क्लिन फिड लागू भयाे, तिहार पछि च्यानलहरूकाे शुल्क २५ प्रतिशत बढाउनै पर्छ: पराजुली

Oct 23, 2020 06:38 PM merolagani

विज्ञापन ऐनमा भएकाे व्यवस्था बमाेजिम कार्तिक ८ गतेदेखि क्लिन फिड लागु त भएकाे छ तर पूर्व तयारी नभइ लागू भएकाेले अन्याैल पनि देखिएकाे छ । विदेशी च्यानलहरुले  पर्याप्त तयारी नगरेपछि शुक्रवारदेखि जम्मा जम्मी ३२ वटा विदेशी च्यानल मात्रै प्रसारण भएका छन् ।

यसकाे सबैभन्दा पहिलाे असर अाइपिएल हेरिरहेका नेपाली क्रिकेटप्रेमीलाइ परेकाे छ । क्लिन फिडलागू भएसँग सेवा प्रदायकहरूले शुल्क बढाउने तयारी गरेका छन् ।

नेपालमा लागु भएको क्लिन फिड,सम्भावना र चुनौतीका विषयमा केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीसँग मेराे लगानीका उप सम्पादक सुवास निराैलाले कुराकानी गरेका छन् ।

सरकारले क्लिन फिड कार्यान्वयनमा लैजाने भनेको छ। कस्तो छ तपाइहरूको तयारी ?

हाम्रो तर्फबाट गर्ने तयारी खासै  हुँदैन। हामीले त लिङ्क गर्ने र प्रसारण गर्ने मात्रै हो। हाम्रो तर्फबाट गर्नु पर्ने तयारी भएकै छ। यति बेलासम्म च्यानल सेवा प्रदायकहरुले २० वटासम्म च्यानल क्लिन फिड दिने भएका छन्। उनीहरूले दिएको क्लिन फिड च्यानल प्रसारण हुने छन् भने अन्य च्यानल चाहिँ बन्द हुन्छन्।

भनेपछि २० वटा मात्रै प्रसारण हुने हुन् ?

अहिले सम्म त त्यस्तै छ। तर शुक्रवार थप १२ वटा च्यानल थपिने छन्। अहिले सम्म जी को १२ वटा र सोनीको आठ वटा च्यानल आउने भएका छन्। शुक्रवार बेलुकी सम्म केही परिवर्तन होला ।  केही च्यानल थपिने क्रममा छन्। जसमा सोनीका १९ वटा र जी का १२ वटा च्यानल आउने छन्। जम्मा जम्मी ३१ वटा च्यानल मात्र अहिले सम्म पक्का पक्की जस्तो भएको छ।

ती बाहेक अरू च्यानल चाहिँ प्रसारण नै हुँदैनन् ?

अहं अरू च्यानल प्रसारण नै हुँदैनन्। ती सबै व्लाङ्क हुन्छन्। नेपाल सरकारको कानुन मान्नै पर्‍यो नि हैन र ?  त्यसमा पनि दुई तिहाइ बहुमत भएको पार्टीको बहुमत सहितको सदनले पास गरेको कानुन नमान्ने कुरा भएन। च्यानल देखायो भने कानुन विपरीत हुन जान्छ। कानुन विपरीत गएर कसरी प्रसारण हुन्छ। हुँदैन नि ?

अहिलेसम्म नेपाली दर्शकले कति च्यानल हेरि रहेका थिए ?

एक सय वटा सशुल्क च्यानल र अर्को एक सय २० वटा निःशुल्क च्यानल हेर्दै आएका थिए। जसमा निःशुल्क च्यानल कुनै पनि आउँदैन। सशुल्क मध्येबाट ३१ वटा च्यानल मात्रै आउँछन्।

खेलकुदका च्यानल के हुन्छन् नि ?

खेलकुदका कुनै पनि महत्त्वपूर्ण च्यानल आउँदैनन्। यति बेला चलिरहेको इन्डियन प्रिमियर लिग (आइपिएल) त्यो पनि हेर्न पाइन्न। किनभने स्टारको सामान फ्लाइट नपाएर सिङ्गापुरमा अड्किरहेको छ । त्यो सामान नआएसम्म त्यो पनि हेर्न पाइन्न। स्टारको प्याकेजमा खेलकुदका टन्न च्यानल छन्। ती कुनै पनि हेर्न पाइन्न।

किन यस्तो भयो ?  के तपाइहरूले तयारी गर्नु भएको थिएन ?

तयारी गरेको हो। तर कोभिडको कारणले डिले हुँदै गएको हो। पहिले सम्पूर्ण लक डाउन भयो कसैले वास्ता गरेनन्। हामी पनि बिलखबन्दमा पर्‍यौ। पछि गरौँ भन्ने भयो। फेरि हामीले सामान अर्डर गर्ने पनि होइन। हामीलाई च्यानल सेवा प्रदायकहरुले नै दिने हो। उनीहरूले अर्डर गर्दा समय लागेको हो। फेरि सञ्चार मन्त्रालयले अनुमति दिन पनि ढिला गरिदियो। त्यसले पनि ढिलो भएको हो। फेरि सञ्चार मन्त्रालयमा पनि नयाँ मानिसहरू आउनु भएको छ। उहाँहरूलाई पनि के हो, कसो हो भनेर बुझ्नै पनि समय लाग्यो।

विज्ञापन बोर्ड गठन गर्ने भनेको थियो नि के भयो त्यो ?                                  

सरकारले भर्खरै बोर्ड गठन गरेको कुरा थाहा पाएका छौ। अहिलेलाई मन्त्रालयकै कर्मचारीलाई राखेर चलाउने गरी सरकारले बोर्ड गठन गरेको छ। मन्त्रालयका सहसचिवको नेत्रृत्वमा बोर्ड गठन भएको छ। बोर्ड फुल फङ्सनमा नगए सम्म यसैगरी चलाउने भन्ने हामीले थाहा पाएका छौ।

सरकारको यो प्रयास सफल हुन्छ ?

यसलाई के भन्ने सफल भन्ने कि असफल भन्ने । हामीले त नियम मान्ने हो। हामीले देशको कानुन मान्ने हो। मेरो दृष्टिकाेणमा चाहिँ यो असफल नै हो। किनकि तयारी बिनाको कार्यान्वयन भयो। कानुन आयो । कानुन आएको बेलामा सबै जना सुतेर बसे। त्यसपछिको समय कोभिडले खाइदियो।तयारी कसैको पनि भएन। हाम्रो तर्फबाट गर्नु पर्ने तयारीमा गर्न सकेनौ। सशुल्क च्यानलको तर्फबाट गर्नु पर्ने तयारीमा उनीहरूले यही कोभिडलाई देखाइरहेको अवस्था छ। यति बेला चाहिँ उपकरण उत्पादन भइरहेको छैन। ती सबै उपकरण चीनबाट ल्याउनु पर्छ। चीन मै ती सामान उत्पादन भएको छैन। बक्सहरू ल्याउनु पर्छ। तयार भएर पठाएको सामान पनि नाकामा अड्किएको अवस्था छ।

च्यानलहरू देखाउन नपाउँदा हामीलाई के असर गर्छ ?

च्यानल देखाउन नपाउँदा त असर गरी हाल्छ नि। पहिलो कुरा दर्शकले पूर्ण मनोरञ्जन र सूचना पाउँदैनन्। अहिलेको युगमा समेत सूचनाबाट वञ्चित गराइदा त्यसले बेफाइदा त गर्छ नै। त्यो हेर्न नपाउँदा ग्राहकले हामीलाई कम्पेल्न गर्नु हुने छ। हामीले सरकारलाई दोष लगाउने छौ।

एक अर्कालाई दोषारोपण गरेर मात्रै उम्कन पाइन्छ र ? उपभोक्ताले त त्यस बापत रकम भुक्तानी गरेका छन् नि हैन र  ?

उपभोक्ता एेन र नेपाल सरकारको एन बाझिएकै कारणले यस्तो समस्या भएको हो। हामीले नदिने भनेको होइन। सरकारले नै देखाउने अनुमति नदिएपछि हामीले जबरजस्ती गर्न पनि मिल्दैन। उपभोक्ताले पनि चाहियो नै भनेर अड्डी कसेर पनि पाइने होइन।

उपभोक्ताले कम च्यानल पाउँदा उनीहरूले तिर्ने रकम पनि त कम होला नि ?

उपभोक्ताले सशुल्क च्यानलको र विज्ञापनको लागि तिरेको हो।विज्ञापन बज्ने सशुल्क च्यानलको लागि पैसा तिरिरहेको हो। अब सरकारले चलान नै बन्देज गरेपछि त्यो  कहीँ गएर कराए पनि पाउने कुरा भएन।

रकम भुक्तानीको हकमा उपभोक्ताले तिर्ने रकमको हकमा घट्ने भन्दा पनि बढ्ने छ। यो त सुरुवातको समयमा पो कम च्यानल आएको हो। त्यसपछि त हामी सबै च्यानल देखाउन सुरु गरी हाल्छौ नि। च्यानल सेवा प्रदायकले च्यानल नै नदिने भनेको त होइन नि। उनीहरूले कोभिडको समय छ। हामीलाई अलिकति समय देऊ भनेको मात्रै हो।उनीहरूले बनाउनै सक्दैनौ भनेको त छैन।

तत्काल चाहिँ उपभोक्ताले हेर्न पाउँदैनन्। एक दुई महिना तयारी गर्न लाग्ला त्यसपछि त आउँछ।

पछि कति शुल्क बढ्ने सम्भावना हुन्छ ?

यति बेला जति रकम उपभोक्ताले तिरिरहेका छन्। त्यसको डबल चाहिँ हुन्छ भन्ने हाम्रो अनुमान छ।यति बेला कसैले चार सय रुपैयाँ भुक्तानी गरिरहेको छ भने पछि आठ सयदेखि साढे आठ सयसम्म पर्न सक्छ।

बढ्नुको कारण चाहिँ के हो ?

उनीहरूले जुन लगानी गरेका छन् डिटिएच पुर्‍याउनको लागि हो। त्यो बापत उनीहरूले रेभिन्यु  उठाउछन्। जसमा विज्ञापन र प्रसारण शुल्कबाट उठाउने हो। त्यसमा पर्ने विज्ञापनको शुल्क त अब आउँदैन। उनीहरूले विज्ञापन दाताबाट विज्ञापन लिँदा नेपालमा पनि देखिन्छ। त्यस बापत पनि उनीहरूले शुल्क उठाउँदै आएका थिए। तर त्यो अब बन्द भयो। मात्रै प्रसारणको मात्रै आउने भयो। त्यो मात्रै आउने भएपछि त उनीहरूले शुल्क बढाइ हाल्छन्। उनीहरूले शुल्क बढाएपछि त्यो शुल्क त उपभोक्ताले नै तिर्ने हो। हामीले उनीहरूबाटै उठाएर दिने भएकोले पनि त्यो रकम बढ्ने भएको हो।

सेवा प्रदायकसँग तपाइहरूको कुरा भएको होला नि, उनीहरूले के भन्दै छन् ?

सेवा प्रदायकहरूले मोलमोलाइ सुरु गरिसकेका छन्। उनीहरूले सेवा त दिन्छौ भनिरहेका छन्। तर मूल्य बढाउनु पर्छ भन्ने प्रस्ताव गरिरहेका छन्। फेरि सम्झौता पनि एकै पटक गर्ने होइन। वर्ष वर्ष दिनमा हुन्छ। वर्षको समाप्ति नजिक पुग्दै गर्दा त्यो सम्झौता हुने हो। त्यो पनि उनीहरूको देशको आर्थिक वर्ष समाप्ति नजिक सम्झौता हुने हो। । त्यो बेला भइसकेको छैन। नेपालमा आर्थिक वर्ष साउनदेखि सुरु भएर असारमा समाप्त हुन्छ। त्यी चिज अमेरिकामा अक्टोबरबाट सुरु भएर सेप्टेम्बरमा सकिन्छ। डिज्नी भन्ने अमेरिकन कम्पनी हो। उसँग हामीले सेप्टेम्बरमा सम्झौता गरिसकेका छौ। अर्को भारतीय च्यानल छ। उसको मार्चबाट सुरु हुन्छ, अप्रिलमा टुङ्गिन्छ। कसैको जुलाईबाट सुरु हुन्छ जुनमा गएर सकिन्छ। त्यही बेलामा क्लिन फिड शुल्क कति हुन्छ, निर्धारण हुन्छ । 

तत्काल नै चाहिँ कति शुल्क बढ्छ ?

भर्खरै क्लिन फिड लागु भएको छ। हामीले तिहार पछि नै २५ प्रतिशत शुल्क चाहिँ बढाउनै पर्छ। अर्को वर्षको सेप्टेम्बरसम्ममा डबलदेखि अलि बढी नै बढ्छ। अहिले नै यति भनेर भन्न सकिने अवस्था छैन। च्यानल नवीकरण गर्दा कति शुल्क लाग्छ त्यसको आधारमा तय हुन्छ। दोब्बर चाहिँ तिर्नै पर्छ। त्यो भन्दा बढी कति लाग्ने भन्ने कुरा त्यी बेला तय होला ।

क्लिन फिड भएपछि नेपाली र विदेशी विज्ञापन पनि त आउला नि ?

त्यो भनेको ग्रे एरिया हो। त्यसमा नेपाली विज्ञापन राख्ने दिने हो भने चाहिँ त्यति बढी पैसा पर्दैन।

त्यो राख्न दिने नदिने भन्ने कुरा पनि त भएको होला नि ?

कहाँ कुरा हुनु ? केही कुरै भएको छैन। यो प्रावधान आउँदा कसैसँग सल्लाह भएकै छैन। सल्लाह गरेर तयारी गरेर भएको भए के हुने नहुने सबै कुरा अहिले नै भन्न सकिन्थ्यो। एेनमा एक लाइन लेखेको भरमा लागु भएको व्यवस्था हो यो। त्यसैले यो राख्न पाउने त्यो राख्न नपाउने भन्ने नै केही छैन।

गठन भएको बोर्डले गर्ला नि त ?

बोर्ड गठन होला । त्यसले गर्ला । उसले गर्ला भनेर अनुमान अहिले गर्ने होइन। अहिले के छ, त्यसमा अघि बढ्ने हो। फेरि नियममा नलेखेको चिज त फेरि सबै इलिगल हो नि नेपालमा । अहिले देखाए पनि के कानुमा टेकेर देखाउने ?  त्यो पनि कानुन बिना देखाउँदा गैर कानुनी नै हुन्छ।

भनेपछि यसले हामीलाई के फाइदा हुन्छ त ?

 के फाइदा के बेफाइदा थाहा छैन। अहिले पनि हामी घाटाकै व्यापार गरेर बसिरहेको स्थिति हो।हामीले अहिले फाइदा बेफाइदा केही हेरेका छैनौ। हाम्रो बिजनेस कसरी जोगाउने भनेर हेरिरहेका छौ।  अब यो बिजनेस गयो। अब नेपालमा केबल र डिटिएचको बिजनेस चाहिँ पक्कै खत्तम हुन्छ।

कसरी खत्तम हुन्छ। त्यसको आधार के हो ?

ग्राहक पनि घट्दो क्रममा छ। किनकि यति बेला इन्टरनेट घर घरमा पुगेको छ। इन्टरनेटमै सबै कन्टेन्टहरू हेर्न पाइन्छ।यु ट्युब भन्यो एप्लिकेशन भन्यो । त्यहीबाट सबै हेर्न पाएपछि मानिसहरूले त्यही बाटै हेरि हाल्ने भए। यसले गर्दा ग्राहक कम भएको हो। जतातिर ग्राहक मोडिएका छन्। त्यता तिर सरकारले ध्यान पुर्‍याएको छैन। उनीहरू बेलगाम हिँडिरहेका छन्। सरकारले उनीहरूलाई नियमन गर्न सक्दा पनि सक्दैन। हाम्रो सरकार भनेको जो खुरु खुरु बाटोमा हिँडेको छ,त्यसैको घाँटी अँठ्याउन तल्लीन छ। उसले यसमा पनि त्यस्तै गरेको हो।

यो बेलामा त मानिसहरू घरमै छन्। यति बेला त केबलका ग्राहक बढ्नु पर्ने होइन र ?

तपाइले गरेको अनुमान ठिकै हो। सबैले यही सोचिरहेका छन्। तर तथ्याङ्क ठिक उल्टो छ। दुई वर्ष अघि देखिनै केबल र डिटिएचका ग्राहक कम हुँदै गएका छन्। यो लकडाउन र निषेधाज्ञाले झन् घटाएको अवस्था छ। यति बेला दुई वर्ष अघिको तुलनामा ६० प्रतिशत पनि छैनन्। सुबिसुकै कुरा  गर्दा धेरै ग्राहक घटेका छन्। मेरोमा घटेर मात्रै भनेको होइन अरूको पनि घटेको छ। त्यसले समग्रमा घटेको भनिएको हो। मानिसहरू बाहिर गएका छन्। उनीहरूले टिभी हेर्न छाडेका छन्। सबैभन्दा धेरै ग्राहक काठमाण्डाैंमा घटेका छन्। 

अर्को चाहिँ मानिसहरू टेलिभिजनबाट इन्टरनेट तर्फ मोडिँदै गएका छन्। गाउँ घरमा समेत मानिसहरू इन्टरनेटमै रमाउन थालेका छन्। त्यसले पनि केबल र डिटिएचका ग्राहक घटेका हुन्। लकडाउनले गर्दा इन्टरनेटको खपत बढेको छ। तर केबल र डीटिएचको घटेको छ। 


comments powered by Disqus

सिद्धार्थ बैंकको लाभांस घोषणा

Dec 04, 2020 09:07 PM

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।