पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको कारण देखाउँदै यातायात व्यवसायीले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएपछि त्यसको असर मुल्य वृद्धिमा परेको हो। यातायातका सबै सवारी साधान (बस, ट्रक) लगायतको भाडा बढेपछि भान्सामा प्रयोग हुने नुनदेखि सुनसम्मको भाउ बढ्न पुगेको हो।
पेट्रोलियम पदार्थको मुल्य वृद्धिका कारण बस तथा ढुवानी सेवाको भाडा बढेको र त्यसले समग्र वस्तुको लागत बढ्दा बजार भाउ उकालो लाग्न पुगेको अर्थविद् डा. चन्द्रमणि ज्ञावालीले बताए। ‘यातायातका साधानको भाडा बढ्दा त्यसले चेन अफ इफेक्ट पार्ने गर्छ,’ उनले भने, ‘त्यसले गर्दा वस्तु भाउको मूल्य बढ्छ र भान्छासम्म असर पार्छ।’
गत वर्षको साउनमा प्रतिलिटर १०५ रुपैयाँ पर्ने पेट्रोलको भाउ अहिले १२८ रुपैयाँ पुगेको छ। त्यसैगरी, एक वर्षअघि प्रतिलिटर ९१ रुपैयाँमा पाउने डिजेलको भाउ अहिले १११ रुपैयाँ पुगेको छ। एक वर्षमा नै पेट्रोलियम पदार्थको भाउ आकासिएका कारण पनि दैनिक उपभोग्य वस्तुदेखि अन्य सामानको मूल्य अचाक्लि बढ्न पुगेको हो।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ रेकर्ड बनाउँदै लगेको छ। पेट्रोलको मूल्य लिटरकै १२९ र डिजेलको मूल्य ११२ पुर्याएको आयल निगमले विधार्थीले आन्दोलन गरेपछि लिटरमा १/१ रुपैयाँ घटाउन पुगेको थियो।
पेट्रोलियम पदार्थको मूल्य बढाउँदा प्रतिलिटर २/३ रुपैयाँले बढाउँछ। आयल निगमले सकेसम्म बढेको मूल्य घटाउँदैन घटाउनै परे लिटरमा १ रुपैयाँले मात्र घटाउँछ।
पछिल्लो समय पेट्रोलियम पदार्थको अत्याधिक मूल्य वृद्धि भएका कारण बजार भाउ थेग्नै नसक्ने गरेर बढेको छ। केही समयअघि अन्तराष्ट्रिय बजारमा खाने तेलको कच्चा पदार्थमा मूल्य बढेका कारण तेलको मूल्य बढाइयो। एक वर्षको बीचमा खाने तेलको मूल्य करिव दोब्बरले बढेको छ।
खाने तेलको मूल्य बढेसँगै नेपालीको भान्सा महंगिन पुगेको थियो। त्यसपछि आयल निगमले पुनः पेट्रोलिय पदार्थको मूल्य बढाएका कारण चुल्हो महंगिन पुगेको छ।
अहिले १ हजार रुपैयाँ लिएर बजार जाने हो भने एक झाेला तरकारी पनि नआउने अवस्था आएको छ। ढुवानी भाडा बढेको, वर्षाले तरकारी कुहिएको, बाटो बिग्रिएको जस्ता कारण देखाउँदै पसलेहरुले उपभोक्ताबाट मनलाग्दी रकम लिइरहेका छन्। तर, सरकार भने मूल्य वृद्धिको विषयमा बेखवर जस्तै भएको छ।
साउनदेखि बढ्ने कर्मचारीको तलब र वृद्ध भत्ताले पनि थेग्न नसक्ने गरी बजार भाउ उकालो लागेको छ। बजेटमा कर्मचारीको तलब र वृद्ध भत्ता बढाउने व्यवस्था भएसँगै बजार भाउ आकासिएको छ।
साउनदेखि करिव ७ लाख सरकारी कर्मचारीको तलब दुई हजारका दरले बढ्ने देखिन्छ। तिनीहरुले तलब बढेको महशुस गर्न पाउने छैनन्।
यता, निजी क्षेत्रमा कार्यरत कर्मचारीको भने तलब वृद्धि हुने सम्भावना देखिएको छैनन्। कोरोना भाइरसका कारण पर्यटन क्षेत्र, होटल, यातायात क्षेत्रका कर्मचारीले रोजगारीको अवसर गुमाएका छन्। रोजगारी नगुमाएकाले पनि तलब पाउन सकेका छैनन्। उनीहरुलाई त यो महंगिले अझै बढी पिरोलेको छ।
सरकारी कर्मचारीको तलब बढेको त छ। तर उनीहरुको तलब हात नपर्दै मंहगिले निकै उचाई चुमेको छ। थोरै प्रतिशत सरकारी कर्मचारीको तलब सामान्य बढ्दा आकासिएको महंगिले भने सबैलाई मारमा पारेको छ।
व्यापारीहरुले वृद्धि भएको तलब देखाएर सामानको भाउ बढाउने गरेका छन्। सरकारले मूल्य वृद्धि नियन्त्रण नगरेपछि तलब बढेका कर्मचारीले समेत खासै राहत महसुस गर्न सक्ने अवस्था छैन। २ हजार रुपैयाँले बढ्ने कर्मचारीको तलब र ४ हजार पुग्ने वृद्ध भत्ताले पनि मंहगिलाई थेग्न सक्ने सम्भावना देखिएको छैन।