यो सुविधा असार २२ गते मंगलबारदेखि असार मसान्तसम्म लागु हुनेछ । यो अवधिमा इसेवाका कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उदेश्यले यो सुविधा दिइएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।
उनले भने ‘इसेवाले जहिले पनि प्रयोगकर्ताहरूको हितमा काम गरिरहेको हुन्छ । अहिले कोभिड महामारीको अवस्था छ । अहिले असार मसान्त भएको हुनाले बैंकको किस्ता तिर्नुपर्ने पनि हुन सक्छ’ । अर्को तर्फ डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ ।
यस्तो अवस्थामा थोरै भएपनि लाभ होस् भन्ने उदेश्यले हामीले निशुल्क किस्ता तिर्न सकिने सुविधा दिएका हौँ ।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ ।
यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।