दुई दर्जन बढी कम्पनीले अझै लाभांश घोषणा गरेनन्, लघुवित्त र विकास बैंकहरूले ढिला गर्दै

Jan 20, 2021 07:49 AM Merolagani

आर्थिक वर्ष सकिएको ६ महिना बितिसकेको छ तर, शेयर बजारमा सूचीकृत २ दर्जन बढी कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छैनन्।

हालसम्म शेयर बजारमा सूचीकृत भएकामध्ये २६ लघुवित्त, ९ विकास बैंक, ९ हाइड्रोपावर, २६ वाणिज्य बैंक, दुई निर्जीवन बीमा कम्पनी, ८ फाइनान्स कम्पनी, होटल र अन्य समुहका १, १ उत्पादनमुलक समूहका ५ कम्पनी गरी ७६ वटा कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरिसकेका छन्।

सूचीकृत कम्पनीहरुमध्ये अझै तीन दर्जन भन्दा बढी कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश घोषणा गर्न बाँकी छ।

हाल दोस्रो बजारमा कारोबार भइरहेका ४० वटा लघुवित्त कम्पनीहरुमध्ये २६ वटाले मात्रै लाभांश प्रस्ताव गरेका छन्। उनीहरुमध्ये नै १४ वटाले लाभांश घोषणा गर्न बाँकी छ। त्यस्तै, १० लघुवित्तको भने मर्जरको कारण कारोबार रोक्का रहेको छ।

गत वर्ष लाभांश वितरण गरेकामध्ये आरम्भ चौतारी लघुवित्त, डिप्रोक्स लघुवित्त, गुँरास लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, किसान माइक्रोफाइनान्स, महिला सहयात्रा लघुवित्त, महुलि सामुदायिक लघुवित्त, मिथिला लघुवित्त, नाडेप लघुवित्त, नागवेली लघुवित्त, नेपाल सेवा लघुवित्त, सबैको लघुवित्त, सामूदायीक लघुवित्त, समिट लघुवित्त, सपोर्ट लघुवित्त, सुर्योदय लघुवित्त, स्वदेशी लघुवित्त र उन्नति लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छैनन्। 

त्यस्तै, सूचीकृत रहेका तीन होटल कम्पनीहरुमा तारागाँउ रिजेन्सी होटलले मात्रै लाभांश वितरण गर्ने घोषणा गरेको छ। बाँकी दुई सोल्टी होटल र ओरियन्टल होटलले भने लाभांश घोषणा गरेका छैनन्। त्यस्तै, सूचीकृत ३७ वटा हाइड्रोपावरमा ९ वटाले मात्रै लाभांश प्रस्ताव गरेका छन्।

सोह्रवटा विकास बैंकमा ९ वटा बैंकले मात्रै लाभांश प्रप्ताव गरेका छन्। गत आर्थिक वर्षमा शेयरधनीहरुलाई लाभांश वितरण गरेका सप्तकोशी विकास बैंक, महालक्ष्मी विकास बैंक, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंकले यस वर्ष लाभांश घोषणा गरेका छैनन्।
त्यस्तै, फाइनान्स कम्पनीहरुमा पनि रिलायन्स फाइनान्स, युनाइटेड फाइनान्स, जानकी फाइनान्सले लाभांश प्रस्ताव गरेका छैनन्।

यस वर्ष कोरानाको असरका कारण पनि सूचीकृत कम्पनीहरुको लाभांश घोषणामा केही ढिलाई हुँदै आएको छ। यता वाणिज्य बैंकहरुमा भने २७ वटै बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्।

  • लाभांश घोषणा गर्ने कम्पनीहरु

यस वर्ष ९ वटा विकास बैंकले औषतमा १०.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्। हालसम्म लाभांश घोषणा गर्ने विकास बैंकहरुमा मितेरी डेभलपमेन्ट बैंक सबैभन्दा धेरै लाभांश वितरण गर्ने कम्पनीको रुपमा देखिएको छ। उसले बोनस र नगद गरी १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

 

यसैगरी माइक्राेफाइनान्स कम्पनीहरुमा सबैभन्दा बढी फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण गर्ने भएको छ। उसले ३१ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने घोषणा गरेको छ।

हालसम्म लाभांश घोषणा गरेका माइक्रोफाइनान्सहरुको तथ्याङ्क हेर्दा उनीहरुले औषतमा १९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्। सिभिल लघुवित्तले भने यस वर्ष सबैभन्दा थोरै ३ प्रतिशत मात्रै लाभांश दिने भएको छ।

 

त्यस्तै, हाइड्रोपावर कम्पनीहरुमा हालसम्म बुटवल पावरले सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरेको छ। उसले गत आर्थिक वर्षको कमाइबाट २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

हालसम्म लाभांश घोषणा गरेको ११ हाइड्रोपावरको औषत लाभांश ९.७४ प्रतिशत रहेको छ।

फाइनान्स कम्पनीहरुमा मञ्जुश्री फाइनान्सको लाभांश दर यस वर्ष सबैभन्दा बढी रहेको छ। यस वर्ष उसले शेयरधनीहरुलाई २३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो फाइनान्स कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो।

हालसम्म लाभांश घोषणा गरेका फाइनान्स कम्पनीहरुको औषत लाभांश १२.७४ प्रतिशत छ।

comments powered by Disqus