नयाँ आर्थिक वर्ष शुरु भएपनि बीमा समितिले अहिलेसम्म कोरोना बीमामा छुट दिने सम्बन्धि मापदण्ड तयार पार्न नसक्दा तत्काल छुट नपाउने भएको हो।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमामा छुट दिने सम्बन्धि मापदण्ड तयार नभएकोले तत्काल छुट नपाउने बताए। ‘हामीले कोरोना बीमामा छुट दिनेबारे मापदण्ड तयार पार्दैछौं। मापदण्ड बनाएर अर्थ मन्त्रालय पठाएपछि बल्ल छुट दिने प्रकृया अघि बढ्छ। साउन भित्रै हामीले छुट दिने व्यवस्था गर्छौं,’ उनले भने।
अर्थमन्त्रीले बजेटमा उल्लेख गरेअनुसार मापदण्ड बनाउदै गरेको उनले जानकारी गराए। ‘कोरोना बीमालेखमा ५० प्रतिशत अनुदान सरकारले व्यहोर्ने दिन र सबै सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा गर्ने भन्ने कुरा छ। त्यसको लागि कसरी व्यवस्था गर्न? भन्ने विषयमा केन्द्रित रहेर मापदण्ड बन्दैछ,’ उनले भने।
समितिले मापदण्ड बनाएर अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि मात्रै बीमितले कोरोना बीमा गर्दा छुट पाउनेछन्।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सामूहिक रुपमा कोरोना बीमा गर्दा ५० प्रतिशत छुट दिने सरकारले घोषणा गरेको थियो। त्यस अनुसार सरकारले अनुदान दिने भएपछि एक लाख रुपैयाँको ३०० रुपैयाँमा र ५० हजार रुपैयाँ बीमांकको बीमा १५० रुपैयाँमा गर्न सकिनेछ।
यस्तै, सबै राष्ट्र सेवकको रुपमा हाल कार्यरत रहेका अस्थायी, करार सहित सबै राष्ट्र सेवक कर्मचारीको एक लाखको कोरोना बीमा सरकारले व्यहोर्ने बजेटमा व्यवस्था गरिएको छ। यसबाट स्थायी रुपमा कार्यरत करिब ६ लाख र अस्थायी तथा करार समेत गरी करिब सात लाख कर्मचारीहरुले राहत पाउनेछन्।