नेपाल लाइफको अग्रता कायमै, नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनी कुन कस्तो ?

Nov 20, 2020 09:26 AM Merolagani



चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफले आफ्नो अग्रता कायमै राखेको छ । जीवन बीमा क्षेत्रमा क्रियाशील र शेयर बजारमा सूचीकृत मध्ये नेपाल लाइफ धेरै अगाडि छ भने अन्य कम्पनीहरुले पछ्याउँदै आइरहेका छन् ।

आफ्नो व्यवसायको आकारलाई निरन्तर विस्तार गर्दै नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भएको हो ।

चुक्ता पूँजी सबैभन्दा धेरै ५ अर्ब ४९ करोड रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको मुख्य श्रोत खुद बीमा शुल्क आर्जन, नाफा, जीवन बीमा कोष, जगेडा कोष लगायतको सूचक अग्रस्थानमा छ ।

अधिकाँस सूचकमा नेपाल लाइफले लिड गर्दा रिलायन्स लाइफ भने पछाडि परेकाे छ । अन्य कम्पनीहरुको तुलनामा रिलायन्स लाइफ इन्स्योरेन्स नयाँ भएकोले कमजोर देखिएको हो ।

गत भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपिओ बिक्री गरेको रिलायन्स लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा खुद बीमाशूल्क ९१.९८ प्रतिशतले बढाएको छ । आईपीओ निष्काशन पछि रिलायन्सको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

नेपाल लाइफ पछि नेशनल लाइफको चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँ छ । यस्तै प्राइम, सुर्या, रिलायन्स लाइफ, एशियन लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले न्यूनतम २ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पूँजी पुर्याएका छन् ।

यस्तै गुराँस लाइफ इन्स्योरेन्को चुक्ता पूँजी भने सबै भन्दा कम एक अर्ब ९७ करोड रुपैयाँ छ ।

खुद बीमा शुल्क साढे २१ अर्ब माथि, नेपाल लाइफको मात्रै ४१.४२ प्रतिशत योगदान

नेप्सेमा सूचीकृत ८ जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कूल २१ अर्ब ५४ करोड ८० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । त्यसमा नेपाल लाइफले मात्रै ८ अर्ब ९२ करोड ५१ लाख रुपैयाँ अर्थात ४१.४२ प्रतिशत योगदान छ ।

यस्तै एलआइसी नेपालले ५ अर्ब ३ करोड रुपैयाँ, नेशनल लाइफले २ अर्ब ८० करोड, एशियन लाइफले १ अर्ब ४५ करोड, प्राइम लाइफले १ अर्ब ६ करोड र सूर्या लाइफ ८३ करोड, गुराँस लाइफले ९६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । सबै भन्दा कम रिलायन्स लाइफले ४६ करोड रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको छ ।

आठ कम्पनीको खुद नाफा ७९ करोड ४५ लाख 

नेप्सेमा सूचीकृत आठ जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जसमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा पनि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले यस अवधिमा २२ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

त्यस पछि प्राइम लाइफ इन्स्योरेन्सले १२ करोड ७ लाख, नेशनल लाइफले ११ करोड ८३ लाख, सुर्या लाइफले १० करोड १६ लाख, एशियन लाइफले ९ करोड ७ लाख, एलआइसी नेपालले ५ करोड ७९ लाख, गुराँस लाइफले ४ करोड २७ लाख रुपैयाँ र सबै भन्दा कम रिलायन्स लाइफले ३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

जगेडा र जीवन बीमा कोष पनि नेपाल लाइफ बलियो

जगेडा र जीवन बीमा कोषमा पनि नेपाल लाइफको सबैभन्दा धेरै रकम सञ्चित छ । नेपाल लाइफको जगेडा कोषमा ३ अर्ब ६६ करोड र जीवन बीमा कोषमा ९४ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ ।

यस्तै नेशनल लाइफको जीवन बीमा कोषमा ३५ अर्ब ९४ लाख रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब १४ करोड रुपैयाँ सञ्चित छ ।

सबै भन्दा कम भर्खरै आईपीओ निष्काशन गरेर नेप्सेमा सूचीकृत भएको रिलायन्स लाइफको रहेको छ । रिलायन्स लाइफको जगेडा कोषमा १७ करोड ३० लाख र जीवन बीमा कोषमा एक अर्ब ३९ करोड रुपैयाँ सञ्चित छ ।

प्रतिशेयर आम्दानीमा प्राइम र नेटवर्थमा नेपाल लाइफ अगाडि

प्रतिशेयर आम्दानीमा प्राइम लाइफ इन्स्योरेन्स अघि देखिएको छ भने नेटवर्थका आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा छ । प्राइम लाइफ इन्स्योन्स प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३६ पैसा र प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ३६ पैसा कायम छ ।

यस्तै सूर्या लाइफको प्रति शेयर आम्दानी १८ रुपैयाँ ८४ पैसा, एशियन लाइफको १८ रुपैयाँ ६८ पैसा, नेपाल लाइफको १६ रुपैयाँ ६४ पैसा, नेशनल लाइफको १५ रुपैयाँ ३२ पैसा, एलआईसी नेपालको ११ रुपैयाँ ५२ पैसा, गुराँस लाइफको ९ रुपैयाँ ०८ पैसा रहेको छ । यस्तै सबै भन्दा कम प्रतिशेयर आम्दानी रिलायन्स लाइफको ५ रुपैयाँ ७२ पैसा रहेको छ ।

नेटवर्थ आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स अघि देखिन्छ । नेपाल लाइफको प्रतिशेयर नेटवर्थ सबै भन्दा धेरै १७७ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै प्राइम लाइफको १४६ रुपैयाँ ३६ पैसा, नेशनल लाइफको १४५ रुपैयाँ ८६ पैसा, एलआइसी नेपालको १४० रुपैयाँ ४३ पैसा, एशियन लाइफ १३४ रुपैयाँ ९३ पैसा, गुराँस लाइफको १३२ रुपैयाँ ८२ पैसा, सुर्या लाइफको १३२ रुपैयाँ ७८ पैसा रहेको छ ।

यस्तै सबै भन्दा कम रिलायन्स लाइफको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ १५ पैसा रहेको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।