गच्छे अनुसारकाे राहत ल्याउने प्रधानमन्त्रीकाे संकेत,नव उदारवाद र दलाल पूँजीवादकाे नाममा सरकार र निजी क्षेत्र वीच फाटाे ल्याउन खाेजियाे

Nov 26, 2020 02:50 PM Merolagani



सरकारले कोभिडले पारेको असरलाई मध्यनजर गर्दै क्षमता अनुसार स्टमुलस प्याकेज ल्याउने सङ्केत गरेको छ। बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारण सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्टुमुलस प्याकेजको सङ्केत गरेका हुन् ।

प्रधानमन्त्रीले कोभिडले उद्याेग व्यवसायमा परेको असरलाई सरकारले गम्भीरता पूर्वक हेरिरहेको बताए। अन्य देशले आर्थिक पुनरउत्थानको लागि थुप्रै कार्यक्रम लिएर आएको तर नेपाल सरकारले केही दिएन भनेर गुनासो गरेको पनि आफूले सुनेको बताएका प्रधानमन्त्रीले अब चाँडै सरकारले आफ्नो क्षमता र गच्छे अनुसार राहत उपलब्ध गराउने प्रतिबद्धता जनाए।सरकारले दिने सहयोग पर्याप्त नहुने भएपनि सरकारको क्षमता अनुसार हुने भएको बताउँदै उनले साे प्याकेजमा गुनासो नगर्न आग्रह गरे ।

कार्यक्रममा उनले नेपालको उत्पादकत्व र उत्पादन बढाउन व्यवसायीलाई आग्रह गरेका छन्। अन्य मुलुकहरूको आर्थिक बृद्धिदर नकारात्मक हुने प्रक्षेपण भइरहँदा हाम्रो मुलुकको आर्थिक वृद्धिदर शून्यमै झरे पनि नकारात्मक तर्फ नजाने भएकोले त्यसलाई उपलब्धिको रुपमा लिनु पर्ने उनको भनाइ थियो।

नेपालको व्यवसायिक क्षेत्रमा दलाल पूँजीबाद र नव उदारवादको विशेषण झुन्ड्याएर सरकार र निजी क्षेत्रमा फाटो ल्याउन खोजिएको भन्दै उनले गुनासो गरेका छन्। सरकारकालागि निजी क्षेत्र आफ्नो सम्पत्तिको रुपमा रहने र उसको विकासको लागि सधैँ तयार रहने उनको भनाइ थियो। सरकारकालागि कुनै पनि व्यवसायी आफ्नो र अर्को पक्षको नहुने,सबै व्यवसाय र व्यवसायी साझा हुने उनको भनाइ थियो।

प्रधानमन्त्रीले मुलुक भित्रै पूँजी परिचालन गरेर राेजगारी सिर्जना गर्न व्यवसायीलाइ प्रोत्साहित गरे । तर,नेपालबाट पूँजी बाहिर लैजाने विषयमा भने कडाइ गरिने उनले बताए।"स्वेदेशी पूँजी बाहिर लैजाने विषय सुल्टो नभएर उल्टो बाटो हाे। स्वदेशी लगानी स्वदेशमै रहने विषयमा सरकार सकारात्मक रहे पनि स्वदेशी पूँजी बाहिर लैजाने विषयमा भने सरकार सहयोगी हुँदैन"प्रधानमन्त्रीले भने ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा बिहीबारदेखि शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट स्वीच अन गर्दै औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली,अतिथिहरूमा उद्योग मन्त्री लेखराज भट्ट ,उद्योग राज्यमन्त्री मोतीलाल दुगड,संघ संस्थाका प्रतिनिधि र विभिन्न देशका राजदुतावसका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वर्तमान अध्यक्ष भवानी राणाले विदेशबाट स्वदेश फर्किरहेका करिब १० लाख नेपालीलाइ  मुलुकमा रोजगारी सिर्जना गर्नु पर्ने बताउँदै त्यसका लागि सरकार र निजी क्षेत्रको सहयोगी भएर अघि बढ्नु पर्ने धारणा राखिन।

यसैगरी अब हुने अध्यक्ष शेखर गोल्छाले आगामी दिनमा कोभिड संग लड्न रणनीतिहरू तयार पारिरहेकोले त्यसमा सरकारको साथका लागि प्रधानमन्त्रीलाई आग्रह गरे। उनले कोभिडबाट अर्थतन्त्र उकास्न राहत प्याकेजको आवश्यकतामा जोड दिएका थिए। पुनरकर्जाको कोष बढाएर दुई खर्व पुर्‍याउनु पर्ने र मौद्रिक नीतिले दिएको सुबिधा कार्यान्वयनमा ल्याउन उनले प्रधानमन्त्रीलाई घचघच्याएका थिए।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।