सर्वसाधारणलाई बर्षभरि नै सस्तो र गुणस्तरीय खाद्य बस्तु उपलब्ध गराउने उदेश्यले छिट्टै यो योजना ल्याउन लागेको साल्ट ट्रेडिड. कर्पोरेशनका सिर्जन रेग्मीले बताउनुभयो । सरकारले दसै, तिहार र छठ पर्वलाई लक्षित गर्दै उपत्यकाका विभिन्न ठाउँमा असोज १ गतेदेखि सुपथ मूल्यको पसल संचालन गरिरहेको छ । ब्यवसायीले दैनिक उपभोग्य वस्तुको मूल्यबृद्धि र कृत्रिम अभाव गर्ने प्रवृति रहेकोले त्यसलाई निरुत्साहित गर्न सरकारले वर्षैनि दशैं, तिहार र छठ सम्मका लागि सहुलियत पसल संचालन गर्दै आएको छ । यस्ता पसलमा दैनिक उपभोग्य बस्तु चामल, दाल, तेल लगायतका सामाग्री बिक्री वितरण हुने गरेका छन् ।
साल्ट ट्रेडिड. कर्पोरेशनले तिहारसम्ममा ६ ठाउँमा गरी झण्डै डेढ करोड बराबरको कारोबार गरेको बताएको छ । सुपथ मूल्य पसलमा विगतको वर्षमा भन्दा यस वर्ष कारोबार बढेको जनाईएको छ । यस्ता पसलहरुमा ५ रुपैयाँ देखि २५ रुपैयाँ सम्म छुटको व्यवस्था गरिएको छ । उपत्यकाका मुख्य मुख्य ठाउँमा यस्ता पसल सधै भरिका लागि संचालन गर्नुपर्ने सर्वसाधारणको माग आएकाले त्यसमाथि विचार भईरहेको कर्पोरेशनले जनाएको छ ।
नेशनल ट्रेडिङ्ग लिमिटेडले पनि सर्वसाधारणलाई सस्तो र गुणस्तर खाद्य बस्तुमा २० देखि ७० प्रतिशत सम्म छुटको व्यवस्था गरेपछि विगतको वर्षमा भन्दा यसवर्ष सर्वसाधारणको घुइचो लागेको देखिएको छ । हालसम्ममा लिमिटेडले २३ लाख बराबरको कारोबार गरेको छ । यहाँ पाउने सामान बाहिर २ देखि ३ सय सम्म महगों हुदा पनि सरकारले वेवास्ता गर्दा सर्वसाधारण मारमा परेको कर्मचारी स्वयमले स्वीकार गरेका छन् । “हामीले २ हजार १ सयमा बचेको हुलास वास्मति चामल बाहिर २ हजार ३ रुपैयाँमा विक्रि वितरण भईरहेको छ यस तर्फ सरकारले कुनै चासो नदिदा सर्वसाधारण मर्कामा परिरहेका छन्” कर्मचारी भन्छन् ।
यस्तै दुग्ध विकास संस्थाले पनि विगतको वर्षमा भन्दा यस वर्ष कारोबार बढेको बताएको छ । सूपथ मूल्य पसलमा यसपटक १८ लाख रुपैयाँ बराबरको कारोबार भएको संस्थानले जनाएको छ ।
सुपथ मूल्य पसलमा जुम्लाको अर्गानिक स्याउ, आलु र दाल पनि राखिएको छ । यी पसलहरु कात्तिक १५ गते सम्म संचालन हुनेछन् ।
सुपथ मूल्यको सामान ब्यापारीको गोदाममा
नेपाल खाद्य संस्थानले सुपथ मूल्य पसलमा विक्रिमा राखेको जापानिज चामल सर्वसाधारणको आबरणमा ब्यापारीले आफ्नो गोदाममा जम्मा गरेको कर्मचारीको भनाई छ । सहुलियत पसलबाट एक ब्यक्तिले चामल एक बोरा मात्र लैजान पाउने भए पनि व्यापारीले स–साना बालबालिकाको प्रयोग गरी धेरै बोरा चामल लगेको उनीहरुको भनाई छ ।