नयाँ लगानीकर्ताहरुको प्रवेशले दोस्रो सर्वाधिक रकमको कारोबार

Feb 17, 2020 03:35 PM Merolagani

सोमबार नेप्सेको कारोबार रकम उल्लेख्य बढेको छ। नयाँ लगानीकर्ताहरुको प्रवेशसँगै यस दिनको कारोबार रकमले करिब एतिहासिक रेकर्ड छोएको छ।

सोमबार नेप्से परिसूचक ३४.२६ अंक बढेर एक हजार ३९८.२४ विन्दुमा पुगेको छ। यससँगै यस दिन १७५ कम्पनीको २ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ बराबरको ६४ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिनको कारोबार रकम हालसम्मको दोस्रो सर्वाधिक कारोबार रकम हो। यसअघि २०७३ साउन ११ गते हालसम्मकै सर्वाधिक २ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो। सो दिनपश्चात एकै दिनमा यति रकम बराबरको शेयर कारोबार भएको यो नै पहिलो पटक हो। २०७३ साउन ११ गते नेप्से परिसूचक एक हजार ८६६.५० विन्दुमा रहेको थियो।

लामो समय एक हजार ३५० विन्दुको प्रतिरोध विन्दुमा अल्झिएको नेप्सेले आइतबार सो प्रतिरोध विन्दु तोडेसँगै नयाँ लगानीकर्ताहरु बजार प्रवेश गर्न थालेपछि कारोबार रकममा उल्लेख्य सुधार भएको नेपाल शेयर लगानीकर्ता संघको अध्यक्ष उत्तम अर्यालले बताए। सो प्रतिरोध विन्दु तोडिएसँगै लगानीकर्ताहरुको मनोबल उच्च बढेको उनको भनाइ छ।

यस दिन नेप्सेले १ हजार ३९१ को प्रतिरोध विन्दुलाई पनि तोडेर माथि उक्लिएको छ। बजार दिनदिनै प्रतिरोध तोडेर उक्लिएपछि लगानीकर्ताहरुको मनोबल पनि दिनप्रतिदिन बढ्दै गएको छ। मैनबत्ती विश्लेषण अनुसार आगामी दिनमा नेप्सेले १ हजार ४३८.५३ विन्दुमा बलियो प्रतिरोधको सामना गर्ने देखिन्छ।

यस दिन कारोबारमा आएका सबै उपसमूहका परिसूचकहरु बढेका छन्। व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.९८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्गको ३.५८, जलविद्युतको ३.१६, निर्जीवन बीमाको २.७५, विकास बैंकको १.५, वित्तको १.४७, जीवन बीमाको १.४७ र होटलको १.०९ प्रतिशत बढेको छ।

यस दिन तीन कम्पनीहरुको कारोबार रकम १० करोड नाघेको छ। शिवम् सिमेन्ट्सको यस दिन करिब १३ करोडको शेयर किनबेच भएको छ भने शिखर इन्स्योरेन्सको ११ करोड २१ लाखबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, हिमालयन डिष्टिलरीको यस दिन १० करोड २९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

समूहगत हिसाबका यस दिन बैंकिङ्ग उपसमूहको कारोबार रकम सबैभन्दा बढी रहेको छ। सो उपसमूहको मात्र यस दिन ६९ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, निर्जीवन बीमा उपसमूहको ५५ करोड ४६ लाख, लघुवित्तको ४३ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

बजारमा उछाल आएसँगै तीन कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन पञ्चकन्या माई हाइड्रोपावर, ङादी ग्रुप पावर र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्यमा १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो।

यस दिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक समूहको शेयरमूल्य ९.४४ प्रतिशत, अरुण काबेलीको ८.५९, सेन्ट्रल फाइनान्सको ८.३३ र नबिल इक्विटी फण्डको ८.१४ प्रतिशत बढेको छ।
३७ वटा कम्पनीको शेयरमूल्य घट्यो

यस दिन कारोबारमा आएका १७५ कम्पनीमध्ये जम्मा ३७ वटा कम्पनीहरुको मात्र शेयरमूल्य घटेको छ। सोमध्ये नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य सर्वाधिक ५.६३ प्रतिशत घटेको छ। त्यसैगरी, नाडेप लघुवित्त र नेरुडे लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिनको फ्लोरसिटका आधारमा मोस्ट पपुलर बाई स्कट बेष्ट फाइनान्स कम्पनी रहेको छ। त्यसैगरी, यस सूचीमा सांग्रीला डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, रसुवागढी हाइड्रोपावर, एचआईडिसीएल, हिमालयन उर्जा विकास कम्पनी र लक्ष्मी लघुवित्त वित्तीय संस्था रहेका छन्।

यस दिनको मोस्ट पपुलर सेलको सूचीमा नेपाल बैंक, शिखर इन्स्योरेन्स, ओरियन्टल होटल, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर र स्पर्श लघुवित्त रहेका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।