ग्लोबल आईएमई बैंकका सिइओ पर्शुराम कुँवरले दिए ११ बुँदा समेटेर राजीनामा: के के छन् ११ बुदाँमा ?

Jul 09, 2020 05:12 PM Merolagani

ग्लोबल आईएमई बैंक (GBIME) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) पर्शुराम कुँवर क्षेत्रीले राजीनामा दिएका छन्। उनले आगामी साउन १ गतेदेखि लागु हुने गरी राजीनामा दिएका हुन्।

उक्त बैंकका सिइओ कुँवरले यसलाई अर्को अविस्मरणीय क्षण भनेका छन्। के के छन्? उनले दिएका राजीनामाका ११ बुँदामाः

मेरो जीवनको अर्को महत्वपूर्ण र अविस्मरणीय दिन

१) स्वास्थ्यका कारणले २०७७ असार १ गते ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट मैले पेश गरेको राजीनामा बैंकको सञ्चालक समितिले २०७७ साउन १ गतेबाट लागु हुने गरि स्वीकृत गरेको छ।

२) म मेरो रोजगार सम्झौता अनुसारको बाँकी सेवा अवधी २०७८ जेठ मसान्तसम्म नै काम गरेर बैंकिंग क्षेत्र मात्र होइन सम्पूर्ण क्षेत्रबाट पूर्णकालीन कामबाट अवकाश लिन चाहन्थे तर मानिसहरूका सबै इच्छा र आकांक्षा पुरा हुँदैनन्। म कुनै ठूलो महत्वकांक्षा राख्ने मान्छे होइन। जीन्दगी भरी मेहनत गर्ने र मेहनतको फल बापत जे पाएँ त्यसैमा चित्त बुझाए। तर, मेरो यो आकांक्षा पुरा नभएकोमा मलाई जीन्दगी भर अलिकति पीडा हुनेछ।

३) जिन्दगी भर मैले निरन्तर रुपमा ‘९९६’ को मोडेलमा काम गरें अर्थात बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म हप्ताको ६ दिन काम गरें। जिन्दगीका थुप्रै दिन दिनको १४–१५ घण्टा र शनिबारका दिन काम गरेको छु। पढाइमा त अव्बल नै थिए तर, सरकारी स्कुल र कलेजमा पढेको एक मध्यम वर्गीय किसानको छोरो थिए र सहायक तहबाट बैंकिंग क्षेत्रमा प्रवेश गरेको थिए। म आज जहाँ छु र जिन्दगीमा मैले जे हासिल गरेँ त्यो सबै मेरो मेहनत कै फल हो।

४) तर, अब मेरो स्वास्थ्य र उमेरले त्यसरी नै ‘९९६’ को मोडेलमा निरन्तर रुपमा काम गर्न साथ नदिएको जस्तो महशुस भयो। २१ लाखभन्दा बढी ग्राहकहरू, ३१०० भन्दा बढी कर्मचारी र लाखौं शेयरधनीहरू भएको ग्लोबल आईएमई बैंक जस्तो बैंकमा जागिर खाने नाममा कुर्चिमा टाँसिएर बस्न मन लागेन। आशातित गति, अपेक्षा र भावना अनुरुप कार्य सम्पादन गर्न निरन्तर ‘९९६’ को मोडेलमा काम गर्न जरूरी छ तर, मेरो स्वास्थ्य र उमेरले साथ नदिएकाले सिईओको जिम्मेवारीमा निरन्तरता दिन उपयुक्त ठानिन। यदि मैले जागिर मात्र खाने सोचले कुर्चीमा टाँसिएर मात्र बसेको भए, बैंकका सबै सरोकारवालाहरू (ग्राहकहरू, शेयरधनीहरू, कर्मचारीहरू, नियमनकर्ता, सरकार र समुदाय) प्रति मैले अन्याय गरेको हुने थिए। यो मेरा लागि स्वीकार योग्य थिएन।

५) वि.सं. २०७४ असार १ गते तत्कालीन जनता बैंकमा सिइओको रुपमा कार्यभार सम्हाल्दा मेरो कार्यावधि ४ वर्ष तोकिएको थियो तर मैले त्रिवेणी विकास बैंक र सिध्दार्थ विकास बैंक मर्ज गरेर एकै चोटी ठूलो भएको जनता बैंकलाई ‘अटोपाईलट’ मा लग्न २ वर्ष लाग्छ र सो समयपछि मलाई बिदा दिनुपर्छ भनेर तत्कालिन सञ्चालक समितिलाई भन्थे र व्यवस्थापनका सहकर्मी साथीहरुलाई पनि २ वर्षपछि बैंक तपाईहरूले नै चलाउने हो, म त यहाँ २ वर्ष मात्र वस्ने हो भन्थे। त्यो हिसाबले म १३ महिना बढी बैंकमा काम गरेको छु। अझ त्रिवेणी विकास बैंक र सिध्दार्थ विकास बैंकको मर्जरको सिलसिलामा मैले परामर्शदाताको रूपमा काम गरेको अवधि समेत गणना गर्ने हो भने बैंकसँग ३१ र २ वर्ष सम्वद्ध हुन पुगेको छु।

६) ग्लोबल आईएमई बैंकले राम्रो गरेको छ, राम्रो गर्दैछ र अझ राम्रो गर्ने सम्भावनाहरू विद्यमान छन्। देशको अर्थव्यवस्थामा अर्थपूर्ण योगदान दिन सक्ने बैंकको क्षमता छ। बैंकको पूर्वाधार सबल छ, बैंकको व्यवसाय राम्रो छ, बैंकको छवि राम्रो छ र बैंकको उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरू लगायत अन्य कर्मचारीहरु मेहनती, वफादार, लगनशील र परिणाममुखी छन्। म मेरा सम्पूर्ण सहकर्मी साथीहरुलाई ‘मिस’ गर्नेछु। यस्तो गुणहरू भएको बैंकले भविष्यमा अझ राम्रो गर्दै जानेछ भनि सम्पूर्ण सरोकारवालाहरूमा आश्वस्त पार्न चाहन्छु। र, म यस घडीमा बैंकका सबै सरोकारवालाहरुमा आ–आफनो ठाउँबाट भविष्यमा पनि बैंकलाई थप साथ र सहयोग गर्न हार्दिक आह्वान गर्दछु।

७) विगत करीब साढ़े ३ दशक बैंकिंग क्षेत्र र त्यसभन्दा अघि करीब साढ़े २ वर्ष अध्यापन क्षेत्रमा थुप्रै सहकर्मी साथीहरुसँग काम गरेको छु। आफुले काम गरेका बैंकका कर्मचारीहरुका साथै अन्य बैंक तथा वित्तीय संस्थाहरूका साथीहरू, नेपाल राष्ट्र बैंक र अन्य नियमन संस्थाहरूका सरहरू र म्याडमहरूसँग र मेरा ग्राहकहरूसँग थुप्रै अन्तरकृयाहरु र बैठकहरु गरेको छु। यस दौरानमा मलाई थाहा छ मैले केही साथीहरु र विधार्थीहरुलाई चोट पुर्याएको छु। यसको लागि म यहाँहरुसँग माफि माग्न चाहन्छु। मैले जानी जानी यहाँहरूको चित्त दुखाउने काम नगरेकोले व्यक्तिगत रुपमा नलिएर व्यावसायिक रुपमा लिएर मलाई माफ गर्नुहुनेछ भन्ने आशा गरेको छु।

८) यो अवकाशसँगै म अब कुनै पनि क्षेत्रमा रणनीतिक भूमिकाको बाहेक ‘डेली रुटिन’ प्रकृतिको पूर्णकालिक काम गर्ने सम्भावना न्यून छ। मेरो बाँकीको जीवन अध्ययन, अनुसन्धान, अध्यात्म र बैकिङ क्षेत्रका कर्मचारीलाई तालीम प्रदान गर्नमा बिताउने छु। तालीम दिने काम मेरो जिविकाको कुरो मात्र नभएर यो मेरो शौखको चीज रहदै आएको छ। मैले बैंकिंग क्षेत्रबाट सिकेको ज्ञान सोही क्षेत्रका कर्मचारीमा मेरो जीवनको अन्तिम घड़ीसम्म बाँड्न चाहन्छु। मैले सधै भन्दै आएको छु र आज म यहाँ फेरी दोहर्याउन चाहन्छु कि मेरो मृत्यु भारतका भूपू राष्ट्रपति अव्दुल कलामको जस्तो कक्षामा पढाउदा पढाउदै होस्। आशा छ भगवानले मेरो यो एक आकांक्षा पुरा गर्नेछन्।

९) मेरो साढ़े ३ दशकको पूर्णकालिक व्यवसायिक जीवनमा उच्च नैतिकताका साथ ईमान्दारीतापुर्वक संस्थागत सुशासन कायम गर्दै काम गरेको छु। मैले सधै ‘गूड सिलीप’ रोजें, ‘गूड फूड’ कहिल्यै रोजिन। यसले मलाई ‘फियर लेस’ बनायो। कतिपय अवस्थामा यो मेरो ‘स्ट्रेन्थ’ पनि बन्यो ‘वीकनेश’ पनि। यसैकारण कसैले मेरो नैतिकता र इमान्दारितामा औंला ठड्याउन सकेनन्। जीन्दगीमा मैले कमाएको सबैभन्दा ठूलो पूँजी हो यो। मेरो यस्तो चरित्र निर्माणका लागि जन्मका हिसाबले मलाई जन्म दिएर हुर्काउने मेरा स्वर्गीय माता, पिता तथा हजुरआमा (मावली) र मेरो बैंकिंगको महाविद्यालय ग्रिन्ड्लेज र स्टयाण्डर्ड चार्टड बैंकलाई श्रेय जान्छ। म उहाँहरूलाई सधै सम्झनेछु।

१०) बैंकमा काम गरिरहेको अवस्था र बैंकिंग क्षेत्रभन्दा बाहिर रहेको अवस्थामा पनि मिडियाले मलाई सधैं साथ र सहयोग दियो। वित्तीय सुधार कार्यक्रम अन्तर्गत ३१ र २ वर्ष नेपाल बैंकमा काम गर्दा (जुलाई २००३ (डिसेम्वर २००६) देखि नै मेरो उहाँहरुसँग संगत रह्यो। उहाँहरूको रचनात्मक सहयोगको लागि म हार्दिक धन्यवाद दिन चाहन्छु। कार्य व्यस्तता आदिका कारणले कुनै दिन फोन उठाइन होला, भेट्न सकिन होला वा ठाटयाउलो रूपमा प्रस्तुत भएको हुँम्ला। यसको लागि म उहाँहरूसँग क्षमा याचना गर्दछु।

११) अन्तमा, बैंकिंग क्षेत्रमा जे जति गर्न सकें यसको पछाडी मेरो परिवारको ठूलो हात छ। यसका लागि परिवारका सबै सदस्यहरुलाई धन्यवाद दिन्छु। पूर्णकालिन व्यवसायिक जीवनमा मैले जति समय परिवारलाई दिनुपर्दथ्यो त्यति दिन सकिन, यसका लागि म दुखी र क्षमाप्रार्थी छु।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा


comments powered by Disqus

कामना सेवा विकास बैंकको डिवेञ्चर प्रत्याभूतीकर्तामा नागरिक लगानी कोष

Nov 30, 2020 06:32 PM

कामना सेवा विकास बैंकको (KSBBL) एक हजार रुपैयाँ अंकित दरका दश लाख कित्ताको ऋणपत्र प्रत्याभुतीकर्ताको रुपमा नागरिक लगानी कोष नियुक्त भएको छ । डिवेञ्चर प्रत्याभूतीकर्ता सम्झौता–पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका हुन् ।