कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएकाे छ। त्यसमध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता शेयर सामूहिक लगानीलाई सुरक्षित गरिएको छ। बाँकी रहने २७ लाख ३० हजार किता शेयरमा सर्वसाधारणले आवेदन दिन सकिनेछन्।
कम्पनीको आईपीओमा छिटोमा असोज १४ गतेसम्ममा आवेदन दिनुपर्नेछ। त्यस अवधिमा पर्याप्त आवेदन नपरे असोज २६ गतेसम्म शेयर बिक्री खुला हुने कम्पनीले जनाएको छ।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ। त्यसपछि संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व हुनेछ।
कसरी दिने आवेदन ?
कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्दै जानुपर्ने हुन्छ। यसअनुसार गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले न्युनतम १० कित्ता शेयर पाउनेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ भने प्रत्याभुतकर्तामा नेपाल एसबिआई मर्चेन्ट, सिद्धार्थ क्पापिटल, एनएमबि क्यापिटल रहेका छन्।
तीन वर्षमा ५ करोड संचित नाफा कमाउने प्रक्षेपण
इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्ममा ५ करोड ६९ लाख २२ हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०७४/७५ मा ६१ लाख १४ हजार रुपैयाँ सञ्चित नाफा आर्जन गरेकोमा आर्थिक वर्ष २०७५/७६ मा ३ करोड ३७ लाख ४८ हजार रुपैयाँ सञ्चित नोक्सानी व्यहोरेको थियो।
यस्तै, आर्थिक वर्ष २०७६/७७ मा पनि २ करोड ६६ लाख ३० हजार रुपैयाँ सञ्चित नोक्सानीमा गएको कम्पनीले सार्वजनिक गरेको विवरण पत्रमा उल्लेख छ। यसैगरी, चालू आर्थिक वर्ष २०७७/७८ मा १५ लाख ७६ हजार रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा २ करोड ७ लाख रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ।
आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वित्तीय विवरण एनएफआरएस बमोजिम तयार पार्दा सञ्चित नोक्सानीमा गएको कम्पनीले जनाएको छ।
यस्तै, आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ २७ पैसा र प्रतिशेयर आम्दानी ३० रुपैयाँ २७ पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ।
इन्स्योरेन्स गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ५ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यस्तै यस अवधिमा इन्स्योरेन्सले १६ करोड ४६ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ २५ पैसा र प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ २ पैसा रहेको छ।
मध्यम रेटिङ्ग
कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी वीवी प्लस रेटिङ्ग प्रदान गरेको छ। त्यसले कम्पनीको वित्तीय दायित्व समयमै सेवा पुर्याउन सक्ने मध्यम जोखिम भएको जनाउछ।
यसैगरी, इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपि आईपीओ ग्रेड ४ प्रदान गरेको छ। त्यसले कम्पनीाको अवस्था औषत रहेको जनाउछ।
कस्तो कम्पनी हो?
जनरल इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनी हो। २०६४ मंसिर १० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो भने २०७५ जेठ २९ गते बीमा समितिबाट निर्जीवन बीमा सम्बन्धी व्यवसायिक कारोबार गर्न स्वीकृती पाएको थियो। कम्पनीले २०७५ असार ६ गतेदेखि निर्जीवन बीमा सम्बन्धी व्यवसायीक कारोबार गर्दै आइरहेको छ।
कम्पनीको रजिष्टर्ड (प्रधान कार्यालय) कठामाडौं महानगरपालिकाको वडा नं. १, हात्तिसारमा छ। हाल कम्पनीको कम्पनीको १४ जिल्लामा ३९ वटा शाखा तथा उपशाखा कार्यालयहरू छन्।
लाभांश क्षमता कति?
कम्पनीले ३ वर्षपछि १५ प्रतिशत लाभांश दिन सकिने प्रक्षेपण गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा उक्त लाभांश दिन सकिने प्रक्षेपण गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ५ प्रतिशत, २०७८/७९ मा ७ प्रतिशत र आर्थिक वर्ष २०७९/८० मा १० प्रतिशत लाभांश दिन सकिने प्रक्षेपण गरेको छ ।
भावी योजना तथा रणनीति
इन्स्योरेन्सले समय सापेक्ष नयाँ निर्जीवन बीमा योजना तथा सेवाहरु विकास गरी सम्भाब्य ग्राहकहरुको पहिचान गरेर आफ्नो व्यवसाय विस्तार गर्ने लक्ष्य लिएको छ।
निर्जीवन बीमा व्यवसायको विकास गर्न बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गरी हरेक क्षेत्रमा बीमा प्रति आकर्षित गर्दै बीमा क्षेत्रमा सर्वसाधारण, उद्योगी, व्यापारी एवं विभिन्न संघ संस्थाहरुसम्ममा बीमा प्रणाली मार्फत सरल, सुलभ र छिटो छरिटो तरिकाबाट भरपर्दो एवं गुणस्तरीय बीमा सेवा प्रदान गर्ने तथा निकट भविष्यमा ग्रामीण समुदायसम्म सेवा विस्तार गर्ने, सेवामा विविधिकरण गर्दै जाने तथा थप सेवा विस्तार गर्दै जाने कम्पनीको योजना छ।