संस्थागत लगानीकर्तालाई १२ करोडको सीमाभित्र बाँध्नु उपयुक्त हुँदैन

Oct 25, 2021 05:43 PM MeroLagani



रविन्द्र भट्टराई

जुन हिसाबले बजार ३२२६ अंक पुगेर घट्यो, यसमा दुई तीन वटा प्रमुख कारणहरु छन् । सबैभन्दा प्रमुख कारण त नेपाल राष्ट्र बैंकको मौद्रिक नीति नै हो । विगतदेखि नै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर बजारमा खेलिरहेको देखिन्छ । राष्ट्र बैंकको नीति समग्र बजारमा स्थिरता कायम गर्ने हुनुपर्दछ ।

तर इतिहासलाई केलाएर हेर्यो भने राष्ट्र बैंकले स्थिरता भन्दा पनि बढी अस्थिरता सिर्जना गरिराखेको देखिन्छ चाहे त्यो शेयर धितो कर्जाको नीतिको कारणले होस् वा पुँजी वृद्धिको कारणले होस् । राष्ट्र बैंकको यसप्रकारकाे नीति चाँहि गलत छ ।

शेयर धितो कर्जामा व्यक्तिगत सीमाको कर्जा १२ करोड तोकिएको छ । राष्ट्र बैंकले पहिले नै एकल कर्जा सीमा भनेर तोकिसकेपछि त्यही सीमाको आधारमा नीतिगत स्थिरता कायम गर्नुपर्दथ्यो । हरेक क्षेत्रको कर्जामा छुट्टाछुट्टै नगरेर एकरुपता कायम गर्नुपर्दथ्यो । व्यक्तिगत शेयर धितो कर्जा सीमा भनेर फेरि छुट्टै सीमा तोकिरहनु जरुरी थिएन कि ।

दोस्रो कुरा व्यक्ति र संस्थालाई एकै ठाउँमा राखेर नीतिहरु बन्नु हुँदैन । पुँजी बजारलाई विकसित बनाउनको लागि संस्थागत लगानीकर्ताको अस्तित्व स्वीकार गर्नुपर्छ । विकसित देशहरुमा पनि पुँजी बजारमा संस्थागत लगानीकर्ताको भूमिका महत्वपुर्ण रहेको देखिन्छ । संस्थागत लगानीकर्तालाई १२ करोडको सीमा भित्र बाँध्नु उपयुक्त हुदैन । संस्थागत लगानीकर्ताको क्षमता भनेको १२ करोड भन्दा पक्कै पनि बढी हुन्छ । संस्थागत लगानीले रोजगारी सिर्जना, बजार विकासमा योगदान दिने, बजारलाई सन्तुलित गर्ने जस्ता सम्भावनाहरुलाई हेर्नु पर्छ । संस्थागत लगानीकर्ताको वृद्धि हुने अवसरलाई रोक्नु हुँदैन । राष्ट्र बैंकको यसप्रकारको नीतिले पनि बजारमा एक प्रकारको मनोवैज्ञानिक असर परेको छ । जसको नकारात्मक असर अहिलेको शेयर बजारमा देखियो ।

तेस्रो कारण दशैं तिहारजस्तो ठूला चाडबाड यही समयमा पर्न आयो । पहिलो त्रैमासिकको मसान्तको असर पनि यहि बेला पर्न गयो । शेयर बेचेर ऋण तिर्नुपर्ने, किस्ता तिर्नुपर्ने, व्याज तिर्नुपर्ने अवस्था आयो । ऐतिहासिक तथ्यांक हेर्दा पनि त्रैमाशको अन्त्य नजिकिदै जाँदा बजारमा सामान्य गिरावट देखिराखेकै हुन्थ्यो ।

यहि समयमा फेरि व्याज दरको तनाव थपियो । तरलताको अभाव देखाएर बैंकहरुले यसरी व्याज बढाए कि जुन सर्वसाधारणले कल्पनै गर्न नसकिने थियो । एकदमै अप्रत्यासित रुपले गरीएको व्याज दर वृद्धिले अर्थतन्त्रलाई नै असर पर्ने अवस्था देखियो ।यसले बजारमा ऋण लिएर लगानी गर्नेलाई त असर ग¥यो । ऋण हुनेले भोलि व्याज वृद्धिको तनाव सहनु भन्दा शेयर बेचेर ऋण तिर्नतिर लागे भने निक्षेप हुनेले पनि शेयर बजारमा लगानी गर्नु भन्दा बैंकमा लगानी गरेर जोखिमरहित आम्दानी गर्न तिर लागे । यो पनि बजार घट्नुको अर्को कारण हो । व्याजदर र सेयर बजारको सम्बन्ध उल्टो हुने गर्छ ।

दशैं पछिको कारोबारमा कारोबार रकममा गिरावट आइरहेको देखिएको छ । अहिलेसम्म दशैंकै मुडमा लगानीकर्ता रहेकाले पनि कारोबार रकममा सुधार आउन नसकेको हो । चाडबाडको मुडबाट लगानीकर्ता बाहिर आएपछि विस्तारै कारोबार रकममा वृद्धि हुने सम्भावना रहन्छ ।

बजार कुन दिशातिर जान्छ भनेर आँकलन गर्न सबैभन्दा पहिले व्याजदरलाई नै हेर्नुपर्ने हुन्छ । केन्द्रीय बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले मात्र निक्षेपको व्याजमा परिवर्तन गर्न सकिने नीतिले व्याज दरमा केहि मात्र भए पनि स्थिरता प्रदान गर्न मद्दत गर्ने नै छ । राष्ट्र बैंक यो नीतिमा कति अडिग भएर रहन सक्छ भन्ने कुरा भविष्यले नै निर्धारण गर्नेछ । यही नीतिमा अडिग रहेर व्याज दरलाई निश्चित दायराभित्र मात्र खेल्न दियो भने यसले शेयर बजारमा सकारात्मक प्रभाव पार्नेछ । यसको असर भनेको लगानीकर्ताले कुनै निश्चित समयावधिमा व्याज दर कतिसम्म जानसक्छ भन्ने आँकलन गर्न सक्दछ । व्याज दर आँकलन गर्न सक्ने भएमा लगानीकर्ता आत्मविश्वासका साथ बजारमा लगानी गर्न अगाडि सर्ने छन् । यसले बजारलाई सकारात्मक दिशामा अगाडि बढ्न मद्दत गर्नेछ ।

राष्ट्र बैंक समग्र वित्तीय प्रणालीको नियामक निकाय हो । केन्द्रीय बैंकले समग्र प्रणालीको स्थायित्वलाई केन्द्रमा राखेर नीति निमार्ण गर्नुपर्छ । अहिले जस्तो ठूलो अंकले व्याजदरमा उतारचढाव हुने खालको नीति तथा अनुगमन प्रणाली राष्ट्र बैंकले अवलम्बन गर्नुहुँदैन । केन्द्रीय बैंकको नीतिको कारणले कत्तिपनि अनुमान गर्नै नसकिने परिस्थितिको सिर्जना नहोस् भन्नेतर्फ राष्ट्र बैंक केन्द्रित हुनुपर्छ । यसका आवश्यक उपकरण राष्ट्र बैंकसँगै छ । उसले यसको उचित प्रयोग गर्ने मात्र हो ।
(शेयर विश्लेषक भट्टराईसँग मेरोलगानीका बाबुकृष्ण महर्जनले गरेको कुराकानीमा आधारित)

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।