निजी क्षेत्रको व्यापक दबाबपछि अन्ततः गल्याे राष्ट्र बैंक, ब्याज र किस्ता तिर्ने समय लम्ब्याउँदै

Jul 09, 2020 01:42 PM Merolagani

निजी क्षेत्रको व्यापक विरोध भएपछि नेपाल राष्ट्र बैंकले साँवा र ब्याज तिर्ने समय तीन महिना लम्ब्याउँदै तयारी गरेको छ। राष्ट्र बैंकले आगामी सोमबारसम्ममा बैंक तथा वित्तीय संस्थालाई आगामी तीन महिना भित्रमा साँवा र ब्याज बुझाउनेलाई असारमसान्तमा नै बुझाए सरह हुने गरी व्यवस्था गर्न निर्देशन दिने तयारी गरेको छ।

२०७२ सालको भूकम्पको बेलाजस्तै असोजसम्ममा साँवा ब्याज बुझाउनेलाई असारमसान्तमा बुझाए सरह हुने व्यवस्था गर्न लागिएको राष्ट्र बैंक उच्च स्रोतको भनाइ छ।

निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका संस्थाले साँवा र ब्याज भुक्तानीको समय पर सार्न दबाब दिँदै आएका छन्।

विश्वव्यापी महामारीको रुप लिएको कोरोनो भाइरस (कोभिड १९) ले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नै अर्थतन्त्रलाई तहस नहस पारेको छ। नेपालको अर्थतन्त्रमा त्यसको प्रभाव परेको छ। चैत ११ देखि साउन ७ सम्म सरकारले लकडाउन घोषणा गरेका कारण उद्योग व्यापार व्यवसाय प्राय: ठप्प छन्।

ऋण लिएर व्यापार, व्यवसाय, उद्योग सञ्चालन गरिरहेकाहरूको पनि व्यवसाय ठप्प छ। राष्ट्र बैंकले यसअघि नै चैत मसान्तभित्र तिर्नुपर्ने साँवा ब्याज भुक्तानीको समय असार मसान्तसम्म बुझाए हुने व्यवस्था गरेपछि व्यवसायीले केही राहत महशुस गरेका थिए। तर, लकडाउन लम्बिदै गएपछि असारमसान्त भित्र पनि बैंकको साँवा र ब्याज बुझाउन सक्ने अवस्थामा उनीहरू छैनन्। व्यापार व्यवसाय ठप्प भएकाले असारमसान्तसम्म पनि बुझाउन सक्ने अवस्था व्यवसायी छैनन्।

राष्ट्र बैंकले कर्जाको ब्याज र किस्ता तिर्ने समयसीमा असोजमसान्तसम्म पर सार्ने अन्तिम तयारी गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि नै विभिन्न सार्वजनिक कार्यक्रममा साँवा ब्याज तिर्ने समयसीमालगायतको आर्थिक प्याकेज ल्याउने तयारी भइरहेको बताउँदै आएका थिए। गभर्नर अधिकारीको भनाइ सार्वजनिक भए लगतै बैंकबाट ऋण लिएर व्यापार व्यवसाय गरिरहेकाले ठूलो राहत महशुस गरेका थिए।

राष्ट्र बैंकले साँवा र ब्याज बुझाउने समय तीन महिना सारेको खण्डमा असोजमसान्तसम्म ब्याज बुझाउन नसक्नेलाई बैंकहरूले खराब कर्जा नराख्ने भएका छन्। असारमसान्तसम्म केही गरी ब्याज तिर्न नसकेकै कारण कुनै पनि ऋणीलाई खराबको सूचीमा पर्ने छैनन्।

बैंकहरूलाई नियमन गर्ने केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले असारमसान्त भित्र मौद्रिक नीति ल्याउन नसकेको खण्डमा राहत प्याकेजमा ल्याएर भएपनि साँवा र ब्याज तिर्ने समय तीन महिना बढाउने तयारी गरेको छ।

बैंकबाट ऋण लगेकामध्ये असारसम्ममा धैरै व्यवसायीले ब्याज भुक्तानी गरिसक्ने अनुमान बैंकका सिइओहरूले गरेका छन्। केही ऋणीले असारमसान्त भित्र तिर्न सकेनन् भने उनीहरूले तीन महिना भित्र तिरे पनि हुनेछ।

पछिल्लो समय विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण उद्योग, व्यापार व्यवसाय ठप्पजस्तै छन्। यसले गर्दा उद्योग व्यवसायीलाई अप्ठयारो परेकोले राष्ट्र बैंकले व्यवसायीलाई परेको पीरमर्कालाई ध्यानमा राखेर ‘चहराइ रहेको घाउँमा मल्हम पट्टी’ लगाउने तयारी गरेको हो।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus