१५ दिन सरकारी कर्मचारी 'वर्क फर्म होम" मा,अत्यावश्यक काम बाहेक सबै बन्द

Aug 13, 2020 04:20 PM Merolagani



सुवास निरौला

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि सरकारी कार्यालयहरूले दिने अत्यावश्यक सेवा बाहेक सबै सेवा आंशिक गर्न थालेका छन्। सङ्क्रमणको जोखिम बढी हुने खतरा रहेको भन्दै कार्यालयहरूले सेवा आंशिक गर्न थालेका हुन्।

सेवालाई आंशिक गरिएसँगै कर्मचारीलाई समेत आलोपालो लगाउन थालिएको छ। धेरै जसो सरकारी कर्मचारीले घरबाटै काम गर्न थालेका छन्। पछिल्लो समय मन्त्रीपरिषद बैठकले ५० प्रतिशत कर्मचारीले मात्रै काम चलाउने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम सबै सरकारी कार्यालयले बुधवार देखि नै अत्यावश्यक काम बाहेकका सेवा बन्द गरेका छन्। 

निर्णयको चिठी समयमै पाउने मन्त्रालयहरूले बुधवारबाटै सेवा कटौती गरेका छन् भने कुनैले बिहीबार र कुनैले शुक्रवारबाट सेवा कटौती गर्ने जनाएका छन्। अर्थ मन्त्रालयले शुक्रवारबाट सेवा कटौती गर्ने भएको छ भने अन्य मन्त्रालयले बिहीबारबाटै सेवा कटौती गरेका छन्। भदौ १५ गते सम्म सबै जसो सरकारी कार्यालयले दिने सेवामा कटौती हुने छ। अत्यावश्यक बाहेकका सबै काम रोकिने छन्।

कर्मचारीको हकमा साप्ताहिक आलो पालो गराउने सरकारको निर्णय छ। तर कसैले आलोपालो गरेका छन् भने कसैले कार्यालयलाइ नै त्यसको जिम्मेवारी दिएका छन्।   

भन्सार विभागले बिहीबारदेखि ५० प्रतिशत कर्मचारीलाई घरैबाट काम गर्न निर्देशन दिएको छ। बिहीबारबाटै ५० प्रतिशत कर्मचारीले  काम गर्न सुरु गरेको भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले जानकारी दिए।उनका अनुसार भन्सार विभागको धेरै जसो काम वर्क पर होम को मोडालिटीमा गर्न थालिएको छ। जन सम्पर्क नहुने काम घरबाटै गर्न थालिएको हो। भन्सारले गर्ने धेरै जसो काम अनलाइनबाटै हुने गर्छ। भौतिक रूपमै उपस्थित भएर गर्नु पर्ने सेवाको लागि कर्मचारी उपस्थित हुनै पर्ने भएकोले ५० प्रतिशत कर्मचारी कार्यालयबाटै कम गर्ने गरी मिलाइएको छ।

कर्मचारीहरूलाई साप्ताहिक आलोपालोमा कार्यालय आउने गरी बिहीबारबाट नै मिलाएकाे  विभागले जनाएकाे छ। यति बेला घरमा बसेकाहरू अर्को साता कार्यालय आउने छन् भने अहिले घरमा बसेका कर्मचारी कार्यालय जाने छन्। भदाै १५ गते सम्मको लागि यो व्यवस्था गरिएको घिमिरेले जानकारी दिए।

यति बेला मुलुकका सबै जसो भन्सार कार्यालय खुल्लै रहेका छन्। सामान आयात निर्यातमा कुनै समस्या छैन। तर मानिसलाई भने नाकाबाट आऊ जाऊ गर्न प्रतिबन्ध लगाइएको छ। 

उता आन्तरिक राजस्व कार्यालयले समेत अति आवश्यक काम बाहेक सबै काम शुक्रवारबाट रोक्ने भएको छ। सामान्य काम कार्यालयबाटै गर्ने गरी व्यवस्था गरिएको भए पनि समय लाग्ने कामलाई भने पछि गर्ने गरी मिलाइएको विभागले जनाएको छ। स्थानीय सरकारले गरेको निर्णय अनुसार सेवा दिने या नदिने भन्ने निर्णय सम्बन्धित कार्यालयले नै गर्ने गरी निर्देशन दिइएको विभागका एक अधिकारीले मेरो लगानीलाई बताए।

विभागको निर्देशन अनुसार कार्यालयहरूले काम गर्ने छन्। स्थानीय सरकारले प्रतिबन्ध लगाएका ठाउँमा रहेका कार्यालयले शुक्रवारदेखि कार्यालय बन्द गर्ने छन्। अहिलेलाई अर्को निर्देशन न आए सम्म कार्यालयको काम यसै गरी गरिने ती अधिकारीको भनाइ छ। कर्मचारीको हकमा समेत आलो पालो सेवा दिन निर्देशन दिइएको छ। तर कसरी आलो पालो गर्ने भन्ने निर्णय गर्न भने कार्यालय लाइनै मिलाउन भनिएको छ। शुक्रवारबाट अत्यावश्यक कामको लागि बाहेकका कर्मचारीले घरैबाट काम गर्ने छन्।

यता कम्पनी रजिष्ट्रारकाे कार्यालयले समेत अत्यावश्यक काम बाहेकका प्रशासनिक काममा रोक लगाइसकेको छ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।