कागजी केवाइसीको युग समाप्त, बाेर्डद्वारा डिजिटल केवाइसी लागु गर्ने निर्देशिका स्वीकृत

Oct 16, 2020 02:57 PM merolagani

सुवास निरौला

दोस्रो बजारलाई पारदर्शी बनाउने विषयमा नेपाल धितोपत्र बोर्ड थप एक कदम अघि बढेको छ। कागजी केवाइसीको युग समाप्त गर्दै डिजिटल केवाइसीको युगमा प्रवेश गर्दै बोर्ड अर्को एक कदम अघि बढेको हो।

दोस्रो बजारमा डिजिटल केवाइसी लागु गर्ने निर्देशिका स्वीकृत गर्दै बोर्डले नयाँ युगको सुरुवात गरेको छ।  पछिल्लो पटक शेयर बजारलाई थप पारदर्शी बनाउन ल्याइएको सेन्ट्रलाइज केवाइसीलाई बोर्डले स्वीकृति गरेको हो। “केन्द्रीकृत ग्राहक पहिचान विवरण (सि-केवाइसी) सेवा सम्बन्धी कार्य सञ्चालन निर्देशिका २०७७ पास गरिएको छ” बोर्ड अध्यक्ष भीष्म राज ढुङ्गानाले मेरो लगानी सँग भने। केवाइसी स्वीकृति भएसँगै केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) लाई समग्र पूँजी बजारमा डिजिटल केवाइसी लागु गर्न बाटो खुलेको छ।

डिजिटल केवाइसी लागु भए सँगै पूँजी बजारमा कागजी केवाइसीको युग समाप्त हुने अध्यक्ष ढुङ्गानाको भनाइ छ। पहिलो चरणमा पूँजी बजारको सबै निकायमा डिजिटल केवाइसी लागु हुने अध्यक्ष ढुङ्गानाको जिकिर छ। यस अघि पूँजी बजारसँग सम्बन्धित भिन्ना भिन्नै निकायमा भिन्ना भिन्नै  कागजी केवाइसी भर्नु पर्थ्यो। अब लगानीकर्ताले एक ठाउँमा भरेको केवाइसीले नै पूँजी बजारसँग सम्बन्धित सबै निकायमा काम गर्ने छ। नेपाल स्टक एक्सचेन्ज, सिडिएससी, निक्षेप सदस्य, मर्चेन्ट बैक, ब्रोकर कम्पनीमा डिजिटल केवाइसीले काम गर्ने छ। लगानीकर्ताले यी निकायमा भिन्ना भिन्नै  केवाइसी भर्नु पर्ने छैन।  

यस अघि उक्त केवाइसीको काममा निजी क्षेत्रलाई समेत समावेश गर्न सकिने प्रावधानका कारण विवादित बनेको थियो। बोर्डले निर्देशिका पास गर्दै गर्दा उक्त प्रावधानलाइ समेत हटाएको जनाएको छ। चौतर्फी रुपमा उक्त बुँदामा विमति देखिएपछि बोर्डले उक्त प्रावधान हटाएर निर्देशिका स्वीकृत गरेको हो।

बोर्डले निर्देशिका स्वीकृति गर्दै गर्दा थोरै कन्जुस्याइँ गरेको छ। उसले बायोमेट्रिकको ठाउँमा स्क्यान गरे मात्रै पुग्ने प्रावधान समेटेको छ। जबकि उक्त केवाइसीमा बायोमेट्रिक प्रावधान हुने व्यवस्था समेटिएको थियो। तत्काललाई उक्त व्यवस्था हटाइएको भएपनि भविष्यमा उक्त प्रावधान समेटिने योजना भने यथावतै रहेको अध्यक्ष ढुङ्गानाले बताएका छन्। प्रारम्भिक चरणमा लागु भएर सफलता हासिल गरेसँगै उक्त प्रावधान समेटिने बताइएको छ।    

बजारलाई पारदर्शी बनाउन र विशेषतः नक्कली कारोबारीलाई निमिट्यान्न पार्ने उद्देश्यका साथ सिडिएससीले बायोमेट्रिक सहितको डिजिटल केवाइसी तयार पारेको थियो। यति बेला सिडिएससीले कागजी केवाइसी र डिजिटल केवाइसी दुबैलाई प्रयोग गरिरहेको छ। कागजी केवाइसीको डिजिटल भर्सन नै सेन्ट्रलाइज केवाइसी हो। हाल सेन्ट्रलाइज केवाइसी आठवटा संस्थाले परीक्षणको रुपमा प्रयोग समेत गरिरहेका छन्। जसमा कृषि विकास बैंक समेत रहेको छ। उनीहरूले डिजिटल केवाइसी प्रयोग गरेका हुन्। उनीहरूले वास्तविक लगानीकर्ता पहिचान गर्न सजिलो हुने र आफ्नो कम्पनीको कारोबार पारदर्शी हुने भन्दै बायोमेट्रिक सहितको केवाइसी चलाएका हुन्।

आठवटा संस्थाले प्रयोग गरिरहेको सेन्ट्रलाइज केवाइसीको सबै काम सिडिएसीले गर्दै आएको छ। उसलाई उक्त व्यवस्थापन गर्न गाह्रो समेत भएको छैन। आगामी दिनमा अन्य संस्थामा समेत प्रयोग बढाउँदै लैजाने योजनामा सिडिएससीले काम गरिरहेको छ। तीनै योजनामा काम गर्न भन्दै यति बेला सिडिएससीले प्रविधिमा समेत लगानी बढाएको छ। डेस्कटप बेस प्रणालीलाई विस्थापन गर्दै वेभ बेसमा जान उसले काम गरिरहेको छ।

सिडिएससीले तीनै कामको लागि भन्दै सर्भर क्षमता समेत बढाएको छ। मानिसको प्रयोग बढ्दै जाँदा त्यसको क्षमता बिस्तारै बढाउँदै लैजाने योजना सिडिएससीको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।