टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याउन अनुमति

Jan 10, 2021 12:30 PM merolagani

नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत आयातका लागि अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरण (सिईए)ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो । विद्युत प्राधिकरणले टनकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो ।


सिईएले अनुमति दिएसँगै अब आवश्यक परेको बेला टनकपुरबार ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने नेपाल विद्युत प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । प्राधिकरणले टनकपुरबाट खरिद गर्ने विद्युतकाे प्रतियुनिट मूल्य ४.१४ भारतीय रुपैयाँ (६.६२ नेपाली रुपैयाँ) छ ।नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट विद्युत निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ ।

‘टनकपुरमा अहिले १०० एमभीएको ट्रन्सफर्मर भए पनि  उताबाट अनुमति नपाउँदा ७० मेगावाटभन्दा बढी ल्याउन पाइरहेका थिएनौं, भारतीय अधिकारीहरुसँगको निरन्तरको छलफलपछि जनवरी—मार्च र जुलाई—डिसेम्बरमा  आयात क्षमता बढाएर ८५ मेगावाटसम्म ल्याउन पाउने अनुमति पाएका छौं,शाक्यले भने । ‘प्रसारण लाइनको क्षमताले नधान्दा पूर्वबाट पश्चिमतर्फ विद्युत पठाउन सकिरहेका थिएनौ, टनकपुरबाट थप विद्युत् ल्याउन पाएपछि अब पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने छ भने बिहारबाट महंगोमा आयात भइरहेको विद्युत्लाई कम गर्न सकिने छ ।’

प्राधिकरणले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत आयात गरेको विद्युत्लाई प्रसारण लाइनको क्षमता अभावका कारण रौतहटको चपुरबाट पश्चिम पठाउन समस्या भोगिरहेको थियो । टनकपुरबाट थप आयात गर्न सकिने भएपछि पश्चिम पठाएको विद्युत्लाई काठमाडौं उपत्यका र पूर्वतर्फ आपूर्तिका लागि पठाउन सकिने शाक्यले बताउनुभयो । यसबाट मुलककै समग्र विद्युत् आपूर्तिमा सुधार हुने उनले उल्लेख गरे ।

केही दिनअघि ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मरको क्षमता विस्तार गरेसँगै त्यहाँबाट थप १०० मेगावाटसम्म विद्युत आयात गर्न सकिने छ । यसबाट यस वर्षको जाडोमा हुने विद्युत्को माग धान्न पर्याप्त विद्युत् हुने छ । प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत निगम लिमिटेड(एनभीभीएन)बीच ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । पीपीएको म्याद ३० जुन २०२१सम्म रहेको छ । खरिद गरिने विद्युत्को प्रतियुनिट मूल्य ४.१८ भारु (६.६९ नेरु) छ ।

विद्युत आपूर्ति सुधार गर्न निर्देशन

प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यले लुम्बिनी प्रदेशको विद्युत् आपूर्ति तथा सेवा प्रवाहमा सुधार गर्न, चोरी नियन्त्रणमा आक्रामक हुन, विद्युतीकरणमा जोड दिन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । शाक्यले बुधबार, बिहीबार र शुक्रबार लुम्बिनी प्रादेशिक कार्यालय, बुटबल ग्रिड कार्यालय, औद्योगिक क्षेत्र, निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गर्नु भएको थियो ।

भैरहवा क्षेत्रका उद्योगीहरुले विद्युतकाे गुणस्तरीयता र पर्याप्त विद्युत् आपूर्ति नपाएको गुनासो बारम्बार गरिरहेको उल्लेख गर्दै उनले पर्याप्त र भरपर्दो विद्युत आपूर्ति हुने गरी नयाँ संरचना बनाउन, भइरहेको संरचनाको नियमित मर्मतसम्भार गर्न र चालू योजनालाई जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिए। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।