कोरोना भाइरसका कारण चीनमा त खासै त्यस्तो केही नोक्सान भएन तर विश्वका अधिकांश देशहरुमा यसको असर परेको छ भने केही देशको अर्थतन्त्र त यसको अत्याधिक प्रभावका कारण थलिएको समेत छ।
अरु देशमा कोरोना भाइरसको संक्रमण उच्च दरमा बढिरहेका बेला केही दिन पहिले मात्र चीनको वुहानमा मानिसहरु पूल पार्टी गरिरहेको तस्बिर सार्वजनिक भएको थियो।
एकातर्फ विश्वभरका मानिसहरु पछिल्लो ७ महिनादेखि पार्टीबाट टाढा, आफ्ना नातेदार–आफन्तहरुसँग पनि भेट्न पाइरहेका छैनन् भने अर्कातर्फ चीनको वुहान, जहाँबाट कोरोना भाइरसको उत्पत्ति भएको थियो, त्यहाँ अब पार्टीहरु हुन शुरु भइसकेको छ। त्यो पनि हजारौँ मानिसहरुको भीडभाडका साथ।
हुनसक्छ ती पार्टीहरुको फोटो देखेर चीनलाई लिएर सबैको रिस अझै बढेको हुनसक्छ, तर एउटा कारण अर्काे पनि छ, जो एंटी–चाइना सेन्टिमेन्ट्सलाई बढावा दिनका लागि काफी छ र त्यो हो चीनको जीडीपी आँकडा।
यस वर्षको जून त्रैमासमा भारतको आर्थिक वृद्धिदरमा २३.९ प्रतिशतको गिरावट देखियो। केबल भारतमा मात्र नभई अमेरिका, बेलायत र जापान जस्ता देशहरुको आर्थिक वृद्धिदरमा पनि अप्रिलदेखि जून त्रैमासमा गिरावट देखियो। तर, चीन मात्र एउटा यस्तो देश हो, जसको आर्थिक वृद्धिदर उक्त त्रैमासमा बढेको छ।
चीनको नेशनल ब्यूरो अफ स्टाटिस्क्सि डिपार्टमेन्टका अनुसार, अप्रिलदेखि जून त्रैमासका बीच चीनको आर्थिक वृद्धिदरमा ३.२ प्रतिशतको बढोत्तरी भएको छ। जबकि योभन्दा पहिले जनवरीदेखि मार्च त्रैमासमा चीनको जीडीपी सन् १९९२ पछि पहिलोपटक घटेको थियो। साे त्रैमासमा ६.८ प्रतिशतको गिरावट देखिएको थियो।
आखिर यसको कारण के हो त? यसमाथि क्रिसिलका चीफ इकोनोमिस्ट डीके जोशी दुई कारण देखाउँछन्। पहिलो यो हो कि, चीनमा कोरोना भाइरसलाई रोक्नका लागि पूर्ण रुपमा लकडाउन लगाइएन् र दोस्रो, त्यहाँ कोरोनामाथि छिट्टै नै नियन्त्रण लिइयो।
चीनको जीडीपी बढ्नुको दुई प्रमुख कारण
पहिलोः पूर्ण रुपमा लकडाउन नलगाइनु
विश्वभरमा कोरोना भाइरस फैलनबाट रोक्नका लागि पूर्ण रुपमा लकडाउन गरियाे। तर, जुन चीनबाट यो भाइरस उत्पत्ति भयाे, त्यहाँ पूर्ण रुपमा लकडाउन गरिएको छैन। वुहानमा संक्रमणको पहिलो मामला देखिएको ७ हप्तापछि केबल त्यहाँ मात्र लकडाउन गरियो। ७६ दिनपछि ८ अप्रिलमा वुहानबाट लकडाउन हटाइयो।
चीनमा केबल ती क्षेत्रहरुमा लकडाउन लगाइयो, जहाँ कोरोनाका बिरामीहरु भेटिरहेका थिए। जस्तैः जब कुनै क्षेत्रमा एक मात्र कोरोनाका बिरामी भेटिन्थे, तब त्यहाँ पूर्ण रुपमा लकडाउन गरेर त्यहाँका प्रत्येक नागरिकहरुको कोरोना परीक्षण गरिन्थ्यो।
दोस्रोः कोरोना नियन्त्रणमा, जून त्रैमासमा २ हजारभन्दा कम केस देखिए
चीनमा कोरोनाको सुरुवात गत वर्षको डिसेम्बरको अन्त्यतिर भएको थियो। त्यसपछि जनवरी र फेब्रुअरीमा त्यहाँको अवस्था एकदमै खराब रह्यो। ३१ मार्चसम्म त्यहाँ ८१ हजारभन्दा धेरै संक्रमणका घटना देखिएका थिए। यो जनावरीदेखि मार्चसम्मको त्रैमास थियो, जसमा चीनको आर्थिक वृद्धिदरमा ६.८ प्रतिशतको गिरावट देखिएको थियो।
तर, त्यसपछि कोरोनाका नयाँ संक्रमितको संख्या कम हुँदै गयो। अप्रिलदेखि जूनसम्म चीनमा केबल एक हजार ९७७ संक्रमित भेटिए। जबकि विश्वभरमा कोरोना मार्च महिनाबाट मात्र फैलिन शुरु भयो। यसको विपरीत चीनमा कोरोना भाइरसमाथि नियन्त्रण पाइयो।
दोस्रो त्रैमासमा चीनको आयात–निर्यात बढ्यो, उत्पादन क्षेत्रमा वृद्धि
दोस्रो त्रैमासमा चीनको जीडीपीमा ३.२ प्रतिशतको वृद्धि देखियो। चीनको नेशनल ब्यूरो अफ स्टाटिस्क्सि डिपार्टमेन्टका अनुसार, जून त्रैमासमा चीनको उत्पादन क्षेत्रमा ४.४ प्रतिशतको वृद्धि रह्यो, जबकि जनवरी–मार्च त्रैमासमा यसमा २.५ प्रतिशतको गिरावट आएको थियो।
यसका अलावा जून त्रैमासमा चीनको निर्यात–आयातमा पनि बढोत्तरी देखिएको छ। जनवरी–मार्च त्रैमासमा भने यसमा ०.२ प्रतिशतको गिरावट देखिएको थियो। (दैनिक भास्करबाट अनुवादित)
अनुवादकः सबिना बजगाई