कार्यालयमा सबै कर्मचारी आउँदा भीडभाड हुने र सङ्क्रमण फैलने भन्दै कर्मचारीलाई बिदा दिइएको छ । जसले गर्दा मन्त्रालयदेखि सबै तहका सरकारी कार्यालयका धेरैजसो कर्मचारी घरमै बसिरहेका छन् । यति बेला मन्त्रालय देखि कार्यालय सम्म सबै सुनसान छन् ।
जबकि प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा यस्तो विषम परिस्थितिमा सरकारी कर्मचारी राष्ट्र सेवामै रहने बताएका थिए । अर्थ मन्त्रालय,स्वस्थ मन्त्रालय तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयकै कर्मचारी समेत बिदामा बस्नुले प्रधान मन्त्रीको भनाइ गलत साबित भएको छ । उनकाे अासय थियाे, सर्तकताका सबैकुरा अबलम्वन गर्ने र राष्ट्रसेवा गर्ने ।
यति बेला केही माथिल्लो तहका मन्त्री, राज्यमन्त्री र सचिव, सहसचिव लगायतका सीमित कर्मचारी मात्रै कार्यालयमा आउँछन् । आवश्यक परेका कर्मचारी मात्रै यति बेला कार्यालयमा बोलाइने गरिएको छ । धेरै कर्मचारी घरमै बस्ने गरेका छन् । स्वास्थ्य,अर्थ र आपूर्ति मन्त्रालयका समेतका कर्मचारी यति बेला कार्यालय आउँदैनन् । आपूर्ति मन्त्रालयका एक अधिकारी धर्मराज लम्साल भन्छन् ’आवश्यक कर्मचारीलाई मात्रै बोलाइने गरिएको छ । धेरै कर्मचारी हुँदा भीडभाड हुने भएकोले आवश्यक परेकालाई मात्रै बोलाउनु भन्ने माथिको निर्देशन छ ।‘
यति बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,अर्थ मन्त्रालय,उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालय,जलस्रोत तथा ऊर्जा मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय , महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय लगायतका धेरै जसो कर्मचारी घरमै रहेका छन् ।
कर्मचारी बिदामा भएकोले मन्त्रालय परिसरहरू सुनसान त छँदै छ सबै जसो शाखा सुनसान प्राय छन् । कर्मचारीले मोबाइलबाटै काम चलाएका छन् । कर्मचारीले मोबाइलबाटै घरमै बसेर काम चलाएका कारण कार्यालयका सबै जसो टेलिफोन उठ्न छाडेका छन् । कर्मचारी अभावमै ती टेलिफोन उठ्न छाडेको तल्लो तहका एक अधिकारीले बताए।
सहसचिव स्तरका समेत धेरै जसो कर्मचारी समेत यति बेला बिदामा बसेका छन् । आकस्मिक परे बोलाउला भन्दै उनीहरूलाई बिदा दिइएको हो । ‘म त चार पाँच दिन भई सक्यो अफिस नै गएको छैन । आकस्मिक परे बोलाउँला भन्ने निर्देशन छ । त्यही कारण घरमै बसेको छु।’अर्थ मन्त्रालयका एक सहसचिवले भने ।
घरमा बसेका कर्मचारी यस्तो विषम परिस्थितिमा घरमै बस्नु पर्दा कर्तव्यबाट विमुख भएको अनुभूति गरिरहेका छन् । उनीहरू कुन दिनदेखि मन्त्रालयले बोलाउला भन्दै निर्देशन पर्खिरहेका छन् । ‘यस्तो बेलामा घरमै बस्नु पर्दा कर्तव्यबाट विमुख भएको अनुभूति भएको छ । कतिखेर बोलाउलान् र जाउँला भनेर पर्खिरहेको छु’ ती सहसचिवले भने । आफ्नै हिसाबले जाँदा समेत आदेशको पालना नगरेको ठहरिने भन्दै उनीहरू घरमै बस्न बाध्य भएका हुन् । ‘ आफै जान्ने भएर जाँदा आदेशको अवज्ञा हुने अवस्था छ’सहसचिवले भने ।
जबकि यति बेला कामको चाप अर्थ मन्त्रालयमा बढी छ । सबै किसिमको अध्ययन र राहत मिलाउने देखि लिएर समन्वयकारीको भूमिका निर्वाह अर्थ मन्त्रालयले गरिरहेको छ । केही कर्मचारीकै भरमा अर्थले कोरोना सङ्क्रमण सँग जुधिरहेको छ । उता बजेटको तयारी समेत गर्ने बेला भएको छ । त्यसमा समेत अवरोध देखिएको छ । सबै कर्मचारी उपस्थित नभएकै कारण बजेट निर्माण तयारीमा अवरोध देखिएको हो । किनकि भएका कर्मचारी कोरोना कै रोकथाम र त्यसको व्यवस्थापन बढी केन्द्रित छन् ।
निजामती किताब खानाकाको पछिल्लो पटकको तथ्याँक अनुसार करिब ८६ हजार ८९५ निजामती कर्मचारी छन् ।