शेयर कारोबार अनलाईन मार्फत हुन थालेसँगै अटोईडिआईएस हुनुपर्ने आवाज उठ्न थालेको हो । अनलाईन मार्फत कारोबारमा लगानीकर्ताहरु अझै राम्रोसँग अभ्यस्त नभएको कारणले गर्दा आफूसँग भएको शेयर बिक्री गर्ने र इडिआईएस गर्न नसक्दा क्लोज आउटको समस्या बढ्दो क्रममा रहेको छ ।
केन्द्रिय निक्षेप प्रणाली (सिडिएससि)का अनुसार चालु आर्थिक वर्षमा कारोबार रमको तुलनामा क्लोज आउट केही कम देखिए पनि निमिट्यान्न भने भएको छैन। तर बजारमा क्लोजआउटमा पर्नेहरुको संख्या भने अझै न्यून नभएको सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेले बताए।
जबकि यति बेला शेयर बजारमा अनलाइन कारोबार गर्दा डिपि होल्डिङ्ग चेक गराएर मात्रै कारोबार गर्नुपर्ने व्यवस्था रहेको छ । यदि शेयर बिक्रीकर्ताको डिम्याट खातामा शेयर छैन भने कारोबार गर्न सकिन्न ।
यसरी ब्रोकरले शेयर बिक्रीकर्ताको डिपि चेक गरेर कारोबार गराइराख्दा पनि निरन्तर क्लोज आउटको समस्या विकराल रुपलिएको हो । शेयर बिक्री गर्दा लगानीकर्ताको खातामा शेयर हुन्छ । तर बिक्रीकर्ताहरुले समयमा ईडिआएस नगरेका कारण क्लोज आउटमा पर्ने गरेकाे प्रवक्ता न्यौपानेले बताए ।
अनिवार्य रुपमा अनलाईन मार्फत कारोबार गर्ने व्यवस्था गरेसँगै ब्रोकर कम्पनीले शेयर बिक्रीकर्ताको डिपि चेक नगरी शेयर बिक्री अर्डर राख्न नपाउने व्यवस्था गरेको थियो । तर ट्रेडिङ सिस्टम म्यानेजमेट (टिएमएस)मा समय–समयमा समस्या हुँदा उक्त डिपि चेक हुन नसकेको ब्रोकर कम्पनीहरुको भनाई छ ।
पछिल्लो समय शेयर बजारले निरन्तर नयाँ उचाई कायम गरिरहदा बिक्री गरिसकेको शेयर पनि इडिआईएस नगरी जानाजान लगानीकर्ताहरु क्लोज आउटमा पर्ने जस्तो विकृति बढेको हुँदा यसलाई न्यूनीकरण गर्नका लागि अटो इडिआईएसको व्यवस्था गर्नुपर्नेमा नेपाल स्टक ब्रोकर एशोसिएसनका निवर्तमान अध्यक्ष तथा कोहिनुर इभेष्टमेट एण्ड सेक्युरीटिजका कार्यकारी अध्यक्ष भरत रानाभाटको जोड छ ।
नियमित शेयर मूल्य बढ्दा लगानीकर्ताले बिक्री गरेको शेयर आफूसँग हुँदा हुदै शेयर नदिने विकृतिको अन्त्य हुनुका साथै क्लोज आउटको समस्या पनि समाधान हुने रानाभाटले बताए ।
रानाभाटका अनुसार सेटलमेन्टको समय तीन दिनको हुँदा धेरै लगानीकर्ता क्लोज आउटमा पर्थे भने अब माघ ११ देखि राफसाफको समय दुई दिनमा झर्दै छ । यसले थप क्लोज आउट बढाउने उनको अनुमान रहेको छ । शेयर बिक्री गर्ने बित्तिकै डिआएस अटोमेटिक भयो भने लगानीकर्तालाई दोहोरो झन्झट नहुने र क्लोज आउटको समस्या पनि नरहने रानाभाटको भनाई छ ।
रानाभाटले क्लोज आउट बढ्ने अनुमान गरिरहँदा आम लगानीकर्ताले भने शेयर बजारमा अब अटोमेटेड इडिआइएस हुनुपर्ने आवाज उठाउन थालेका छन् ।अहिलेको बढ्दो बजारमा दिन प्रतिदिन क्लोज आउटमा पर्ने समस्या विकराल रुपमा बढेसँगै लगानीकर्ताले यो विषय उठाउन थालेका हुन् । लगानीकर्ताहरुले भने ईडिआईएस प्रणालीले लगानीकर्तालाई पासो पार्ने काम मात्र गरेको आरोप लगाएका छन् ।
अनलाईन कारोबार गर्दा शेयर बिक्रीकर्ताको डिपि चेक गरे मात्र शेयर कारोबार गर्ने व्यवस्था भएको हुदाँ अहिलेको इडिआईएस प्रणाली हटाउनुपर्ने नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताईन् ।
यो ईडिआईएस गर्नुपर्ने व्यवस्थाले साना तथा नव प्रवेशी लगानीकर्ताले नजानेर र बजारमा पोख्त लगानीकर्ताले भने नियतबस इडिआईएस नगरेर क्लोज आउटमा पर्ने समस्या हट्ने र त्यस्ता लगानीकर्ताहरुको संख्या पनि अन्त्य हुनेछ पोखरेलले भनिन ।
तर टिएमएसले डिपिमा हुदै नभएको र बिक्री गरिसकेको शेयर पनि देखाउने भएको हुदाँ पनि क्लोज आउटमा पर्नेहरुको संख्यामा बढोत्तरी हुने गरेको उनको भनाई छ । ईडिआईएस गरेको दोस्रो दिनसम्म पनि डिपिमा सम्बन्धित कम्पनीको शेयर देखाउने हुँदा पून लगानीकर्ताले सोही शेयर बिक्री गर्दा पनि उनीहरु क्लोज आउटमा पर्ने गरेको पोखरेलले बताईन् ।
अटोमेटेड ईडिआईएस गर्ने व्यवस्था गर्नका लागि नीतिगत रुपमा नै परिमार्जन गर्नुपर्ने सिडिएससिका प्रवक्ता न्यौपानेले जानकारी दिए । शेयर कारोबार भए अनुरूपको लागत औसत गणना (पूँजीगत लाभकर) गरी लगानीकर्ता स्वयमले नै इडिआईएस गर्नुपर्ने व्यवस्था भएकाले गर्दा तत्काल अटोमेटेड इडिआईएस लागु गर्न सम्भव नहुने न्यौपानेको भनाई छ ।
इडिआईएकै कारणले क्लोज आउटमा पर्ने संख्या बढेको भन्ने पछिल्लो समय बजारमा चलेको हल्लालाई अस्वीकार गर्दै न्यौपानेले भने, 'अहिले अनलाईन माध्यम मार्फत शेयर करोबार गरेर प्रविधिले घरमा बसीबसी इडिआईएस गर्न सक्ने सुविधा रहेको र इडिआईएस गर्ने अप्सनको कारण नै क्लोज आउटको समस्या छैन ।'
'पूँजीगत लाभकर लगानीकर्ता स्वयंमले डिपिआई नगरेसम्म लिन सकिदैन । त्यस्तो कुरा नीतिगत रुपमा नै परिवर्तन नगरेसम्म त्यस्तो व्यवस्था गर्न सकिदैन् । यसका लागि कानून नै परिमर्जन गर्न आवश्यक छ', न्यौपानेले भने ।
समयसँगै लगानीकर्ताको भनाई अनुसार सुविधामा केही परिवर्तन नै गर्नैपरे पनि त्यसबाट सरोकारवाला निकायहरु पछि हट्न नहुने रानाभाटको भनाई छ । अझै पनि सबै शेयर डिम्याट नभएको खण्डमा अटो इडिआईएस गर्न मुस्किल पर्ने भएतापनि अनलाईन मार्फत गरिने कारोबारको अटो ईडिआईएस गर्ने व्यवस्था गर्नुपर्ने रानाभाटको जोड रहेको छ ।
अहिलेको अवस्थामा सबै शेयर डिम्याट भईसकेको अवस्थामा सम्बन्धित निकायहरुले शेयरधनीहरुको पर्चेज स्रोतहरु उपलब्ध गराउनका लागि सीमित समय दिएर भारित औसत गणना गर्नुपर्ने रानाभाटको भनाई छ ।
अहिले शेयर कारोबार भएको रकम अनलाईन माध्यम मार्फत नै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । जुन ग्राहकको बैंक खाता भन्दा अन्य खातामा जाने सम्भावना छैन् । त्यसैले गर्दा पनि अटोमेटेड इडिआईएस गर्नुपर्नेमा रानाभाटले जोड दिए ।