रकम अभाव भएपछि ग्लोबल आइएमइ समुन्नत स्किमले बुक क्लोज मिति अझै तोकेन,१००% नगद लाभांश कसरी देला ?

Nov 02, 2021 03:18 PM merolagani

सुवास निरौला

एकसय प्रतिशत नगद लाभांश घोषणा गरेको ‘ग्लोबल आएएमइ समुन्नत स्किम १’सँग घोषित लाभांश स्वरूप दिने पैसा नभएपछि फिटिफिट पर्न थालेको छ। आफूसँग घोषित लाभांश स्वरूप दिनु पर्ने एक अर्ब रुपैयाँ नभएपछि स्किम फिटफिटिमा परेको हो।

स्किमले चालु वर्ष इकाई धनीहरूलाई एक सय प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। तर खातामा पर्याप्त पैसा नभएपछि स्किमले बुक क्लोज मिति समेत तय गर्न सकेको छैन। स्किमले पैसाको जोहो गर्न नसकेकै कारण बुक क्लोज मिति घोषणा समेत पर सार्दै लगिरहेको छ।  उसले लाभांश घोषणा गत असोज २४ मा गरेको हो। घोषणा गरेको तीन हप्ता भई सक्दा पनि उसले बुक क्लोज मिति सार्वजनिक गरेको छैन।  अन्य म्युचुअल फण्डहरुले बुक क्लोज मिति घोषणा गरिसकेका छन्। कतिले आफ्ना शेयर धनीको खातामा धमाधम पैसा समेत पठाउन सुरु गरिसकेका छन्।

चालु वर्ष २१ सामूहिक लगानी कोषले लाभांश घोषणा गरिसकेका छन्। जसमा ‘ग्लोबल आइएमइ समुन्नत स्किम १’ बाहेक सबैको बुक क्लोज भई सकेको हो। इकाई धनीहरूलाई दिने पैसा नै जोहो गर्न नसकेका कारण उसले मिति सार्वजनिक गर्न ढिलाइ गर्दै गएको हो।

व्यवस्थापन र सञ्चालकबीच पैसा जुटाउने सहमति नहुँदा थप समस्या बढ्दै गएको स्रोतको दाबी छ। लाभांश घोषणाको विषयलाई लिएर स्कीममै दुई थरी मत देखिएको छ। एक थरीले त्यति धेरै लाभांश दिनै नहुने मत राखिरहेका छन् भने अर्का थरीले लामो समय लाभांश नदिँदा बजारमा नकारात्मक सन्देश जाने भएकोले त्यति लाभांश दिनै पर्ने तर्क गरिरहेका छन्। 

स्किमले अहिलेसम्म इकाइधनीलाई देखिने गरी लाभांश दिन सकेको छैन। सात वर्ष अवधिको स्किम परिपक्व हुन अब डेढ वर्ष मात्रै वाँकी छ। १० चैत २०७९ मा स्किम परिपक्व हुन्छ। अहिलेसम्म स्किमले जम्मा चार प्रतिशत मात्रै नगद लाभांश दिएको छ। पाँच वर्षको अवधिमा जम्मा चार प्रतिशत मात्रै लाभांश दिएको फण्डलाई चालु वर्ष बढाएरै लाभांश दिनु पर्ने बाध्यता पनि थियो। जसले गर्दा पनि उसले एकै पटक शतप्रतिशत नगद लाभांश घोषणा गर्‍यो। दबावमा आएर लाभांश घोषणा गरेको स्किमसँग वितरण गर्ने रकमको भने अभाव छ। पैसा जोहो गर्न स्किमले आफूले लगानी गरेको शेयर बिक्री गर्नु पर्ने हुन्छ। अथवा उसले आफ्नै संस्थापक बैंक वा अन्यसँग तिनै शेयर राखेर ऋण लिनु पर्ने हुन्छ। तर दुवै प्रस्तावमा सहमति जुट्न सकेको छैन। 

उसले घोषणा गरेको लाभांश रकम बितरणको लागि भदाैमै शेयर बिक्री गर्नु पर्ने थियो। तर उसले भदौमा पर्याप्त शेयर बिक्री गरेन। अझै असोजमा आएर पनि उसले लाभांश रकम दिन पुग्ने गरी शेयर बिक्री गर्न सकेन। असोजको मासिक विवरण अनुसार स्किमले दोस्रो बजारको शेयरमा एक अर्ब ८२ करोड रुपैयाँ लगानी गरेको छ। भदौमा यस्तो लगानी दुई अर्बको हाराहारीमा थियो।

असोजमा बैक मौज्दात ३ करोड ५० लाख रुपैयाँ मात्रै राखेको छ। भदौमा  मौज्दात २ करोड ६४ लाख रुपैयाँ थियो। जुन भदौको तुलनामा ८६ लाख रुपैयाँ मात्रै बढी हो। उसको अन्य सम्पत्तिको रुपमा ३८ करोड ८४ लाख रुपैयाँ छ। भदौमा यस्तो २५ करोड १२ लाख रुपैयाँ थियो।  स्किमले मुद्धति निक्षेपमा पैसा राखेको छैन। बैंक  मौज्दात र अन्य सम्पत्ति जोड्दा स्किमसँग यतिबेला ४२ करोड ३५ लाख रुपैयाँ मात्रै छ। जबकि उसले इकाई धनीहरूलाई एक अर्ब रुपैयाँ वितरण गर्नु पर्छ। 

शेयर बिक्री गर्ने बेलामा शेयर बजार घट्नुले पनि स्किमलाई समस्यामा पार्दै लगेको छ। जसले गर्दा उसले पर्याप्त शेयर बिक्री गर्न नसकेको हो। तर उसले घोषणा गरेको रकम भने इकाई धनीहरूलाई दिने नै प्रतिबद्धता जनाएको छ। तर कहिले दिने भन्ने यकिन भने गर्न सकेको छैन।

घोषित लाभांश पाउन इकाइधनीहरुले अझै एक महिना भन्दा बढी कुर्नु पर्ने देखिन्छ। शेयर बिक्री वा ऋण मध्ये एक उपाय मार्फत रकम दिने स्किमको भनाइ छ। “इकाई धनीहरूले घोषणा गरेको रकम पाउनु हुन्छ। ऋण वा शेयर बेचेर कसरी दिने हो त्यो हामी चाँडै निर्णय गर्छौ” ग्लोबल आइएमइ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले मेरो लगानीसँग भने।     

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।