निक्षेपकाे रकम समेत झिकेर शेयर बजारमा लगानी, तरलताकाे अभाव नभएसम्म बजार धेरै ओरालो नलाग्ने

Jun 17, 2021 06:18 PM Merolagani



कोरोना भाइरसको संक्रमणले गर्दा अरु क्षेत्रमा लगानीका अवसर नभएका कारण शेयर बजारमा लगानी ओइरिन पुगेको छ । कोरोना भाइरसको दोस्रो लहरले ठूला उद्योग तथा साना तिना व्यवसाय र जग्गाको कारोबारलगायतका क्षेत्र ठप्प हुँदा उक्त क्षेत्रमा जाने रकम शेयर बजारमा आएको हो ।

 शेयर बजारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्डले पुँजी बजार धेरै बढेको भन्दै अनेक उपाय अपनाएर रोक्ने प्रयास गरेपनि बजारमा भने रोकिने अवस्था देखिएको छैन् । बोर्डले ५१ कम्पनीको शेयरमा चलखेल भएको भन्दै ती कम्पनीको शेयरमा अपत्यक्ष रुपमा खरिद गर्न उचित नहुने निष्कर्ष निकाले पनि शेयर बजारमा भने ती कम्पनीहरुको समेत शेयर मूल्य बढेको छ ।

बोर्डले नामै किटेर ५१ कम्पनीको शेयर खरिद गर्नु जोखिम भनेको भोली पल्ट बुधबार र पर्सिपल्ट बिहीबार नेप्सेमा सामान्य करेक्सन आएपनि बजार धेरै तल जाने सम्भावना देखिएको छैन् । अन्य क्षेत्रमा लगानीका अवसर नभएका कारण शेयर बजारमा रकम ओइरिएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीले बताए ।

‘अन्य क्षेत्रमा लगानीका अवसर नभएपछि कमाउने ठाउँ यता (शेयर बजार) तिर रहेछ भनेर मानिसहरुले लगानी गर्न थाल्दा बजार बढ्न पुगेको हो,’ उनले भने, ‘इन्भेष्टमेन्ट अपुच्युनिटी नभएका कारण शेयर बजारमा लगानी बढेकोे हो ।’

उद्योग व्यवसाय, घर जग्गाा कारोबार, पर्यटन व्यवसाय ठप्प भएकाले यस्तो बेलामा शेयर बजार एक मात्र लगानीको क्षेत्र भएको भन्दै लगानीकर्ताले यही रहेछ लगानी गरेर नाफा कमाउने भनेर ओइरिदा शेयर बजार उकालो लागेको ज्ञवालीको भनाइ छ । ‘बैकले निक्षेपमा दिने ब्याज पनि कम भएकाले त्यो पैसा समेत शेयरमा आएको छ,’ उनले भने, ‘अरु क्षेत्रमा लगानी गर्दा रेट अफ रिटर्न राम्रो नहुने देखेपछि लगानीकर्ताहरु यता (शेयर बजार)मा गएर पैसा बढ्छ कि भनेर मानिसहरुले पैसा खन्याएका कारण शेयर बजार उकालो लाग्न पुगेको हो । अन्यथा अर्थतन्त्रका अन्य सूचकांकहरु राम्रो नहुँदा शेयर बजार मात्र राम्रो हुन्छ भन्ने हुँदैन् ।’

कारोना भाइरसका कारण अन्य क्षेत्रमा ऋण जान नसकेको बैंकका प्रमुख कार्यकारी अधिकृतहरु पनि स्वीकार गर्छन् । दैनिक उपभोग्य बस्तु उत्पादन गर्ने उद्योग, स्वास्थ्य क्षेत्रमा जाने ऋण बाहेक अन्य क्षेत्रमा लगानीको अवसर नभएका कारण पनि शेयर बजारमा रकम गएको उनीहरुको भनाइ छ ।

अन्य क्षेत्रमा ऋणको माग हुन नसकेका कारण शेयर बजारमा त्यस्तो रकम घुमाइ फिराइ शेयर आएको हुन सक्ने ब्रोकरको भनाइ छ । त्यसै कारण शेयर बजार कोरोना भाइरसको महामारीमा पनि उकालो लाग्न पुगेको हो ।

नयाँ उचाइ चुम्दै उकालो लाग्दै आएको नेप्से ३००० अंक माथि पुगेको थियो । तर, बोर्डको ५१ कम्पनीले कारबाही गर्ने धम्की दिएपछि नेप्सेमा सामान्य करेक्सन आएर २९६८.४९ अकं नजिक आइपुगेको छ । यसलाई शेयर बिश्लेषकहरु साना तिना लगानीकर्ताले ‘पेनिक सेल’ गर्दा बजारमा सामान्य करेक्सन हुन पुगेको बताउँछन् ।

साना लगानीकर्ता डराएर बिक्री गर्दा ठूला लगानीकर्ता भने लगानीको अवसर भन्दै खरिद गर्न थालेका छन् । अहिले पनि ठूला लगानीकर्ताहरु बैंकबाट धमाधम ऋण लिएर शेयर किनिरहेका छन् । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुले ९४ अर्ब ३४ करोड रुपैयाँ लगानी गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंकका अधिकारीहरु पनि लगानीयोग्य रकम प्रयाप्त भएका कारण बैंकबाट ऋण लिएर शेयरमा लगानी गर्न थाल्दा बजार बढ्न पुगेको बताउँदै आएका छन् । सरकारले आर्थिक वर्षको अन्त्य असारमा विकास खर्च बढाउँदै गएकोले पनि तत्कालका लागि लगानीयोग्य पुँजीको अभाव हुने सम्भावना देखिएको छैन् । त्यस्तै स्थानीय निकायमा भएको पनि खर्च हुने भएकाले तरलताको अवस्थामा सुधार हुने अपेक्षा गरिएको छ ।

चालु आर्थिक वर्ष सकिन लागेकाले पनि सरकारी ढुकुटीमा रहेको रकम विकास निर्माणका लागि खर्च हुने र त्यसरी खर्च भएको रकम बैंकिङ प्रणालीमा आउने भएकाले लगानीयोग्य पुँजीको अभाव तत्काल हुने सम्भावना देखिएको छैन् । लगानीयोग्य रकमको अभाव नभएसम्म बजार ओरालो लाग्ने सम्भावना नभएको शेयर बिश्लेषकहरुको भनाइ छ ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।