कोरोना भाइरसबाट चीनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी

Feb 20, 2020 08:07 AM RSS



कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजारभन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन्।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट शुरु भएको यस भाइरसका कारण हालका केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए। केही दिनमा यतादेखि यो घटना क्रम जारी रहेको थियो।

तर मङ्गलबार भने एकै दिनमा यस भाइरसको सङ्क्रमणका कारण १३६ जनाको मृत्यु भएको एपी समाचार समितिले बुधबार जनाएको छ।

मङ्गलबार प्राप्त एक समाचारका अनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ४ जना पुग्नुको साथै ७४ हजार १८५ व्यक्ति सङ्क्रमित भएका छन्।

चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले सोमबार दिएको एक जानकारीअनुसार यस रोगको शुरुवाती घटनाको अध्ययन गर्दा यस भाइरसको थप सङ्क्रमणको सङ्ख्या यस महिनाको शुरुबाट ८० प्रतिशतले घटेको छ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियसले सोमबार भएको एक पत्रकार सम्मेलनमा प्रकोपको स्पष्ट तस्वीर दिएको बताएका छन्।

जारी अनुसन्धानअनुसार यस रोगको सङ्क्रमणको दर घट्दो मात्रामा देखिन थालेका बताइएको छ। महानिर्देशक गेब्रियसले अहिले नै सङ्क्रमण दर घट्यो भनेर निष्कर्ष निकाल्नु एकदमै चाँडो हुने पनि बताएका थिए।

वैज्ञानिकले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका कम्तीमा दुई हजार स्वास्थ्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्। यस सङ्क्रमणबाट सात जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ।

यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन्। संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताले पनि यो सङ्क्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन्।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।