नेपाल धितोपत्र बोर्डका अनुसार झण्डै ६० वटा कम्पनीले वित्तीय विवरण बोर्डमा पठाएका छैनन्। तीमध्ये कतिपयले ढिलाे विवरण प्रकाशनमा ल्याउने गरे पनि कतिपयले भने सार्वजानिक नै नगर्ने गरेकाे पाइएकाे छ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले वित्तीय विवरण प्रकाशन गरे नगरेको तथ्याँक राख्ने भएपनि सार्वजानिक नगर्ने कम्पनीहरुलाई कुनै कारवाही नगर्ने हुँदा यस्तो लापरवाही बढ्दै गएको हो। बाेर्डकाे नियमावलीमै कारवाहीकाे व्यवस्था नहुँदा के कारवाही गर्ने भन्ने विषयमा अन्याेलता देखिएकाे छ।
सर्वसाधारणमा शेयर जारी गरि पब्लिक कम्पनीमा आएका कम्पनीहरुले वित्तीय विवरण जस्तो सार्वजनिक महत्वको जानकारी प्रकाशन नगर्दा लगानीकर्ताले पनि खबरदारी गर्न सकेका छैनन्। कम्पनीहरुले वित्तीय विवरणमा गरेको यसप्रकारको हेलचेक्राइले शेयरधनीहरु आफुले लगानी गरेको कम्पनीको यथार्थ अवस्था जान्नबाट बञ्चित भएका छन्।
यता नेपाल धितोपत्र बोर्डले भने वित्तीय विवरण सार्वजानिक नगर्ने कम्पनीहरुलाई हालसम्म कुनै कारवाहीकाे व्यवस्था नरहेकोले के गर्ने? भन्ने बारे छलफल गरेर मात्र निचोडमा पुग्न सक्ने जनाएको छ।
बोर्डका सूचीकरण विभागका निर्देशक कृष्णप्रसाद घिमिरेका अनुसार हाल झण्डै ६० वटा सूचीकृत कम्पनीहरुले बोर्डमा विवरण पठाएका छैनन्। विवरण सार्वजानिक नगर्ने उक्त कम्पनीहरुलाई के कारवाही गर्ने भन्ने विषयमा बोर्डमा छलफल भइरहेको उनले जानकारी दिए।
- तीन हाइड्रोपावरले विवरण प्रकाशन गर्न छोडे
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ३२ वटा हाइड्रोपावर कम्पनीमध्ये ३ वटा हाइड्रोपावर कम्पनीहरुले वित्तीय विवरण नै प्रकाशनमा ल्याउन छोडेका छन् भने विवरण प्रकाशित गर्ने कम्पनीहरुको विवरणमा समेत एकरुपता छैन।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत घलेम्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र पञ्चकन्या माइ हाइड्रोपावरले वित्तीय विवरण सार्वजानिक गर्न छोडेका हुन्।
करिब एक वर्षअघि नै आईपिओ जारी गरी नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको जोशी हाइड्रोले हालसम्म कुनैपनि वित्तीय विवरण सार्वजनिक गरेको छैन भने गत माघमा आईपिओ निष्काशन गरेको घलेम्दी हाइड्रोपावरले पनि हालसम्म कुनै वित्तीय विवरण सार्वजनिक गरेको छैन।
यता पञ्चकन्या माइ हाइड्रोपावरले भने आव २०७५/७६ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको थियो। तर सो पछिका वित्तीय विवरण भने उसले पनि सार्वजनिक गरेको छैन।
हाइड्रोपावर कम्पनीहरु भने वित्त विभागबाटै यस्तो रिपोर्ट नआएकाले विवरण प्रकाशनमा ढिलाई भएको बताउछन्।
विवरण प्रकाशन नगर्ने पञ्चकन्या माई हाइड्रोपावरले कम्पनीमा सबै कर्मचारीहरु नयाँ भएकाले रिपोर्ट सार्वजानिकमा ढिलाई भएको जनाएको छ। हाइड्रोपावरका कम्पनी सचीव प्रकाश विष्ट लगायत अन्य कर्मचारीले समेत हालै राजिनामा दिएका र धेरै कर्मचारीहरु नयाँ रहेकोले रिपोर्ट प्रकाशनमा ढिलाई भइरहेको कम्पनीले जनाएको छ।
तर उसले गत ३ वटा त्रैमासको कुनै पनि वित्तीय विवरण सार्वजानिक गरेको देखिदैन।
त्यसैगरी जोशी हाइड्रोपावरले पनि उस्तै समस्या देखाएको छ। हाइड्रोपावरका कम्पनी सचिव निलराज कोइरालाका अनुसार वित्त विभागबाटै विवरण नआएकाले प्रकाशनमा ढिला भएको हो। अब २/४ दिनभित्रै रिपोर्ट सार्वजानिक गरिने उनले बताए।
हाइड्रोपावरले शेयर बिक्री गरी सूचीकृत भएको वर्ष दिन वित्न लाग्दा समेत कुनै वित्तीय विवरण सार्वजनिक गरेकाे छैन।
सूचीकृत कति हाइड्रोपावर कम्पनीले विद्युत उत्पादन नथाल्दा नाफा घाटाको कुनै विवरण नरहेको भन्दै चालु सम्पत्ति तथा दायित्वको विवरण मात्र प्रकाशनमा ल्याउने गरेका छन्।
हिमालयन पावर पार्टनरले वित्तीय विवरण सार्वजानिक गरेपनि आम्दानी र खर्चको विवरण प्रकाशन नगरी चालु सम्पत्ति तथा दायित्वको विवरण मात्र प्रकाशन गरेको छ।
आइपीओ जारी गरेको वर्षौंसम्म पनि शेयरधनीलाई लाभांश वितरण गर्नु त परैको कुरा वित्तीय विवरणमा समेत विद्युत उत्पादन नथालेकाले आम्दानी नभएको भन्दै नाफा घाटाको विवरण नै उल्लेख गरेको छैन। उसले प्रतिशेयर आम्दानी नै शुन्य पारेर वित्तीय विवरण प्रकाशनमा ल्याएको छ।
यसरी वित्तीय विवरण सार्वजानिक नगर्ने कम्पनीहरुको अवस्था समेत अत्यन्तै कमजोर रहेको छ। विवरण प्रकाशन नगर्ने तीनवटै कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा तल झरेको छ भने अन्य सूचकहरु समेत नकारात्मक रहेको छन्।
फागुन ८ गतेको अन्तिम कारोबार अनुसार दोस्रो बजारमा घलेम्दी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ७९ रुपैयाँ, जोशी हाइड्रोपावरको ६५ रुपैयाँ र पञ्चकन्या माई हाइड्रोपावरको सय रुपैयाँ रहेको छ।