८० अंक घटेर बजारले मौद्रिक नीतिको समीक्षाकाे जवाफ दियाे, बिक्रीकर्ताको चाप पनि उस्तै

Nov 28, 2021 03:43 PM Merolagani



नेपाल राष्ट्र बैंकले मार्जिन कर्जा सम्बन्धी व्यवस्थामा संशोधन नगरेपछि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत लगानीकर्ताहरुको माग सम्बोधन नभएपछि नेप्से सूचकमा उच्च अंकको गिरावट देखिएको हो ।

शेयर बजारका लगानीकर्ताहरुले मार्जिन कर्जाको सीमा संशोधन हुने अपेक्षा गरेका थिए । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा मार्जिन कर्जा लगायतको मागहरु संबोधन नभएपछि नेप्से सूचक उच्च अंकले घटेको छ ।

यस दिन नेप्से परिसूचक ८०.२९ अंक घटेर २६५१.४९ विन्दुमा बन्द भएको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १४.१९ अंक, फ्लोट इण्डेक्स ५.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३३ अंक घटेको छ ।

यस दिन २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर किनबेच भएर ५ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । बिहीबार ३ अर्ब ७८ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको थियो ।

नेप्से घटेपनि यस दिन आईसीएफसी फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । फाइनान्सको शेयरमूल्य ९.८७ प्रतिशत बढेर ९३२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै सामलिङ्ग पावर कम्पनीको शेयर पनि ८.२१ प्रतिशतले बढेको छ ।

 

हिमालयन पावर पार्टनरको शेयरमूल्य भने सर्वाधिक ८.४९ प्रतिशत घटेको छ । त्यसैगरी, मानुषी लघुवित्त, प्राइम लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, जोशी हाइड्रोपावर लगायतको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ।

आइतबार कारोबारमा आएका १३ वटै उपसमुहको सूचक ओरालो लागेको छ । यस दिन व्यापार उपसमुहको परिसूचक सर्वाधिक ५.३७ प्रतिशतले घटेको छ । यस्तै विकास बैंकको पनि ५.११ प्रतिशतले घटेको छ ।

यसैगरी होटल तथा पर्यटन र हाइड्रोपावर उपसमुहको सूचक पनि ४ प्रतिशत भन्दा धेरैले ओरालो लागेका छन् ।

कारोबार रकमका आधारमा यस दिन महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । यस दिन बैंकको २९ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस्तै नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ४८ लाख रुपैयाँ र नेशनल हाइड्रोपावरको पनि २२ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।