बोर्ड र ब्रोकरको कुरा बाझियो, साविकका ब्रोकरले डिलरको काम गर्न पाउँदैनन् : बोर्ड

Feb 24, 2020 06:03 PM Merolagani



सुधा देवकोटा

साबिकका ब्रोकर कम्पनीलाई स्टक डिलरको काम गर्न नदिने मनस्थितिमा नेपाल धितोपत्र बोर्ड देखिएको छ। हाल संशोधन भएर आएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ ले साबिक ब्रोकर कम्पनीलाई स्टक डिलरको काम गर्न रोक लगाएको बोर्डको भनाइ छ।

साबिकका ब्रोकर कम्पनीहरूले स्टक डिलरको काम गर्न नपाउने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरिले स्पष्ट पारे। 'नियमावलीले साबिक ब्रोकर कम्पनीलाई स्टक डिलरको काम गर्ने अधिकार दिएको छैन' गिरिले भने।

यस अघिका छलफलमा समेत साबिकका ब्रोकरहरूलाई स्टक डिलरको काम गर्न नदिने नै बोर्डले निर्णय गरेको थियो। सोही निर्णय बमोजिम नै नियमावलीमा उनीहरूलाई नसमेटेको हो। हाल संशोधन भएर आएको नियमावलीले समेत ब्रोकर कम्पनीहरूलाई स्टक डिलरको काम गर्नका लागि बाटो खुल्ला नगरेको प्रवक्ता निरज गिरीले मेरो लगानीलाई बताए। 

यता ब्रोकर कम्पनीहरू नियमावलीले स्टक डिलरको काम गर्न आफूहरूलाई खुल्ला गरेको भन्दै डिलर सञ्चालन गर्ने बारेमा तयारी गर्दै आएका छन्। उनीहरूले पूँजी र बोर्डको इजाजत लिएर कारोबार गर्न पाउने बताएका छन्। 'पहिले स्टक डिलरको काम गर्न तोकिएको २० करोड चुक्ता पूँजी पुर्‍याउनुपर्छ। अनि बोर्डले दिएको लाइसेन्स लिएर स्टक डिलरको काम गर्न सक्छन्' नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष प्रिय राज रेग्मीले भने। चुक्ता पूँजी नपुर्‍याउने र बोर्डको इजाजत नलिई भने काम गर्न नपाउने रेग्मीको भनाई छ।

यही बुझाइको आधारमा ब्रोकर कम्पनीले स्टक डिलरको काम गर्ने तयारी सुरु गरेका हुन्। उनीहरु डिलरको काम गर्न बोर्डले बनाउने निर्देशिकाको पर्खाइमा रहेका छन्।




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।