फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क करिब १८ अर्ब

Apr 03, 2020 04:14 PM Merolagani



निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुनसम्ममा १७ अर्ब ८८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्। हाल संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा कम्पनी बाहेकबाट उक्त रकम बराबरको बीमाशुल्क आर्जन गरेको हो।

समितिको तथ्यांक अनुसार सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले २ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो निर्जीवन बीमा कम्पनीहरुबाट संकलन भएको कुल बीमाशुल्कको १२.९८ प्रतिशत हो।

यस्तै, सगरमाथाले १ अर्ब ६० करोड, नेकोले १ अर्ब ४९ करोड, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ३८ करोड, एनएलजीले १ अर्ब २२ करोड र प्रिमियरले १ अर्ब २३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ। बाँकी कुनैपनि बीमा कम्पनीको कुल बीमाशुल्क अर्ब माथि संकलन गर्न सकेको छैन्।

यस्तै, प्रभु इन्स्योरेन्सले ९८ करोड, आईएमई जनरलले ९२ करोड, लुम्बिनी जनरल ८२ करोड, हिमालयन जनरलले ७८ करोड, प्रुडेन्सियल इन्स्योरेन्सले ७७ करोड, ओरियण्टलले ७६ करोड, नेपाल इन्स्योरेन्सले ७१ करोड, एभरेष्ट इन्स्योरेन्सले ६५ करोड र नेशनल इन्स्योरेन्सले ५७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

नयाँ संचालनमा आएका अजोड इन्स्योरेन्सले ५६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो पुरानो संचालनमा रहेका युनाइटेड इन्स्यारेन्सको भन्दा ८ करोड रुपैयाँ बढी हो। युनाईटेड इन्स्योरेन्सले ४८ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको छ।

यस्तै, जनरल इन्स्योरेन्सले ३९ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा सबैभन्दा कम सानिमा जनरल इन्स्यारेन्सले २५ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ।