदाहरणको लागि नेपालमा प्याज दसैँ देखिनै भारतबाट आउन बन्द भएको हो । तर नेपाली भान्सामा प्याजको अभाव कहिल्यै भएन । भलै मूल्य महँगो किन नहोस् तर उपभोग घटेन । प्याज आयातकै भुक्तानी अनौपचारिक च्यानलबाट भएको पाइन्छ । यस्तै अन्य बस्तुको समेत जोड्ने हो भने आयात घटेकाे मान्ने अवस्था छैन ।

यसरी अनाैपचारिक गतिबिधि मौलाएपछि बैंक वित्तीय संस्थामा निक्षेप र ऋणको दर समेत घट्न थालेको छ । गएको पाँच महिनामा निक्षेपको वृद्धि दर ०.८६ प्रतिशतले मात्रै बढेको छ । अघिल्लो वर्ष सोही अवधिमा १८.२४ प्रतिशतको वृद्धि थियो । यसमा पनि बचत र कल डिपोजिटका इन्डिकेटर माइनसमा छन् ।

अर्थतन्त्रमा अनाैपचारिक गतिबिधि बढेपछि मानिसहरू बैंक भन्दा व्यक्ति व्यक्ति बीचमै ऋण(पर्सनल बोरोइङ ) गर्ने क्रम बढेको छ । सर्वसाधारणले बैंक निक्षेपमा पैसा राख्ने भन्दा व्यक्तिगत ऋण दिन थालेका छन् । यसका कारण बैंकमा बचत गर्ने क्रम घटेको हो । यसैले बैंकबाट ऋण लिने क्रम समेत एक्कासी घटेको छ । गएको पाँच महिनामा बैंकबाट ऋण लिने दर १.४ प्रतिशतले बढेपनि गत वर्ष यस्तो दर २०.०७ प्रतिशतले थियो । आधा वर्ष बित्नै लाग्दा यो दरको वृद्धि निक्कै सुस्त छ । यस्तै ताल हो भने यो वर्ष ऋणको दर ह्वात्तै घट्ने ती बैंकरले बताए ।

व्यक्ति व्यक्ति बिच नै कारोबार हुन थालेपछि बैक निक्षेप र ऋण दुवै तल झरेको हो ।

लगानीकर्ताहरू व्यक्तिगत कारोबारमा रमाउन थालेपछि बैंक सुस्ताउन थालेका हुन् । राज्यले एकै पटक ऋणमा कडाइ गरेपछि उनीहरू अनाैपचारिक अार्थिक  गतिबिधि संलग्न हुन थालेका छन् । बैंक र कर कार्यालयमा एउटै वासलात बुझाउनु परेपछि व्यवसायी चालु आर्थिक वर्ष लागे देखिनै अनौपचारिक कारोबारमा लागेका छन् । पछिल्लो समय ऋण लिन समेत कर चुक्ता प्रमाणपत्र बैंकमा बुझाउनु परेपछि मध्यम वर्ग समेत अनौपचारिक कारोबारमा सलबलाएको ती बैंकरले बताए । बैंकबाट ऋण कारोबार गर्दा झन्झट हुने भन्दै सर्वसाधारण समेत सयकडा तीनकै व्याजमा रमाउन थालेका छन् । उता सहकारीको व्यवसाय समेत यति बेला फस्टाएको छ । किनकि उसको गतिलो नियमन हुँदैन । बैकिङ च्यानल भन्दा बाहिरबाट कारोबार बढी भएपछि देशको अर्थतन्त्र कुन दिशामा जाँदै छ यकिन अनुमान गर्न सकिँदैन । यही क्रमले निरन्तरता पाए देशको अर्थतन्त्र अस्तव्यस्त हुन केही समय नलाग्ने ती बैंकरले चिन्ता व्यक्त गरे ।     


comments powered by Disqus

खर्च बढेसँगै सिद्धार्थ बैंकको खुद नाफा सामान्य घट्यो

Aug 10, 2020 06:40 AM

सिद्धार्थ बैंक लिमिटेड (SBL) ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य घटेको छ।