यो पुस्तक एक व्यक्तिको कथा हो, जसका दुई बुबाहरु छन्ः पहिलो उसको जैविक बुबा–गरिब बुबा र अर्को उनको बाल्यकालको सबभन्दा मिल्ने साथी माइक–धनी बुबा। दुबै पिताले लेखकलाई सफलता कसरी हासिल गर्ने? भनेर सिकाए तर भिन्न दृष्टिकोणबाट। त्यसपश्चात लेखकलाई कुन बुबाको दृष्टिकोणले अधिक वित्तीय अर्थ राख्यो भन्ने कुरा स्पष्ट भयो। पुस्तकभित्र लेखले दुबै पिताहरुसँग एक आपसमा तुलना गर्दछ– उनीहरुका सिद्धान्त, विचार, वित्तीय अभ्यास र गतिशिलता र कसरी उनका वास्तविक बुबा, गरिब र संघर्षरत तर उच्च शिक्षित व्यक्तिले सम्पत्ति निर्माण र व्यवसायिक समझदारीको सन्दर्भमा आफ्नो धनी बुबाको विरुद्ध मोहर लगाए।
लेखकले आफ्ना गरिब बुबालाई ती व्यक्तिहरुसँग तुलना गर्दछन् जो 'र्याट रेस'मा पिल्सिरहेका छन्, जो अधिक आवश्यकताको विकृत चक्रमा फसेका छन् तर धन प्राप्तिको सपना कहिल्यै पुरा गर्न सक्दैनन्। यसको एउटै कारण वित्तीय साक्षरताको अभाव। यस्ता व्यक्तिहरु संसारिक समस्याहरुको बारेमा सिक्नका लागि स्कूलमा धेरै समय खर्च गर्छन तर पैसाको बारेमा कुनै पाठ सिक्दैनन्, किनकी त्यो स्कूलमा कहिल्यै पढाइदैन।
यसको ठीक विपरित उनको धनी बुबाले समाजका त्यस्ता धनीको प्रतिनिधित्व गर्दछ जसले निगमहरुको शक्ति र कर अथवा लेखाको ज्ञानको फाइदा लिन्छ अनि आफू अनुकुल त्यसको प्रयोग गर्छन्।
पुस्तकको विषयवस्तु दुई मौलिक अवधारणामा केन्द्रित छः गर्न सक्ने दृष्टिकोण र निडर उद्यमशीलता। लेखकले विभिन्न उदाहरणहरु दिई वित्तीय साक्षरतको आवश्यकता, कर्पोरेशनले कसरी धनीलाई अझ धनी बनाउँछ?, आफ्नै कार्य गर्ने, आलस्य, डर, चिन्ता र अन्योलता हटाई बाधाहरु कसरी पार गर्ने? र आफ्ना गुणहरुको पहिचान गर्दै आफ्नो वित्तीय स्वतन्त्रताको लक्ष्य हासिल गर्ने भन्ने स्पष्ट पार्न खोजेको छ।
लेखकले पुस्तकमा मुख्यतः ६ विषयमा छलफल गरेको छः
- धनीले पैसाको लागि काम गर्दैनन्
- वित्तीय साक्षरताको महत्व
- माइन्डिङ्ग योर ओन बिजनेस
- कर र निगमहरु
- धनीले पैसाको आविष्कार गर्छन्
- काम पैसाको लागि होइन सिक्नका लागि काम गर्नु
चरित्र सारंश
यस पुस्तकमा मूख्यतः तीन पात्रहरु छन्ः धनी बुबा, गरिब बुबा र रबर्ट किओसाकि (लेखक स्वयम)। यी तीनै जनाले आ–आफ्नै भूमिका निर्वाह गरेका छन्ः
- धनी बुबाः आठ कक्षा उत्तीर्ण तर होसियार
- गरिब बुबाः शिक्षित तर होसियारीको कमी
- किओसाकीः दर्शक जो दुबै बुबाहरुको कुरा सुन्छ तर केबल धनी बुबाको स्वभावलाई मनन गर्दछ।
धनी बुबाः ९ वर्षको उमेरमा लेखकले यो महसुस गर्यो कि उसको धनी बुबासँग गरिब बुबाभन्दा बढी ज्ञान छ। लेखकले धनी बुबाबाट ‘म यसलाई खरिद गर्न असक्षम छु’ भन्नुको सट्टा ‘म यसलाई कसरी खरिद गर्न सक्छु?’ भन्ने सिके। उनले आफु र साथी माइक धनी बुबाको पसलमा काम गर्न जाँदाको प्रसङ्गलाई लिएर व्याख्या गरेका छन्। धनी बुबाले उनीहरुलाई निकै कम ज्याला दिई काम गराउछन् ताकी उनीहरुमा क्रोध र अन्यायको भाव उत्पन्न होस् र अन्ततः अगाडि बढ्नको लागि अरुको लागि होइन आफ्नै लागि काम गर्नु पर्छ भन्ने महसुस गर्न सकुन्।
उदाहरणको लागि, पुस्तकको त्यस अंशमा जब लेखकले आफूले पाएको ज्यालाले न्यूनतम कुरा खरिद गर्न नपुग्ने गुनासो धनी बुबासँग गर्छन् तब धनी बुबाले उनलाई ज्याला कम छ भन्ने कुरामा ध्यान दिनुको सट्टा ‘म कसरी अझ बढी पैसा कमाउन सक्छु’ भन्ने कुरा सोध्नु गर्ने सल्लाह दिन्छन् किनकी यसले दिमागलाई उत्साहित गर्दछ। धनी बुबा भन्छन् जब कसैले ‘म यो गर्न सक्दिन’ भन्ने सोच्छन्, तब दिमागले काम गर्न छाड्छ। त्यसले रचनात्मकतालाई मार्छ र परनिर्भरता बढाउँछ।
लेखक थप्छन्, उनका गरिब बुबाले शिक्षामा समय र शक्ति लगानी गरेतर उनीसँग लगानीको बारेमा केही ज्ञान थिएन। यसको ठिक विपरित उनका धनी बुबा लगानीको खेलमा निपूण थिए किनकी उनले गरेका नै त्यही थिए। धनी बुबा सम्पूर्ण खराब कामहरु पैसा अभावका कारण शुरु हुन्छ भन्ने सोच्छन् भने गरिब बुबा पैसालाई सबै खराब कामहरुको जड मान्छन्। लेखकका अनुसार धनी बुबा यो सोच्छन् कि करहरु उत्पादकहरुलाई दण्ड दिए भने अनुत्पादकहरुका लागि पुरस्कृत गरे। उनले डिनर टेबलमा पैसाको कुरा गर्न प्रत्साहित गरे। लेखकले जोखिम नलिनुको सट्टा जोखिम व्यवस्थापन गर्न सिकेका व्यक्तिको रुपमा धनी बुबालाई चित्रण गरेका छन्।
गरिब बुबाः लेखकले गरिब बुबालाई ती तमाम बुबाहरुसँग तुलना गरेका छन् जसले आफ्ना बच्चाहरुलाई राम्रोसँग बढ्न प्रोत्साहित गरे ताकि उनीहरुले राम्रो कम्पनीमा राम्रो जागिर पाउन्। गरिब बुबा पुरातन सिद्धान्तहरु जस्तै, मेहेनत गरी काम गर, पैसा बचाउन र आफ्नो औकातभन्दा बाहिरको खरिद नगर लाई मान्छन्। उनी सोच्छन् कि राम्रो कम्पनीमा नोकरी गर्ने सबैको इच्छा हुन्छ त्यसैले जब लेखकले प्रतिस्थित कम्पनीको नोकरी छोडे तब उनी निराश भए।
गरिब बुबा शिक्षालाई सफलताको पासपोर्ट मान्छन्। उनले विद्यावारिधि हासिल गरेका छन्, प्रतिस्थित विश्वविद्यालयमा जान्छन् तर जहिले आर्थिक संघर्ष गरिरहन्छन्। उनी सोच्छन् की उनी कहिले धनी बन्न सक्दैनन् र लेखकले यसलाई आत्मपूरक भविष्यवाणीका रुपमा औल्याएका छन्। गरिब बुबा पैसाको विषयमाभन्दा राम्रो शिक्षामा रुचि देखाउछन्। लेखकले लेखेका छन् कि गरिब बुबा जहिले ‘मलाई पैसासँग मतलब छैन’ वा ‘पैसाले कुनै फरक पर्दैन’ भन्ने वाक्यांश प्रयोग गर्छन्।
लेखकले लेखेका छन् कि गरिब बुबा जागिर अवधि, सामाजिक सुरक्षा, बिदा र छुट्टी, कम्पनीको इन्स्योरेन्स र तलब, प्रमोशन जस्ता कुराहरुमा अल्झिरहेका छन्। लेखकलाई लाग्छ कि गरिब बुबालाई जागिरभन्दा बढी यी कुराहरुमा चासो राख्छन्। र यसैलाई लेखकले ‘र्याट रेस’ मा अल्झिएको भनेका छन्। गरिब बुबा सोच्छन् कि धेरै पैसा कमाउन धेरै काम गर्नुपर्छ।
किओसाकीः लेखकले आफुले दुई बुबा पाउनु भाग्यको कुरा बताउँदै पुस्तकको शुरु गरेका छन्। उनले आफ्ना दुबै बुबाबाट अमुल्य पाठहरु सिक्छन् तर पहिलो अध्यायमा नै प्रमाणित हुन्छ कि कुन बुबाको पैसाप्रतिको दृष्टिकोण तर्कसँगत छ। उनले दुबै बुबाहरुको तुलना गर्छन् र मेहेनत गर्नु, पढ्नु, पैसा कमाउन, बचत गर्नु, लगानी गर्नु जस्ता विचारहरुमा फरक छुट्याउँछन्। उनले आफ्नो वित्तीय चतुरताको श्रय धनी बुबासँग गरेका अनेक कुराकानीलाई दिन्छन्। लेखकले पैसाको विषयमा सामान्य ज्ञान लिन्छ र लेखा ज्ञानको आवश्यकतामा जोड दिन्छ ताकि पाठकलाई सम्पत्ती र दायित्व के हो? भनेर बुझ्न सकोस्। उनले साधारण चित्र बनाएका छन् जहा धनीले कसरी सम्पत्ती बढाउन पैसा परिचालन गर्छन् र गरिबले कसरी दायित्व बढाउछन्। लेखकले लेखा ज्ञानलाई धेरै महत्व दिएका छन् चाहे त्यो जति नै दिक्क लाग्दो किन नहोस् किनभने उनको विचारमा यो एकदम महत्वपूर्ण विषय हो।
लेखकले असंख्य उदाहरणहरु प्रयोग गरी पूँजीवादी अडान प्रकट गरेका छन्। लेखक सरकारद्वारा नियोजित संयन्त्रको बारेमा बुझ्छन् र निष्कर्षमा पुग्छन् कि यो मध्यमवर्ग हो जसले वास्तवमा गरिबहरुका लागि तिर्दछ। धनीहरु ती व्यक्ति हुन जसले विरलै कर तिर्छन् किनकी उनीहरुलाई कर कानून कसरी उपयोग गर्ने भन्ने ज्ञान हुन्छ।
- अध्याय १ः रिच ड्याड, पोर ड्याड
रबर्ट किओसाकी र माइकको कथा १९५६ देखि शुरु हुन्छ जब दुबैजना ९ वर्षका थिए। उनीहरुको पहिलो धनी बन्ने योजना नक्कली निकल बनाउने कम्पनीबाट शुरु हुन्छ। तिनीहरुले निकलको प्लास्टर मोल्डहरु बनाए र लिडका टुथपेस्ट ट्युबहरुलाई पगालेर त्यसलाई मोल्डहरुमा निकल निकाल्नका लागि भरिदिए। उनीहरुको योजना त्यतिखेर असफल भयो जब माइकका बुबाले यस गतिविधिलाई अवैध भएको जानकारी दिए। सो दिनदेखि उनीहरुले आफ्नो खाली समय धनी बुबा अर्थात माइकका बुबाको वित्त र अर्थशास्त्रको बारेमा जान्न तर्फ बिताउन थाले। सबैभन्दा पहिल उनीहरुले थाहा पाएकी धनी बुबाले ‘र्याट रेस’ लाई घृणा गर्छन्।
धनी बुबाले केटाहरुलाई आफ्नो किराना पसलमा प्रतिघण्टा १० सेन्ट तलब दिई तीन घण्टा काम गर्न राखे। केही सातामा नै किओसाकीलाई आफ्नो श्रमको शोषण भइरहेको छ भन्ने अनुभव हुन्छ र उनले तलब बढाइदिन माग गर्छन्। तर, यसको सट्टा उनलाई तलब कट्टा गरी निःशुल्क काम गर्न लगाए। अन्ततः दुबै केटाहरुले हार मान्दै माइकका बुबासँग व्यक्तिगत रुपमा भेटे। भेटमा धनी बुबाले ज्याला नदिएकोमा माफी मागे र दुई प्रस्ताव राखे, तलब बढाउने कि पाठको नैतिकता सिक्ने? दुबै केटाहरुले पाठको नैतिकता सिकाउन भने तर, धनी बुबाले उनीहरुको ज्याला बढाइदिने लोभ देखाए। उनले केटाहरुलाई प्रति घण्टा २५ सेन्ट देखि ५ डलरसम्मको दिने लोभ देखाए तर, केटाहरु पाठको नैतिकता सिक्ने कुरामा अडिग रहे। पाठ, ‘¥याट रेस’ बाट बाहिर निस्कने र आफ्नो खल्तीमा थोरै पैसा राखी अरुको खल्तीमा धेरै पैसा राख्न जिन्दगीभर काम गर्नुको सट्टा आफ्नो खल्तीामा धेरै पैसा राख्न काम गर्ने। केटाहरुले सिकेका सम्पूर्ण पाठहरुमध्ये यी दुई पाठ सबैभन्दा बढी महत्वपूर्ण हुन्।
- अध्याय २ः धनीहरु पैसाको लागि काम गर्दैनन्
लेखकले आफ्ना सम्पूर्ण पाठकहरुलाई जीवनले सिकाउने धारण बिर्सन भन्छन्। उनी भन्छन्, ‘जीवनले केबल एक मात्र काम गर्छ, चारैतिरबाट धकेल्ने’।
यस अध्यायमा त्यस्ता व्यक्तिहरुको बारेमा चर्चा गरिएको छ जो सुरक्षित लगानी गर्न रुचाउँछन् किनकी उनीहरुलाई जोखिम लिन सिकाइएकै छैन। लेखकको विचारमा गरिब तथा मध्यम वर्गीय व्यक्तिहरु पैसाको लागि काम गर्छन्, डर र लोभले अज्ञानता र गरिबी निम्त्याउँछ र भावना सहितको सोचका विरुद्ध भावनालाई प्रयोग गर्नु महत्वपूर्ण हुन्छ। लेखकले जोड दिएका छन् कि जीवनमा अवसरहरु आउँछन् र जान्छन्, धनीहरु अवसरलाई तुरन्त चिन्छन् र त्यसलाई सुनमा परिणत गर्न सफल हुन्छन्। अरुले यी अवसरहरु देख्दैनन् किनकी तिनीहरु पैसा र सुरक्षा खोज्नमा व्यस्त रहन्छन्। र लेखकले भनेजस्तै ‘तीनीहरुले त्यती मात्रै पाउँछन्। क्रमश:
(यसको दोस्रो भाग आगामी शनिबार प्रकाशित गरिनेछ।)
एजेन्सीको सहयोगमा