बैंक तथा वित्तीय संस्थाको चाैथाे त्रैमासकाे वित्तीय विवरण प्रकाशनमा यसकारण हुँदैछ ढिलाई

Aug 06, 2020 04:30 PM Merolagani

  • रबिन पाैडेल

बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशनमा ढिलाई गरेका छन् ।अघिल्ला वर्षहरूमा त्रैमास सकिएको दोस्रो सातातिरबाटै वित्तीय विवरण प्रकाशन गर्न थाल्ने बैंक तथा वित्तीय संस्थाहरूले यस वर्ष भने तीन साता बितिसक्दा पनि वित्तीय विवरण प्रकाशन गरेका छैनन्।

बैंकहरू मात्र हैन अन्य कम्पनीहरूको अवस्था पनि उही छ। केही कम्पनीले वित्तीय विवरण प्रकाशन गरेपनि धेरै कम्पनीहरूले विवरण प्रकाशन गरेका छैनन्। नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरूले त्रैमास सकिएको एक महिनाभित्र वित्तीय विवरण सार्वजानिक गर्नुपर्ने व्यवस्था छ।

नेपाल स्टक एक्सचेञ्जमा हाल २०८ वटा कम्पनीहरू सूचीकृत छन्। जसमध्ये ७ वटा कम्पनीले मात्रै वित्तीय विवरण सार्वजानिक गरेका छन् भने २०० भन्दा धेरै कम्पनीको वित्तीय विवरण प्रकाशन हुन बाँकी नै छ। नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत नभएका ३ वटा कम्पनीले भने विवरण सार्वजानिक गरिसकेका छन्।

बिहीबारसम्ममा फर्स्ट माइक्रोफाइनान्स, स्पर्स लघुवित्त, तिनाउ मिसन डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर, आरएमडिसी लघुवित्त र मञ्जुश्री फाइनान्सले वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। त्यस्तै, नेप्सेमा सूचीकृत नभएका राष्ट्रिय सहकारी बैंक, इन्फ्रास्टक्चर बैंक, धौलागिरि लघुवित्तले वित्तीय विवरण सार्वजानिक गरेका हुन्।

नियमअनुसार वित्तीय विवरण प्रकाशन गर्न कम्पनीहरुले अझै ८ दिन समय पाँउछन्। तर अन्तिममा एकै पटक धेरै कम्पनीले विवरण प्रकाशन गर्दा लगानीकर्तालाई वित्तीय विवरणको विश्लेषण गर्न कठिन हुन्छ। सबै सूचीकृत कम्पनीले यसै महिनाभित्र वित्तीय विवरण प्रकाशन गर्ने हो भने औषतमा दैनिक २५ वटा कम्पनीले विवरण प्रकाशन गर्नुपर्ने हुन्छ। तर, अझै पनि वाणिज्य बैंक र विकास बैंकहरू तत्कालै विवरण प्रकाशन गर्ने मनस्थितिमा छैनन्। साउन महिना सकिन १० दिन बाँकी रहेकाले त्याे समयभित्र वित्तीय विवरण प्रकाशन गर्ने तयारीमा केही वाणिज्य बैंकहरू रहेका छन्।

गत त्रैमासहरूमा जस्तै यस त्रैमासमा पनि महिनाको अन्तिमतिर एकैदिन धेरै कम्पनीले वित्तीय विवरण प्रकाशन गर्ने निश्चित छ। जसले गर्दा लगानीकर्ता आफुले लगानी गरेको कम्पनीको वास्तविक अवस्था थाहा पाउन गाह्रो हुन्छ।

  • किन हुँदैछ बैंकहरूकाे वित्तीय विवरण प्रकाशनमा ढिलाई?

अघिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको १५ दिनसम्म उठेको ब्याजलाई अघिल्लो आर्थिक वर्षकै आम्दानीमा गणना गर्न पाउथे तर, यस वर्ष असोज मसान्तसम्म उठेको ब्याजलाई गत आर्थिक वर्षकै आम्दानीमा गणना गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

अघिल्ला वर्षहरूमा १५ दिनसम्म उठेको ब्याज रकमलाई गणना गरी सो पश्चात बैंकहरूले विवरण प्रकाशित गर्ने गरेका थिए। यस वर्ष भने असोज अन्तिमसम्म नै ब्याज उठे पनि त्यसलाई नाफामा गणना गर्न पाँउछन्। यसले गर्दा पनि बैंकहरू जतिसक्दाे ढिला गरेर साउन अन्तिमतिर मात्रै वित्तीय विवरण प्रकाशन गर्ने मनस्थितिमा देखिन्छन्।

कारोनाका असरका कारण धेरै ऋणीहरू बैंकको कर्जा तिर्न नसक्ने अवस्थामा पुगेका छन्। जसले गर्दा असार मसान्तमा उठ्नु पर्ने बैंकहरूको ठुलो ब्याज रकम उठ्न सकेको छैन। केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत पनि ऋणीलाई २०७८ असार मसान्तसम्मकाे अवधि थप गरिदिएको छ। न्यून प्रभावितहरूले भने यही असोज मसान्तसम्म किस्ता तिर्नुपर्ने हुन्छ। असाेज मसान्तसम्म उठे पनि उक्त ब्याज रकमलाई बैंकहरूले सञ्चित मुनाफामा गणना गर्न पाँउछन्। 

अहिले कोरोनाको कारण बैंक तथा वित्तीय संस्था लगायतका सबै कम्पनीहरू 'पर्ख र हेर' को अवस्थामा नै रहेकाले वित्तीय विवरण प्रकाशनमा केही ढिलाइ भएको विज्ञहरू बताउछन्।

कृषि विकास बैंकका सूचना अधिकारी हिमलाल पौड्याल भन्छन्, "रेगुटरी निकायका निर्देशनहरू पनि पालना गरेर अघि बढ्नुपर्छ त्यसले गर्दा अलिकति समय त लागि हाल्छ। राष्ट्र बैंकले गरेको व्यवस्थाले गर्दा पनि बैंकहरूले वित्तीय विवरण प्रकाशनमा केही ढिलाई गरेका हुन्।" 

कोरोनाको कारण बैंकहरूको आम्दानी घटेको छ। केन्द्रीय बैंकको निर्देशनले गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकहरूले लिइरहेको ब्याजदरमा २ प्रतिशत घटाएर ब्याज रकमको गणना गर्नुपरेको थियो। अर्कोतर्फ केन्द्रीय बैंकले किस्ता तिर्ने अवधि थपिदिएकाले साँवा ब्याज उठ्न सकेको छैन।

एनएफआरएस प्रणालीअनुसार वित्तीय विवरण प्रकाशन गर्दा पाकेको ब्याज नउठे पनि नाफामा गणना गर्न पाइन्छ जसले गर्दा बैंकहरूको नाफा थाेरै मात्र घटेपनि नउठेको ब्याजलाई रेगुलेटरी रिजर्भमा राख्नु पर्ने प्रावधानका कारण बैंकहरूको वितरणयोग्य नाफा घट्छ। थप कर्जा उठे बैंकहरूको नाफा केही बढ्ने हुँदा बैंकहरू ढिलै वित्तीय विवरण प्रकाशित गर्ने मनस्थितिमा पुगेका हुन्। 

सबै बैंकहरू अहिले थप ब्याज उठ्छ कि भनेर बसिरहेका सानिमा बैंकका सूचना अधिकारी तेजबहादुर चन्द बताउँछन्। "बैंकहरूको वित्तीय विवरण प्रकाशनमा ढिलाई हुनुमा अरु कुनै कारण छैन्," उनले भने, "सबै बैंकहरु थप ब्याज उठ्छ कि भनेर कुरेर बसेका छन्।"

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।