शिवम् सिमेन्टले सबै बैंक ऋण चुक्ता गर्यो, अर्को कम्पनीमा तीन सय ६० करोड लगानी, लाभांश कति ?

Sep 11, 2020 07:16 AM Merolagani

  • सुवास निरौला

शिवम् सिमेन्ट ऋण मुक्त कम्पनी बनेको छ। उसले लिएको सम्पूर्ण बैंक ऋण चुक्ता गर्दै "लोन फ्री" कम्पनीको रुपमा अघि बढेको हो।

कम्पनीले थुप्रै बैंकसँग करिब पाँच अर्ब रुपैयाँ ऋण लिएको थियो। उसले हालै सबै ऋण चुक्ता गरेको जनाएको छ। "हामीले सबै बैंक ऋण केही दिन अघि चुक्ता गरेका छौँ, " शिवम् सिमेन्टका सञ्चालक शिबरतन शारडाले मेरो लगानीसँग भने।

उनका अनुसार नेपाल बैंक, नबिल बैंक, नेपाल एसबिआइ बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लगायतका बैंकबाट कम्पनीले ऋण लिएको थियो। कम्पनीले यी सबै बैंकहरूबाट पाँच सय करोड रुपैयाँ ऋण चलाएको थियो। कम्पनीले चलाएको ऋण करिब सात वर्षमा चुक्ता भएको हो। यति बेला कम्पनी "लोन फ्री" भएको छ।

कम्पनीले ऋण मात्रै चुक्ता गरेको छैन। उसले लिएको ऋणबाट अर्को सिमेन्ट कारखानामा समेत लगानी गरेको छ। कम्पनीले लिएको पाँच सय करोड ऋणमध्येबाटै तीन सय ६० करोड रुपैयाँ होङसी शिवम् सिमेन्टमा लगानी गरेको जनाएको छ। त्यसबाट समेत कम्पनीले केही वर्षपछि आम्दानी गर्न शुरु गर्ने शारडाले बताए।

ऋण लगानी गरिएको उक्त कम्पनी नेपालकै सबैभन्दा ठूलो सिमेन्ट कारखाना हो। चीनको हंङ्कङ् रेड लायन ३ लिमिटेड सिमेन्ट कम्पनी र शिवम् सिमेन्टको संयुक्त लगानीमा यो सिमेन्ट कारखाना बनेको हो। उक्त कारखाना तयार गर्न पनि बैंकबाट प्रशस्त ऋण लिइएको छ। उसको करिब १८ अर्ब रुपैयाँ बैंक ऋण रहेको शारडाको भनाइ छ। तर उसले समेत बिस्तारै ऋण घटाउन शुरु गरिसकेको छ। उसले ऋण चुक्ता गरेपछि त्यसको समेत फाइदा शिवमले पाउन शुरु गर्नेछ। तर, त्यसको लाभांश आउन भने शेयरधनीले अझै केही वर्ष पर्खनु पर्नेछ।

त्यस अवधिसम्म कम्पनीले शेयरधनीलाई आफ्नै कमाइबाट लाभांश दिने योजनामा काम गरिरहेको छ। जसका लागि कम्पनीले बैंकमा निक्षेप समेत राखेको छ। उसले १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेको जनाएको छ।

उसले कम्पनीका शेयरधनीहरुलाई लाभांश वितरण गर्न उक्त रकम जम्मा गरेको शारडाले बताए। "कम्पनीका शेयरधनीले कम्पनी ऋण मुक्त होस् भन्ने चाहेका थिए सोही अनुसार हामी ऋण मुक्त भएका छौ। शेयरधनीले लाभांशको समेत अपेक्षा गरेका छन्। उक्त रकमबाटै हामी लाभांश दिने योजनामा छौ," शारडाले भने।

कम्पनीले गत वर्षकै अनुपातमा लाभांश दिने योजना बनाएको छ। उसले १५ प्रतिशत लाभांश नघट्ने गरी दिने गरी काम गरिरहेको शारडाले बताए। पछिल्लो समय उसले गत वर्षको भन्दा बढी नै लाभांश दिने योजनामा काम गरिरहेको थियो। तर देशको अहिलेको अवस्था र कोरोनाले उद्योगमा निम्तिएको समस्याले गर्दा प्रभावित हुन पुगेको उनको भनाइ छ।

देशमा देखिएको सिमेन्ट उद्योगको प्रतिस्पर्धा र बिक्रीमा आएको कमीका कारण कम्पनीको नाफा लगातार घट्दो क्रममा छ। झन् त्यसमाथि कोरोना थपिएपछि कम्पनीको नाफामा थप सङ्कुचन देखिएको शारडाको भनाइ छ। कोरोनाका कारण उद्योग कम क्षमतामा चलेका छन् भने भएको उत्पादन समेत बजारमा बिक्री नभएको अवस्था छ। जसले नाफामा सङ्कुचन देखिएको हो।

गत आवको मसान्तसम्ममा कम्पनीले १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४५ करोड ६२ लाख रुपैयाँ कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ११ अर्ब ३४ करोड ५१ लाख रुपैयाँबाट घटेर ९ अर्ब ९० लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।