नेप्से साढे ५ प्रतिशत बढ्दा १० कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

Mar 11, 2020 03:31 PM Merolagani



गत सातादेखि उच्च दरमा घटेको नेप्से परिसूचक बुधबार भने बढेको छ। यस दिन नेप्से परिसूचक ५.४७ प्रतिशत अर्थात ७३.७८ अंक बढेर एक हजार ४२३.०९ विन्दुमा पुगेको छ।

कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरु ११ उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से बढ्न पुगेको हो।

यस दिन १८० कम्पनीको २३ हजार २३७ पटकको कारोबारमा २ अर्ब २२ करोड १० लाख ८१ हजार रुपैयाँ बराबरको ५६ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बजार उच्च दरले घटेपछि सूचीकृत कम्पनीहरुको शेयरमूल्य सस्तिएको छ। सस्तो मूल्यमा शेयर खरिद गर्न लगानीकर्ताहरु बजार प्रवेश गर्न थालेपछि यस दिनको बजार बढेको ब्रोकरहरु बताउँछन्।

नेप्से उच्च दरमा बढेसँगै यस दिन १० कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन साल्ट ट्रेडिङ्ग, लक्ष्मी लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, स्वाभिमान लघुवित्त, नेको इन्स्योरेन्स, सबैको लघुवित्त, युनाइटेड इन्स्योरेन्स, आशा लघुवित्त, शिवम् सिमेन्ट्स, महिला सहयात्रा माइक्रोफाइनान्स लगायतका कम्पनीहरुको सकारात्मक सर्किट लागेको हो।

त्यसैगरी, यस दिन हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य भने १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ।

यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.३ प्रतिशत घटेको छ। त्यसैगरी, निर्जीवन बीमाको ७.५८, जीवन बीमाको ६.७ र होटलको ६.०७ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ। सो इन्स्योरेन्सको यस दिन २३ करोड ६६ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, एनआईसी एशिया, एनएमबि बैंक र हिमालयन डिष्टिलरीको कारोबार रकम १० करोड नाघेको छ।

समूहगत आधारमा यस दिन वाणिज्य बैंकहरुको सर्वाधिक कारोबार भएको छ भने जीवन बीमा कम्पनीहरुले त्यसलाई पछ्याएको छ।

फ्लोरसिटका आधारमा यस दिनको मोस्ट पपुलर बाई नाडेप लघुवित्त, आशा लघुवित्त, विजय लघुवित्त लगायतका कम्पनी रहेका छन् भने मोस्ट पपुलर सेलमा जनउत्थान लघुवित्त, अरुण काबेली, प्राइम कमर्सियल लगायतका परेका छन्।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।