बुलमा बजार पसेको फण्ड यसरी फस्यो शेयर बजारमा, शेयर बजारबाटै हात उठाउने स्थितिमा ग्लोबल समुन्नत स्किम

Nov 28, 2021 06:59 PM merolagani

सुवास निरौला

‘ग्लोबल आएएमइ समुन्नत स्किम १’ ले एक सय प्रतिशत नगद लाभांश घोषणा गरेको आइतबार एक महिना १८ दिन भयो।उसले लाभांश घोषणा गरे पनि अझै बुक क्लोज मिति तय गरेको छैन। उसले डेढ महिना बिति सक्दा समेत बुक क्लोज मिति सार्वजनिक नगर्नुलाई इकाइ धनीहरुले गम्भीरतापूर्वक लिन थालेका छन्।

उसले लाभांश घोषणा गरेर पनि बुक क्लोज मिति सार्वजनिक नगर्नुमा स्किमसँग लगानीकर्तालाई लाभांश स्वरुप दिन पर्याप्त रकम नभएर नै हो। यसअघि नै मेरो लगानीले यस बिषयमा समाचार प्रकाशित गरिसकेको छ।

रकम अभाव भएपछि ग्लोबल आइएमइ समुन्नत स्किमले बुक क्लोज मिति अझै तोकेन,१००% नगद लाभांश कसरी देला ?”  शिर्षकमा गत कार्तिक १६ गते समाचार संप्रेषण गरेको थियो। समाचार संप्रेषण भएको आउने बिहीबार एक महिना पुग्ने छ। समाचार संप्रेषण भएपछि थोरै दबाबमा परेको स्किमले आफुसित भएको धेरै जसो शेयर भटाभट बिक्री गरिरहेको छ। यस अवधिमा उसले आँखा चिम्लिएर बिक्री गरेको शेयर नेपाल टेलिकमको हो। असोजसम्म उसको खातामा रहेको नेपाल टेलिकमको ७९ हजार एक सय ९३ कित्ता शेयर उसले लगभग बिक्री गरिसकेको छ। आइएमइ ग्रुपको सबैभन्दा बढी शेयर कारोबार गर्ने ब्रोकर कम्पनी सनी सेक्युरुटिज (४२) मार्फत उसले शेयर बिक्री गरेको हो। उसले बिक्री गरेको सबै जसो शेयर नासा सेक्युरुटिज मार्फत खरिद भएका छन्। 

नाफा भएका शेयर उसले आँखा चिम्लिएर बिक्री गरिरहेको छ । लामो समय राखेर पनि नाफा नभएका शेयर बिक्री गर्न भने अझै स्किमले सकिरहेको छैन। किनकि आफूले गरेको लगानी भन्दा कममा शेयर बिक्री गर्नु पर्ने बाध्यता स्किमलाई परेको छ।  किनभने घोषित लाभांश दिन पनि उसले शेयर बिक्री गर्नै पर्ने हुन्छ। तर यतिबेला धेरै जसो शेयर बिक्री गर्ने स्थितिमा स्किम छैन। किनकि उसको परल मूल्य समेत नआउने स्थितिका शेयर स्किमसँग धेरै छन्। शेयर बिक्री नगर्दा लाभांश दिन नसकिने, बिक्री गर्दा घाटा हुने भएपछि यतिबेला स्किम के गर्ने नगर्ने द्विविधामा छ। यहि द्विविधाबीच उसले ऋण लिएर लाभांश दिने योजना पनि नबनाएको होइन। तर उसको उक्त योजना पनि सफल हुन सकेको छैन। किनकि आउने वर्ष स्किम परिवक्व हुदै छ। सात बर्षे स्किम २०८९ चैत १० मा परिपक्व हुन्छ। परिपक्व हुने स्थिति आइपुग्दा समेत उसका धेरै जसो शेयर नाफामा जान सकेका छैनन्। जसले गर्दा ऋणको विषय अघि बढ्न नसकेको हो। 

स्किमले २०७२ साल माघ १३ गते नेपाल धितोपत्र बोर्डबाट एक अर्ब रुपैयाँ बराबरको इकाइ निष्कासनको अनुमति पाएको हो। उसले जतिबेला निष्कासनको अनुमति पाएको हो, त्यस बेला दोस्रो बजार तीब्र गतिमा बढ्दो अवस्थामा थियो। माघमा इजाजत पाएको स्किमले फागुनसम्ममा इकाइ निष्काशन गरि बजारमा लगानी गर्न संकेत सुरु गरिसकेको थियो। बजारमा आएकाे पहिलो महिना सात करोड ४४ लाख भन्दा बढीको शेयर किनेको स्किमले सुरुवाती चरणमै आक्रमक लगानी गरेको थियो। फागुनदेखि लगानी गर्न सुरु गरेको स्किमले पाँच महिनमा ८० करोड रुपैयाँ भन्दा बढी रकम दोस्रो बजारमा खन्याएको थियो। जुन बेला उसले शेयरमा लगानी गर्नु सुरु गरेको थियो। त्यसबेला बजार १२५० अंक काटेर नयाँ रेकर्ड उन्मुख थियो। जति बेलासम्म उसले ८० करोड रुपैयाँ खन्याइसकेको थियो। त्यस बेलासम्म बजार त्यस बेलाको सर्बाधिक उचाइ १८८२ अंक छुदो क्रममा पुगिसकेको थियो। जब उसले बजारमा पैसा खन्याइ सक्यो त्यसपछि बजार पनि घट्दो लयमा देखिन थाल्यो।

सुरुवातकै दिनमा  १३ सय ३५ का दरमा किनेको चिलिमे हाइड्रो पावरको  शेयरले स्किमलाई अझै नाफा दिएको छैन। सिटिजन्स बैंक ७२५,एभरेष्ट बैंक २७७०,नबिल बैंक २०९९,नबिल संस्थापक १५४५, नेपाल बैंक ४००, एनआइबि ९९०, मुक्तिनाथ बैंक ८८५, नेपाल लाइफ ३८७०, एनटिसि ७००, एनआइसि एसिया ७८०, एनएमबि ६०४, प्राइम ५८१, एसबिआइ १७३२ रुपैयाँ प्रतिकित्ताका दरले किनेको स्किमलाई अहिले एनटिसिले मात्रै राम्रो नाफा दिएको छ। बाँकी सबै जसो कम्पनीमा गरिएको लगानी अझै उठ्ने स्थिमा छैन।

बढीरहेको शेयर बजारमा आक्रमक लगानी गरेको स्किमले ६ बर्ष शेयर पाल्दा समेत किनेको मूल्य समेत नपाउँदा अर्को नयाँ योजना ल्याउन समेत क्यापिटल हच्किन थालेको छ। जबकि उसको पहिलो स्किम आउने वर्ष समाप्त हुँँदै गर्दा नयाँ स्किम उतार्ने  हिम्मत समेत गर्न सकिरहेको छैन। जबकि उसले अर्को स्किम लन्च गर्ने भन्दै धितोपत्र बोर्डमा आवेदन दिएको एक बर्ष भन्दा बढी भइ सकेको छ। तर उसले तत्कालै ल्याउन जोड भने गरेको छैन। उसले २०७७ मंसिर २४ मा “ग्लोबल आइएमइ व्यालेन्स फण्ड १”को लागि निबेदन दिएको हो।

पहिलो स्किमकै बिजोग हुँदै गएपछि स्किमले अर्को नयाँ योजना पछि सार्दै लगेको हो। क्यापिटलले अर्को योजनामा बोर्डले ढिलाई गरेको भन्ने गरेको भएपनि उसले सहज अवस्थामा पनि खासै स्किमकोलागि जोड गरेको थिएन। उसले जोडतोड नगर्नुमा उसले दिएको प्रतिफल र पहिलो स्किममा हात लागेको असफलताले सबैभन्दा बढी काम गर्यो। न्यून लाभांश दिएको स्किमले अर्को स्किम बजारमा सार्बजनिक गर्दा लगानीकर्ताको आकर्षण कम हुने आकंलन गरेर उसले नयाँ स्किममा जोड नदिएको हो। तर पाइप लाइनमा रहेको स्किम जसरी पनि सार्वजनिक गर्नै पर्ने भएकोले पनि उसले उक्त स्किम सार्वजनिक गर्नु अघि बिक्री गर्ने आधार तयार गर्नु बाध्यतामा क्यापिटल थियो। ‍ बजारमा राम्रो छाप छोड्नको लागि पनि क्यापिटलले एक सय प्रतिशत लाभांश घोषणा गर्यो। जबकि उसैसँगै आएका चार स्किमले भने उचालिएर लाभांश घोषणा गरेनन्। ग्लोबल सँगै आएका अरु चार स्किमले औसत प्रतिफल ४३.२ प्रतिशत छ।

उनीहरुले बजारमा जस्तो अबस्था रह्यो त्यहि अनुसारको प्रतिफल घोषणा गरे। तर ग्लोबलको नाम जोडिएकै कारण उसले जसरी उचालिएर एकै पटक एक सय प्रतिशत लाभांश घोषणा गर्यो। उक्त घोषणा नै उसको लागि छिचोल्न नसक्ने पहाड साबित हुँदै आएको छ।  

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।