निजी ल्याबमा परीक्षण गरेकाकाे काेराेना बीमा भुक्तानीमा ढिलाई,इपिडिमियोलोजी महाशाखामा फाइल थन्कियाे

Jan 05, 2021 11:46 AM Merolagani



अरूण पाख्रेन

निजी ल्याबमा काेभिड परीक्षण गराएकाहरूकाे काेराेना बीमा दावी भुक्तानीमा समय लागिरहेकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कोरोना बीमा दाबीका फाइलहरु अड्किँदा दाबी भुक्तानीमा ढिलाई भइरहेको हाे ।

बीमा समितिको तथ्याङ्क अनुसार अझै महाशाखामा ७ हजार २५४ वटा दाबीका कागजपत्रहरु पेन्डिङ्ग छन् । बीमा समिति स्रोतका अनुसार, महाशाखाको काममा सुस्तता छाउँदा भुक्तानीमा ढिलाई भएको हो । 

निजी ल्याबका दाबीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले क्रश भेरिफिकेशन गर्नुपर्ने नियम बनाइएकाे छ। अहिले पेन्डिङ्ग भएका फाइल पनि क्रश भेरिफिकेशनकै लागि महाशाखा पुगेका हुन् । 

याे बाहेक, पुल मार्फत २३ वटा दाबीका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पठाउन तयार रहेको बीमक संघले जनाएको छ ।

कोरोना बीमा मापदण्ड अनुसार सरकारी ल्यावमा परीक्षण गरेकाहरूकाे रिपाेर्ट महाशाखाले भेरिफिकेशन गर्नु नपर्ने हुँदा भुक्तानी सहज हुने गरेकाे छ । 

यता, नेपाल बीमक संघले भने प्रकृया पुगेका सबै दाबीको भुक्तानी गर्दै आएको दाबी गरेकाे छ। संघका महासचिव चंकी क्षेत्रीले दाबी भुक्तानीलाई द्रूत गतिमा अगाडि बढाएको बताए। उनले भने, ‘हामीले अहिले कोरोना बीमाको दाबी भुक्तानीलाई तीब्र गतिमा अघि बढाईरहेका छौं । प्रकृया पुगेर आएका सबै दाबीको भुक्तानी हुन थालेको छ ।’ 

कोरोना बीमाको दाबी भुक्तानी प्रकृया द्रूत गतिमा भएकाे बिमक संघले दाबी गरेपनि बीमितले  भने भुक्तानी पाउन सकिरहेका छैनन् । 

बीमा समितिको तथ्याङ्क अनुसार, साेमबारसम्ममा २० हजार ७७५ दाबी वापत २ अर्ब २ करोड रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ। यस्तै ४१ हजार १४७ वटाले दाबीका लागि आवश्यक कागजपत्रहरु पेश गरेका छन् । 

दाबीका लागि आवश्यक कागजपत्र पुरा नभएपछि २ हजार ५१२ दाबीका आवेदनहरु कम्पनीमै फिर्ता भएका छन् । यसैगरी ६ हजार ७४५ वटा दाबीका आबेदनहरु भेरिफिकेशनको प्रकृयामा छन् । 

दाबी गर्ने प्रकृया

कोरोना बीमा मापदण्ड अनुसार, कोरोना संक्रमण पुष्टि भएको र कोरोना बीमा मापदण्डको सबै प्रकृया पुरा गरेको ७ दिन भित्र बीकमलाई लिखित सूचना दिनुपर्दछ । 

त्यसपछि बीमित हस्पिटलबाट डिस्चार्ज भएको वा पीसीआर रिपोर्ट नेगेटिभ आएको १५ दिन भित्र पूर्ण रूपमा भरिएको दाबी फाराम, कोरोना संक्रमण पुष्टि भएको र नेगेटिभ आएको रिर्पोट, होम आइसोलेसनमा बसेको भए स्थानीय तहको सिफारिस, अस्पताल भर्ना भएको भए डिस्चार्ज भएको कागजपत्र पेश गर्नुपर्दछ । 

सबै प्रकृया पुरा भएपछि सम्बन्धित बीमा कम्पनीहरुले दाबी भुक्तानीका लागि तपाईले पेश गरेको कागजपत्रहरु अध्ययन गर्दछन्। त्यसपछि दाबी बराबरको रकम  पुल मार्फत भुक्तानी गर्दछन् । 

बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले बैशाख ७ गतेदेखि कोरोना बीमालेख बिक्री सुरु गरेका थिए। निर्जीवन बीमा कम्पनीहरुले ५० हजार र एक लाख रुपैयाँ बीमांकका दुई बीमालेख बिक्री गर्दै आइरहेका छन् । 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।