सहुलियतपूर्ण कर्जा लिने १ लाख नाघे, बैंकले किस्ता किस्तामा ऋण दिँदै

Sep 14, 2021 11:30 AM MeroLagani

नेपाल राष्ट्र बैंकले निर्देशित गरेको सहुलियतपूर्ण कर्जा उपयोग गर्ने ऋणी १ लाख भन्दा बढी नाघेको छ । केन्द्रीय बैंकको साउन मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सबैमा गरेर कुल १ लाख ११ हजार ४ सय ७१ जनाले सहुलियतपूर्ण कर्जाको उपयोग गरेका छन् ।

राष्ट्र बैंकको समग्र प्रणालीमा झन्डै २ खर्बको सहुलियतपूर्ण ऋण स्वीकृत भएको तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार १ खर्ब ९९ अर्ब ६६ करोड ३७ लाख ऋण स्वीकृत भएकोमा २७ अर्ब ४९ करोड रुपियाँ बराबरको मात्र ऋण भुक्तानी भइसकेको छ भने बाँकी किस्ताबन्दीमा भुक्तानी हुनेछ । सो सहुलियतपूर्ण कर्जाको लागि मात्र राष्ट्र बैंकले हालसम्म ७ अर्ब ८० करोड ८७ लाख ब्याज अनुदान प्रदान गरिसकेको छ ।

उत्पादनमूलक क्षेत्रमा कर्जाको माग बढाउन राष्ट्र बैंकले तोकिएका निर्देशित क्षेत्रमा कर्जा जानै पर्ने व्यवस्था अन्तर्गत कृषि, जलविद्युत र मझौला उद्योगमा कुल कर्जाको केही हिस्सा ऋण पु¥याउनै पर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैकहरुबाट ९५ हजार ७ सय ९० ऋणीहरुले १ खर्ब ७५ अर्ब ४३ करोड ९९ लाख रुपियाँ बराबरको ऋण स्वीकृत गराएका छन् जसमध्ये १ खर्ब ५० अर्ब भन्दा बढी रकम अझै ऋणीलाई प्रदान गरिएको छैन । ऋणीले मागे बमोजिमको रकम तुरुन्त नदिएर बैंकले किस्ता किस्तामा दिने गरेको छ । व्यवसायीक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायीक शिक्षा कर्जा, भुकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनको लागि, युवा वर्ग, स्वरोजगार कर्जालगायत विभिन्न कर्जा शिर्षकमा बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा प्रदान गरेका छन् । राष्ट्र बैंकका अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अन्तर्गत सबैभन्दा बढी ४३ हजार ८ सय ८ जनाले कर्जा माग गरेका छन् ।

त्यस्तै विकास बैंकहरुबाट १४ हजार ४ सय ४ ऋृणीले २२ अर्ब १० करोड १० लाख रुपियाँ ऋण स्वीकृत भएकोमा २० अर्ब ५ करोड रुपियाँ कर्जा अझै वितरण गर्न बाँकी नै रहेको छ । ग वर्गको वित्तीय संस्थाबाट कुल ११ सय ६८ जना ऋणीबाट २ अर्ब १ करोड ५३ लाख रुपियाँ बराबरको कर्जा स्वीकृत गराएका छन् जसमध्ये १ अर्ब ८९ करोड अझै वितरण हुन बाँकी नै रहेको छ ।माइक्रोफाइनान्स कम्पनीहरुले पनि सहुलियतपूर्ण कर्जा वितरण गर्दै आइरहेका छन् । माइक्रोफाइनान्सबाट १ सय ९ जनाले ऋृणीले १० करोड ७४ लाख ऋण स्वीकृत गराएका छन् जसमध्ये ९ करोड ५४ लाख रुपियाँ अझै वितरण हुन बाँकी छ ।

राष्ट्र बैंकले महिला उद्यमशीलताका लागि ६ प्रतिशत ब्याज अनुदान र ५ करोडभन्दा माथिका व्यावसायिक कृषि तथा पशुपन्छी परियोजनका लागि दुई प्रतिशत ब्याज अनुदान पाउने व्यवस्था गरेको छ ।

 

comments powered by Disqus