अजोड इन्स्योरेन्सको आइपीओमा आवेदनको रेकर्ड ब्रेक, साढे ६ गुणा बढी आवेदन पर्यो

Jul 13, 2020 05:54 PM Merolagani



अजोड इन्स्योरेन्सले बिक्रीमा ल्याएको आइपीओमा सोमबार बेलुका पाँच बजेसम्ममा साढे ६ गुणा बढी आवेदन परेको छ।

असार २९ गते बेलुका पाँच बजेसम्ममा ५ लाख ९१ हजार आवेदकबाट १ करोड ८१ लाख ३ हजार ७५० कित्ता अर्थात १ अर्ब ८१ करोड ३ लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ। यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको आइपीओमा ६.६२ गुणा बढी हुन आउछ।

कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिहिबारदेखि बिक्री खुला गरेको थियो।त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। बाँकी रहने २७ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणलाई बिक्री खुल्ला गरेको हो।

सोमबारदेखि इन्स्योरेन्सको आइपीओमा आवेदन बन्द भइसकेको छ। हालसम्म  ६ गुणा बढी आवेदन परेको भएपनि अझै बैंकबाट आवेदन दिएका कतिपयको आवेदन थप हुने क्यापिटलले जनाएको छ।


आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ। त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा हुनेछ।