पूँजीगत खर्च बढाउन अब दुई सिफ्टमा काम, “अब रात दिन काम गर्नु पर्ने सर्त तोकिन्छ,” अर्थमन्त्री शर्मा

Oct 10, 2021 02:00 PM Merolagani



बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरूसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतबार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ।  

बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न पूँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरू तत्काल सञ्चालन गर्ने गरी काम अघि बढाउनमा जोड दिइएको छ।

छलफलमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माण कार्यको ठेक्का सम्बन्धी कागजातमा दिउसो र राती गरी २ सिफ्टमा काम गर्नुपर्ने सर्त थपिने जानकारी दिए। ‘दिनमा एक सिफ्ट मात्र काम गरेर पुँजीगत खर्च बढाउन सकिँदैन। पूँजीगत खर्च भएन भने आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन हुन्छ। विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन।’ उनले भने ‘रात्रि सिफ्टमा बत्ती बालेर भएपनि काम गर्नुपर्‍यो, हामीले पनि बेला बेला नसुतेरै भएपनि अनुगमन गर्नुपर्‍यो।’ निर्माण कम्पनीलाई उसको कार्यक्षमताभन्दा बढी सङ्ख्यामा ठेक्का दिएर पनि आयोजनाहरू अलपत्र पारेको भन्दै उनले अब यस्तो कानुनलाई पनि सच्याउने तयारी रहेको जानकारी दिए।

यस्तै, मन्त्री शर्माले आयोजना बन्नै नसक्ने गरी न्यून कबोल गरेर ठेक्का हात पार्ने तर काम नगरेर आयोजना लथालिङ्ग पार्ने परिपाटीको समेत अन्त्य गरिने, बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी समेत दिए। धागो उद्योग, कपडा उद्योग, रबर उद्योग, चुरोट कारखानालगायतका बन्द अवस्थाका उद्योगहरू नयाँ मोडालिटी बनाएर सञ्चालन गरिने उनको भनाइ थियो।

‘पढ्दै कमाउँदै’ कार्यक्रम प्राविधिक विधाका विद्यालयहरूमा शुरु गर्ने, सहकारीले कम्पनी खोलेर लगानीको ५० प्रतिशत उत्पादनको क्षेत्रमा लगाउने जस्ता कार्यक्रमहरू तत्काल शुरु गर्ने गरी प्रक्रिया अघि बढाउन आवश्यक सहजीकरण गर्न समेत उनले निर्देशन दिए।

यस्तै श्रम सहकारीहरूमार्फत १० करोडसम्मको सार्वजनिक निर्माणको कार्य गर्न पाउने कार्यविधि चाँडै टुङ्गो लगाएर काम सुरु गरिने, यसबाट देशमा थप ५ लाख रोजगारी सृजना हुने अर्थमन्त्रीको अनुमान छ। उपभोक्ता समितिहरूबाट गर्नुभन्दा श्रम सहकारीहरूबाट यस्तो काम गर्नु संस्थागत हुने र वास्तविक श्रमिकहरू लाभान्वित हुने उनको जिकिर छ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले निर्माण व्यवसायीहरूको वास्तविक क्षमता जाँचेर मात्र ठेक्का दिने प्रणाली बसाल्नुपर्नेमा जोड दिए। सीमित निर्माण व्यवसायीहरूको हातमा मात्र ७० प्रतिशत आयोजनाहरू सुम्पने प्रचलनको अन्त्य नगरेसम्म विकासले गति नलिने उनको धारणा छ। ‘भएभरका आयोजनाहरू सीमित ठेकेदारहरूको हातमा सुम्पने, उनीहरूले सरकारलाई समेत नटर्ने, वर्षौँसम्म आयोजनाहरू नबनाएर बस्ने, अनि कसरी बढ्छ त पुँजीगत खर्च ?’ उनले प्रश्न गरे। यस्तै डा. पौडेलले मुलुकको राजश्वमा योगदान गर्न नसक्ने सार्वजनिक संस्थानहरूको औचित्यमा प्रश्न उठाएका थिए।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।