माघ १९ देखि १ महिनाभरी 'आयोडिन मन्थ'का रुपमा मनाइने

Feb 01, 2021 01:58 PM Merolagani



सरकारले आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा माघ १९ गतेदेखी १ महिनाभरी 'आयोडिन मन्थ'का रुपमा मनाउने भएको छ । सरकारले आयोडिनयूक्त नूनको प्रवर्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्य अनरुप २०२१ फेबुअरी महिनालाई आयोडिन मन्थका रूपमा घाेषणा गरिएकाे हाे ।

यूनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थ घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गर्दै आएको छ ।

यस वर्ष काेभिड १९ का कारण आयोजना गरिने कार्यक्रमहरुमा कर्पोरेशनले नेपाल सरकारको जनस्वास्थ्यसंग सम्बन्धित निकायहरुका साथै विद्यालय, समुदाय एवं गैर सरकारी संघसंस्था,स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्था संग समन्वय गरी भौतिक दुरी कायम गरी कार्यक्रम संचालन गर्ने भएकाे छ ।

आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, बिद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतना मूलक सामग्री बितरण, प्रर्दशनी कक्ष(स्टल) राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशनले जनाएको छ ।

आज देखी शुरु हुने आयोडिन मन्थमा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टी®सर्ट, पम्पलेट, तथा फेस मास्क जस्ता सामग्री बितरण गर्न बिभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाईने र उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम संचालन गर्ने जनाइएकाे छ ।

आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये भिजिबल गाेइटर सन् १९८५/८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन । नेपाल सरकारले दिएको निर्देशन अनुसार यस कर्पोरेशनले आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सह शताब्दी विकास लक्ष्य अनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएसएस सर्वे अनुसार ९१ प्रतिशत घर परिवारले उपयूक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ भने सन २०१६ मा नेपाल सरकारले गरेको एनडिएचएस सर्वे अनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका वालवालिकाले उपयूक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ । 

 




comments powered by Disqus