केही धितोपत्र बजारहरू बन्द पनि गरिएका छन् भने धेरै जसो बजारहरूमा अनलाइन कारोबार मात्र सञ्चालन गरिएको छ । नेपालमा प्रयोग गरिएको प्रविधि उच्च स्तरको नभएको, पूर्ण अनलाइन नभएको लगायतका कारण बजार सञ्चालन गर्न नसकिने लगानीकर्ता तथा बजारका केही सञ्चालकहरूले बताउँदै आएका छन् । के नेपालको शेयर बजार सञ्चालन गर्न सकिने अवस्थामा छैन ? वा यस्तो अवस्थामा पनि सञ्चालन गर्न के गर्नु पर्दछ त ?
सामान्य भाषामा शेयर कारोबार भन्नाले स्टक एक्सचेन्जको प्रणाली मार्फत खरिद आदेश र विक्री आदेश म्याच हुनु हो । तर आदेशको म्याच हुँदैमा सम्पूर्ण कार्य सम्पन्न हुँदैन । कारोबार अघि र कारोबार पछि पनि थुप्रै कार्यहरू एवं प्रक्रिया पार भए पश्चात् मात्र सम्पूर्ण कारोबार सम्पन्न भई विक्रीकर्ताले रकम, खरिदकर्ताले धितोपत्र, ब्रोकर एवं सम्बन्धित निकायले कमिसन तथा सरकारले पूँजीगत लाभकर एवं अन्य कर प्राप्त गर्दछन् ।
कारोबार प्रक्रियामा लगानीकर्ताले सम्बन्धित ब्रोकरलाई कारोबार गर्न खरिद वा विक्री आदेश दिनु पर्दछ । यस्तो आदेश लिखित वा टेलिफोनबाट वा विद्युतीय रूपमा इमेल, म्यासेज वा अन्य अनलाइन माध्यम वाट दिन सकिन्छ तर यस्तो आदेशलाई सम्बन्धित ब्रोकरले सुरक्षित राख्ने व्यवस्था गरेको हुनु पर्दछ ।
प्रत्येक आदेशसँगै अनुमानित कारोबार रकमको २५ प्रतिशत रकम अग्रिम रूपमा लिनु पर्ने नियममा व्यवस्था रहेको छ भने विक्री आदेशमा आफूसँग विक्री गर्न शेयर रहेको विवरण उपलब्ध गराउनु पर्दछ । तर व्यवहारमा भने ब्रोकरहरुले अनलाइन सुविधा प्रयोग गरेको लगानीकर्ताहरूलाई मात्र २५ प्रतिशत रकम अग्रिम लिने गरेका छन् ।
अनलाइन लगानीकर्ताहरूको सङ्ख्या बढ्न नसक्नुको एउटा प्रमुख कारण यो पनि हो । तर पनि नियमानुसार लगानीकर्ताले अनलाइनबाट वा अफलाइनबाट आफ्नो आदेश दिन ब्रोकरको कार्यालयमा नै पुग्नु पर्ने बाध्यता भने छैन । अनलाइन लगानीकर्ताले आफै, सोझै खरिद विक्री आदेश प्रविष्टि गर्न सक्छन्। जुन आदेश सम्बन्धित ब्रोकरको प्रणाली टिएमएस हुँदै नेप्सेको कारोबार प्रणालीमा पुग्दछ । अफलाइन आदेश पनि ब्रोकरले नेप्सेको कारोबार प्रणालीमा प्रविष्ट गर्छन्। यसरी प्राप्त सबै आदेशहरू नेप्सेको कारोबार प्रणालीले मूल्य, समय र प्राथमिकताका आधारमा म्याच गर्ने गर्दछ । यो सबै प्रक्रियाका लागि पनि धितोपत्र दलालका सम्बन्धित कर्मचारीहरू दलाल कार्यालयमा उपस्थित हुनु जरुरी छैन ।
ब्रोकरले प्रयोग गर्ने गरेको टिएमएस प्रणाली ब्रोकरले आफ्नो कार्यालयमा नराखी प्राइभेट क्लाउड मार्फत सञ्चालन गरेको र यो सञ्चालन गर्न सबै ब्रोकरले एउटै कम्पनीलाई जिम्मा दिएकोले उक्त कम्पनीले टिएमएस प्रणालीलाई रन गरेपछि ब्रोकरका कर्मचारीहरूले पनि आफ्नै घरवाट प्राप्त आदेशहरू प्रविष्टि गर्न सक्दछन् ।
हाल काठमाडौँ बाहिर सञ्चालन भएका ब्रोकरका शाखा कार्यालयहरू यही प्रक्रियामा सञ्चालनमा रहेका छन् । ब्रोकर कार्यालयले आफ्ना कर्मचारीहरूलाई विभिन्न अधिकार सहित युजर क्रिएट गरी इन्टरनेटबाट नै टिएमएस प्रणालीमा पहुँच दिन सक्छन् ।
त्यसैले धितोपत्र कारोबारसम्मको प्रक्रिया सञ्चालन गर्न नेप्सेले आफ्नो प्रणाली र ब्रोकरको प्राइभेट क्लाउडमा रहेको टिएमएस प्रणाली रन गरे पछि सजिलै अनलाइन मार्फत घरमा नै बसेर गर्न सकिन्छ ।
कारोबार पश्चात् राफसाफ प्रयोजनका लागि नेप्सेले कारोबार भएको विवरण सहितको इलेक्ट्रोनिक फाइल सिडिएस एण्ड क्लियरिङ्गमा पठाए पश्चात् मुख्य रूपमा तीन वटा कार्य सम्पन्न हुनु पर्ने हुन्छ ।
१. शेयरको आदान प्रदान ।
२. पूँजीगत लाभकर प्रयोजनका लागि आवश्यक विवरण उपलब्ध गराउने।
३. रकमको आदान प्रदान ।
१. शेयरको आदान प्रदान ।
विक्रीकर्ताले विक्री गरेको धितोपत्र सम्बन्धित ब्रोकरको पुल खातामा पठाउनु पर्दछ । यसका लागि दुई वटा तरिका छ । पहिलो सिडिएस एण्ड क्लियरिङ्गले उपलब्ध गराएको मेरो सेयर प्रणालीको इडिआएस सुविधा उपयोग गरेर घरवाट नै सम्बन्धित सदस्य दलालको पुल खातामा शेयर पठाउन सकिन्छ । नेप्सेवाट प्राप्त कारोबार फाइलका आधारमा सम्बन्धित विक्रीकर्ताको टर्मिनलमा आफूले विक्री गरेको शेयर सङ्ख्या बराबरको शेयरलाई मेरो शेयरमा युजर नेम र पासवर्ड मार्फत लग इन गरी ब्रोकरको पुल खातामा पठाउन सक्ने सुविधा सिडिएसले प्रदान गरेको छ । हाल कारोबार भएका करिब ७५ प्रतिशत धितोपत्रहरु यसरी राफसाफका लागि उपलब्ध हुने गरेको छ ।
राफसाफका लागि विक्री गरिएको शेयर ब्रोकरको पुल खातामा पठाउने दोस्रो तरिका कागजी डिआइएसमा हस्ताक्षर गरी विक्रीकर्ता दलालवाट प्रमाणित गराई सम्बन्धित आरटिए कम्पनीमा बुझाउनु पर्दछ । त्यस पश्चात् आरटिए कम्पनीले हस्ताक्षर प्रमाणित गरी सिडिएसमा भएको ब्रोकरको पुल खातामा जम्मा गर्दछ ।
यो प्रक्रिया सम्पन्न गर्नका लागि आरटिए कम्पनी तथा ब्रोकर कार्यालयमा कर्मचारीको आवश्यकता पर्दछ भने विक्रीकर्ता पनि ब्रोकर कार्यालय र आरटिए कार्यालयमा पुग्नु पर्दछ । तर पूर्ण रूपमा इडिआएस लागू गर्ने हो भने यो सबै झन्झट गर्नु पर्ने हुँदैन ।
यसका लागि दोस्रो बजारमा कारोबार गर्ने सबै लगानीकर्ताहरूलाई सिडिएसको मेरो शेयरको सदस्यता लिन अनिवार्य गर्नु पर्दछ । तर अहिले पनि करिब ७५ प्रतिशत भन्दा बढी कारोबार इडिआएस मार्फत राफसाफ हुने हुँदा भौतिक डिआएसलाई एक निश्चित समय सीमा तोकी बन्द गर्दा यो प्रक्रिया पनि पूर्ण रूपमा ईनटरनेटवाट नै सम्पन्न गर्न सकिने देखिन्छ ।
विक्रीकर्ता ब्रोकरले आफ्नो पुल खातामा प्राप्त गरेको शेयर टि प्लस थ्री मा सिडिएसको पुल खातामा जम्मा गर्दछ । यसका लागि प्रत्येक कारोबारको शेयर प्राप्त भएको विवरण सिडिएसको राफसाफ प्रणालीमा प्रविष्टि गर्नु पर्दछ । यो सँगै पूँजीगत लाभकर प्रयोजनका लागि प्राप्त विवरण पनि प्रत्येक कारोबारका लागि विक्रीकर्ता ब्रोकरले प्रणालीमा प्रविष्टि गर्नु पर्दछ । त्यस पश्चात् सिडिएसले प्रणाली मार्फत राफसाफ प्रक्रिया सुरु गर्दछ र खरिदकर्ता ब्रोकरको पुल खातामा शेयर जम्मा गर्दछ । त्यस पश्चात् सम्बन्धित खरिदकर्ता ब्रोकरले आफ्नो ग्राहकहरुको खातामा शेयर जम्मा गर्दछन् । तर सम्बन्धित ग्राहाकवाट रकम प्राप्त गर्न बाँकी रहेको अवस्थामा आफ्नै पुल खातामा शेयर राखी लगानीकर्ताको खातामा जम्मा नगरेको पनि हुन सक्दछ । केही दिन भित्र लगानीकर्तावाट रकम प्राप्त नगरेमा नेप्सेको स्वीकृतिमा त्यस्तो पुल खातावाट उक्त शेयर विक्री गरी आफ्नो रकम प्राप्त गर्न सक्दछन् ।
सिडिएसले ब्रोकरलाई उपलब्ध गराएको प्रणाली वेभ बेस नभएका कारण यस प्रणाली घरवाट प्रयोग गर्न सकिँदैन । त्यसैले राफसाफ चक्रको यो प्रक्रियामा इडिआएएस अनिवार्य गरिएमा लगानीकर्ताहरूले घर वाट नै इन्टरनेट मार्फत आफ्नो कार्य सम्पन्न गर्न सक्छन् भने ब्रोकर कम्पनी र सिडिएसका कर्मचारीहरू आफ्नो कार्यालयमा उपस्थित हुनु अनिवार्य हुन्छ । तर सिडिएसले निकट भविष्यमा प्रयोगमा ल्याउन लागेको वेब बेस एप्लिकेसन मार्फत, ब्रोकर कम्पनीका कर्मचारीले घर वाट नै यो कार्य गर्न सक्ने छन्। हालको राफसाफ प्रणाली र मेरो शेयर अलग अलग प्रणाली भएका कारण इडिआएस र मेरो शेयर प्रणाली मार्फत प्राप्त विवरण ब्रोकर कम्पनीले पुनः राफसाफ प्रणालीमा प्रविष्टि गर्नु पर्ने हुन्छ । तर यसलाई छिटो छरितो बनाउन सिडिएसले मेरो शेयरको विवरणलाई सोझै राफसाफ प्रणालीमा अपलोड गर्ने गरी सफ्टवेयर लाई परिमार्जन गर्दै छ । यो कार्यहरू सम्पन्न भए पछि मात्र ब्रोकरले कार्यालयमा उपस्थित नभईकन नै राफसाफ प्रक्रियामा शेयर आदान प्रदान गर्न सक्छ ।
२. पूँजीगत लाभकर प्रयोजनका लागि आवश्यक विवरण उपलब्ध गराउने ।
सिडिएसले राफसाफ प्रक्रिया सुरु गर्नु अघि लगानीकर्ता तथा सम्बन्धित ब्रोकर (राफसाफ सदस्य)ले सम्पन्न गर्नु पर्ने दोस्रो कार्य पूँजीगत लाभकर प्रयोजनका लागि आवश्यक विवरण सिडिएसको प्रणालीमा प्रविष्टि गर्नु हो । यसका लागि विक्रीकर्ताले आफ्नो शेयरको खरिद स्रोत आफै प्रमाणित गरी ब्रोकरलाई उपलब्ध गराउनु पर्दछ । यसमा पनि सिडिएसको मेरो शेयरको सुविधा लिएका लगानीकर्ताहरूले अनलाइनबाट नै यो विवरण मेरो शेयरमा प्रविष्टि एवं प्रमाणित गर्न सक्दछन् र सिडिएसमार्फत सम्बन्धित ब्रोकरले यो विवरण राफसाफ प्रणालीमा प्रविष्टि गर्न सक्छन् । यसरी पूँजीगत लाभकर प्रयोजनका लागि पनि मेरो शेयरको सुविधा लिएका लगानीकर्ताहरूले घरवाट नै इन्टरनेट मार्फत पूँजीगत लाभकरको विवरण समेत उपलब्ध गराउन सक्दछन् ।
पूँजीगत लाभकरको विवरण प्रविष्टिलाई पूर्ण रूपमा कम्प्युटरकृत बनाउन दोस्रो बजार कारोबारका लागि मेरो शेयरको सेवा अनिवार्य गर्ने वा एउटा निश्चित कटअफ डेट का धारमा पूँजीगत लाभकर गणना गर्ने, वा सिडिएसले पूँजीगत लाभकर गणना गर्ने र कर उठाउने कार्यलाई बन्द गरी सम्बन्धित लगानीकर्ता स्वयंले कर बुझाउने व्यवस्था गर्ने गर्न सकिन्छ । दोस्रो बजार कारोबारका लागि मेरो शेयरको सेवा अनिवार्य गर्ने कार्य नेपाल धितोपत्र बोर्ड वाट निर्देशन भएमा तुरुन्तै लागू गर्न सकिन्छ भने पछिल्लो दुई विकल्पका सम्बन्धमा नेपाल सरकार वाट निर्णय गरी लागू गर्न सकिन्छ ।
३. रकमको आदान प्रदान ।
राफसाफ प्रयोजनका लागि थप गर्नु पर्ने अर्को कार्य खरिद कर्तावाट रकम प्राप्त गरी सिडिएसले नियुक्त गरेको क्लियरिङ्ग बैङ्कमा जम्मा गर्नु हो । यसका लागि हाल सम्बन्धित खरिदकर्ताबाट ब्रोकरले चेक मार्फत रकम प्राप्त गरी उक्त बैङ्कमा जम्मा गर्ने गर्दछन् । चेक वा रकम भुक्तानी गर्न लगानीकर्ता सम्बन्धित ब्रोकरको कार्यालयमा पुग्नु नै पर्ने देखिन्छ । हुन त एनसिएचएल को कनेक्ट आइपिएस अनलाइन प्रणाली प्रयोग गरी लगानीकर्ताहरूले तिर्नु पर्ने रकम सजिलै ब्रोकरको खातामा राख्न सक्दछन् । यो सुविधा ब्रोकरले प्रयोग गर्ने टिएमएस प्रणालीमा पनि छ । यसका लागि लगानीकर्ताहरू सँग एनसिएचएल को लगइन र आफ्नो खाता रहेको बैङ्कको अनलाइन कारोबार सुविधा लिएको हुनु पर्दछ । हाल सम्म टिएमएस प्रणालीलाई प्रयोग गरी अनलाइन मार्फत नै करिब २ अरव भन्दा बढी रकम लगानीकर्ताहरूले ब्रोकरको खातामा सोझै जम्मा गरेको विवरण मेरो लगानीले प्राप्त गरेको विवरणमा देखिन्छ छ । त्यसै गरी सिडिएसले तोकेको राफसाफ बैङ्कमा खाता भएका लगानीकर्ताहरूले एनसिएचएल प्रयोग नगरी सोझै ब्रोकरलाई भुक्तानी गर्न सक्ने सुविधा पनि टिएमएस मा रहेको छ र यस सुविधाको अतिरिक्त शुल्क पनि लाग्दैन ।
विदेशी शेयर बजारमा पनि रकमको भुक्तानी यही प्रक्रियाबाट हुने गर्छ। त्यहाँ अनलाइन मार्फत जुनसुकै रकम पनि सहजै भुक्तानी गर्ने प्रचलन भएको र सर्वसाधारणलाई यस सम्बन्धी यथेष्ट जानकारी रहेकोले सहज भएको हो । तर नेपालमा अनलाइनबाट सीमित मात्रामा रकमको कारोबार हुने र यस प्रणालीमा सर्वसाधारण अभ्यस्त नभएकोले पनि शेयर कारोबारमा अनलाइन बैंकिग मार्फत रकम भुक्तानी कम भएको हो ।
लगानीकर्ताले ब्रोकरलाई रकम भुक्तानी गर्दा अनलाइन प्रविधि प्रयोग गर्न सकिए जस्तै ब्रोकरले विक्री गरेको शेयरको रकम पनि लगानीकर्ताहरूलाई अनलाइन मार्फत उपलब्ध गराउन सक्दछन् । तर यसरी रकम एनसिएचएल मार्फत उपलब्ध गराउँदा प्रत्येक कारोबारको अतिरिक्त शुल्क लाग्ने र यो रकम लगानीकर्ताहरूको रकमबाट काट्न पाउने अधिकार ब्रोकरलाई नभएकोले हाल यो व्यवस्थाबाट रकम भुक्तानी हुन सकेको छैन । यो शुल्क ब्रोकरले आफैँ तिर्दा प्रति दिन एक हजार कारोबार गर्ने ब्रोकरलाई कारोबार भएको दिनमा करिब रु १० हजार देखि रु १५ हजार सम्म थप दायित्व लाग्ने भएकोले ब्रोकरहरुले यो सुविधा उपयोग गर्न चाहेका छैनन् । तर कम्पनीहरूको नगद लाभांश लगायतका रकमहरू खातामा नै जम्मा गर्दा सम्बन्धित लगानीकर्ताको रकमबाट शुल्क काटेर जम्मा गर्न दिएको सुविधा जस्तै ब्रोकरले पनि शुल्क काट्न पाउने हो भने यो व्यवस्था पनि तुरुन्तै लागू हुने देखिन्छ । तर यसका लागि नेपाल धितोपत्र बोर्डले नीतिगत निर्णय गर्नु पर्ने हुन्छ ।
- अन्तर्राष्ट्रिय अभ्यास
संसारका अधिकांश शेयर बजारमा राफसाफ चक्र दुई दिन (टि प्लस टु) रहेको हुन्छ । यस अनुसार टि प्लस जिरो वा टि प्लस वान मा ब्रोकरले राफसाफ पुल खातामा शेयरको भुक्तानी गर्ने र कारोबार भएको टि प्लस जिरो मा राफसाफ बैङ्कमा रकम जम्मा गर्नु पर्दछ । त्यस पश्चात् सम्बन्धित राफसाफ गृहले टि प्लस टु मा राफसाफ गर्दछ । हाम्रो बजारमा टि प्लस थ्री मा राफसाफ भए पनि खरिदकर्ताले सामान्यतया टि प्लस फोर मा आफ्नो डिम्याट खातामा नै शेयर प्राप्त गर्दछ भने विक्रीकर्ताले रकम प्राप्त गर्न टि प्लस फोर पछि सम्बन्धित ब्रोकरवाट चेक प्राप्त गरी बैङ्कमा जम्मा गराउनु पर्दछ । तर भारत लगायत अन्य आधुनिक बजारमा टि प्लस टु बेलुका सम्म खरिदकर्ताको शेयर खातामा शेयर जम्मा हुन्छ भने विक्रीकर्ताको बैङ्क खातामा रकम जम्मा हुन्छ । नेपालमा जस्तै भारतमा पनि अनलाइनबाट रकम भुक्तानी गर्न अनिवार्य नगरिएकोले सबै कारोबारको भुक्तानी अनलाइनबाट नै हुन्छ भन्ने छैन । तर अधिकांश ब्रोकेरहरुले अनलाइन कारोबारलाई बढी प्राथमिकता दिएका कारण धरै जसो कारोबारको भुक्तानी अनलाइनबाट नै हुन्छ । भारतमा रकम जम्मा गर्ने प्रयोजनका लागि नेपालको एनसिएचएल जस्तै संस्थाको मद्धतवाट ठूला ब्रोकरहरुले सम्बन्धित लगानीकर्ताहरूको खातामा पैसा जम्मा गर्दछन् भने साना ब्रोकरहरुले चेकमार्फत पनि गर्ने गर्दछन् । तर त्यहाँ कारोबार गर्न अनिवार्य रूपमा ब्रोकरकोमा नै डिम्याट खाता खोल्नु पर्दछ ।
कोरोना भाइरसका कारण संसार भरीका बजारहरू घट्दो क्रममा छन् । बङ्गलादेश, श्रीलङ्का, नेपाल लगायतका केही देशहरूमा बजार बन्द गरिएका छन् । बजार बन्द गराउने र खुलाउनेका आआफ्नै तर्क होलान् । तर अन्य लकडाउन भएका देशहरूमा पनि सहज रूपमा बजार सञ्चालन भएका छैनन् । भारतमा अत्याधुनिक प्रविधिका कारण बजार सञ्चालनमा आउन सकेको सोचे ता पनि त्यहाँका केही ठूला ब्रोकरले मात्र अनलाइनबाट पूर्ण रूपमा कारोबार गरी राफसाफ गर्न सक्ने अवस्थामा रहेको र यसबाट आंशिक बजार मात्र सञ्चालन भएको, धेरै ब्रोकरलाई राफसाफ गर्न समस्या भएको आदि कारण जनाउँदै भारतीय शेयर बजारको ब्रोकर एसोसिएसनले त्यहाँको नियामक निकाय सेवीलाई कारोबार बन्द गराउन अनुरोध गरेको थियो । यस अनुसार सेवीले सरकारलाई ब्रोकरका केही कर्मचारीहरूलाई पास उपलब्ध गराउन अनुरोध गरी समस्या समाधान गरेको थियो । त्यसै गरी सिंगापुर स्टक एक्सचेन्जले पनि अप्रिल पाँच देखि आफ्नो केही कर्मचारीलाई मात्र एक्सचेन्जबाट काम गर्ने गरी अफलाइन कारोबार बन्द गर्दै, अनलाइन सुविधा उपभोग गरिरहेका लगानीकर्तालाई मात्र कारोबार अनुमति दिएको छ । यस्तो निर्णय अन्य धेरै एक्सचेन्जहरूले गरेका छन् ।
अन्त्यमा
लकडाउनको परिस्थितिमा नेपालको बजार पनि प्राविधिक रूपमा असक्षम भएर पूर्ण रूपमा बन्द नै गर्नु पर्ने आस्था भने छैन । विदेशमा जस्तै कारोबार तथा राफसाफ प्रक्रिया इन्टरनेटको माध्यमबाट सम्पन्न गर्न सक्ने जतिलाई कारोबार सञ्चालन गर्ने हो भने नेप्सेले कारोबार प्रणाली अन गरे पछि अनलाइन आदेशको कारोबार गर्न सहजै सकिन्छ। अफलाइन आदेशको कारोबार पनि सम्बन्धित ब्रोकरले जहाँ सुकै वाट गर्न सक्दछन् । तर त्यस पछिको राफसाफ प्रक्रियाका लागि भने ब्रोकर कार्यालयमा केही कर्मचारी हुनु आवश्यक छ । इडिआएसवाट शेयर भुक्तानी गर्ने लगानीकर्तालाई मात्र कारोबार गर्न दिने हो भने पनि पूँजीगत लाभकर र शेयरको राफसाफको विवरण प्रविष्टि गर्न ब्रोकर कार्यालयमा कर्मचारी आवश्यक हुन्छ । त्यसै गरी नेप्सेको प्रणाली सञ्चालनका लागि तथा सिडिएसको राफसाफ प्रणाली सञ्चालनका लागि पनि दुवै निकायमा केही कर्मचारी आवश्यक रहन्छ ।
वर्तमान अवस्थामा सबैभन्दा ठूलो समस्या रकमको भुक्तानी हो । एनसिएचएलको अनलाइन प्रणालीमार्फत भुक्तानी गर्न सक्ने लगानीकर्तालाई मात्र कारोबार गर्न दिने हो भने यो सङ्ख्या धेरै सीमित छ । यसका लागि एनसिएचएल तथा सम्बन्धित बैङ्कको अनलाइन लगइन आवश्यक पर्दछ । नेपालमा अनलाइन रकम भुक्तानीको धेरै प्रयोग नभएका कारण सर्वसाधारण यस प्रक्रियामा अभ्यस्त छैनन् । साथै वर्तमान अवस्थामा नयाँ अनलाइन लगइन लिनका लागि कम्तीमा पनि एक पटक बैङ्कमा उपस्थित हुनु पर्छ भने एनसिएचएलमा खाता आबद्ध गर्न पनि एनसिएचएल वाट लगक्षन लिई प्राप्त विवरण सम्बन्धित बैङ्कमा गई प्रमाणित गराउनु पर्दछ । त्यसैले नेपालमा लकडाउनको अवस्थामा कारोबार खोल्दा केही सीमित व्यक्तिले मात्र यो सुविधा उपभोग गर्न सक्छ ।
यो भन्दा पनि महत्त्वपूर्ण कुरा दोस्रो बजारको मुख्य कार्य तरलता प्रदान गर्ने र लगानीको उचित मूल्य (फेयर प्राइसिङ) कायम गर्ने हो । वर्तमान परिस्थितिमा हताश मनस्थितिमा रहेका लगानीकर्तावाट सही लगानी निर्णय आउन सक्ने अपेक्षा गर्न सकिन्न । सबै लगानीकर्ताहरूको सहज सहभागिता नहुँदा तरलता पनि सङ्कुचन हुन सक्दछ । यस्तै कारणले गर्दा केही साना शेयर बजारले कारोबार बन्द गर्ने निर्णय गरेका होलान् । हालको परिस्थितिमा कारोबार बन्द भएतापनि नेपालका सम्बन्धित नियामक निकायले बजारलाई अझै बढी प्रविधियुक्त बनाउन थप कार्य गर्ने, लगानीकर्ताहरूलाई यस्ता प्रविधि अपनाउन सुसूचित गर्ने लगायतका कार्य गर्नु पर्ने देखिन्छ । तत्कालका लागि दोस्रो बजारको कारोबारमा शेयर भुक्तानीका लागि अनिवार्य इडिआएस को व्यवस्था गर्ने, ब्रोकरले लगानीकर्ताहरूलाई अनिवार्य रूपमा टि प्लस थ्री कै दिन शेयर बेचेको रकम लगानीकर्ताको खातामा नै भुक्तानीको व्यवस्था गर्ने, ब्रोकर तथा लगानीकर्तालाई अनलाइन रकम भुक्तानीका लागि अभिप्रेरित गर्ने आदि कार्य गर्नु पर्ने देखिन्छ ।