कोरोना नयाँ भेरियन्टसँगै पर्यटन व्यवसायी चिन्तित, पुराना बुकिङहरु सबै ‘होल्ड’मा

Dec 04, 2021 06:48 PM MeroLagani

बाबुकृष्ण महर्जन

कोरोना भाइरसको संक्रमण कमजोर हुँदै गएपछि लयमा फर्कदै गरेको पर्यटन व्यवसायी काेराेनाकाे नयाँ भेरियन्ट भारतसम्म आइपुगे पछि चिन्तित छ । कोरोनाको महामारी शुरु भएसँगै विस्तारै थला पर्दै गएको यो व्यवसाय अरु व्यवसाय विस्तारै सुचार हुँदा पनि राम्ररी तंग्रिन पाएको थिएन ।

पूर्ण खोप लगाएका विदेशीलाई अनअराइभल भिसा दिने गरी नेपाल खुला गरेपछि पछिल्लो दुई महिनादेखि नेपालमा पर्यटकीय चहलपहल बढ्न थालेको थियो । दशैं तिहार छठलगायतको महत्वपूर्ण चाडपर्वको बिदा र नेपालका प्रमुख राजनीतिक पार्टीहरुको महाधिवेशनले गर्दा आन्तरिक पर्यटकको आउजाउ पनि राम्रै रहेको थियो ।

अहिले आएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण बढेसँगै फेरि यो व्यवसाय धरमराउन थालेको हो । अफ्रिकी मुलुकबाट फैलिएको यो नयाँ भेरियन्टका कारण नेपालले पनि संक्रमण देखिएका ९ मुलुकबाट आउने यात्रुलाई नेपाल आउन अनुमति नदिने भएको छ । १३ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । छिमेकी मुलुक भारतमा समेत कोरोना भाइरसको नयाँ भेरियन्टबाट संक्रमित देखिएपछि नेपालले पनि थप सतर्कता अपनाएको हो ।

अब विस्तारै पर्यटन उद्योग लयमा फर्कने आशा व्यवसायीहरुमा थियो । पर्यटक आगमनको तथ्यांकले पनि सकारात्मक संकेत दिइरहेका थिए । सन् २०२१ को नोभेम्बरमा मात्रै हवाई मार्गबाट २६ हजार २६ हजार १ सय ३५ जना विदेशी पाहुना हवाईजहाजबाट नेपाल भित्रिए । २०२० को नोभेम्बरको आगमन संख्या १ हजार ९ सय ५६ मात्र थियो। कोरोना भाइरस संक्रमण सुरु हुनु अघि सन् २०१९ को नोभेम्बरको आगमन १ लाख ३० हजार ३ सय २ थियो । नेपालले गत सेप्टेम्बरमा पूर्ण खोप लगाएका विदेशीलाई क्वारेन्टाइनमा नराखी नेपाल भ्रमण गर्न दिने सूचना जारी गरेपछिको पहिलो दुई महिना पर्यटक आगमनको संख्या उल्लेख्य नै थियो । गत अक्टोवरको आगमन २३ हजार २ सय ८४ थियो । नेपालको पर्यटकीय सिजनको रुपमा रहेको अक्टोबर नोभेम्बरमा पर्यटक आगमनमा देखिएको सुधार आगामी दिनमा कोरोनाको नयाँ भेरियन्टको संक्रमणमा निर्भर रहन पुगेको व्यवसायीहरु बताउँछन् । नयाँ भेरियन्टको संक्रमण बढेमा यसको असर नेपालमा आउने पर्यटक आवामनमा पनि पर्ने निश्चित छ ।

दोस्रो लकडाउन खुलेसँगै नेपाल पर्यटन बोर्डले पनि आफ्ना गतिविधि बढाउँदै लगेको थियो । गएको दुई महिनामा बेलायतको लन्डनमा भएको वल्र्ड टुरिज्म मार्टसँगै दक्षिण एसियाको दुई मुलुक श्रीलंका र बंगलादेशमा समेत सेल्स मिसन पठाएर नेपालको पर्यटन प्रबद्र्धन गर्ने काम गरेको थियो ।

नेपाल टुर एन्ड ट्राभल एजेन्टस् एसोसिएसन (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईले पछिल्लो समय फैलिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले पर्यटन व्यवसाय फेरि डामाडोल हुने संकेत देखिएको बताए । ‘विभिन्न देशहरुले नयाँ भेरियन्टका कारण उडानहरु रद्द गर्दा ग्रुपहरू नेपाल आउन नसकेको स्थिति छ ।’– उनले भने–‘सोधपुछहरु भइरहेको भए पनि नयाँ भेरियन्टको कारण पुराना बुकिङहरु सबै ‘होल्ड’मा नै छन ।’

लकडाउनपछि नेपालमा विदेशीहरु खासगरी भारतीयहरुको आगमनमा वृद्धि देखिएको थियो । कुल नेपाल आएका पर्यटकमध्ये ४० प्रतिशतको हाराहारीमा भारतीय पर्यटक नै थिए । विदेशीहरुलाई अनिवार्य खोप लगाएको हुनुपर्ने भने पनि भारतीयको हकमा सो लागू नहुने हुनाले पनि भारतीय पर्यटकको संख्यामा वृद्धि देखिएको व्यवसायीहरु बताउँछन । भारतीय पर्यटकको संख्यामा भएको वृद्धि र आन्तरिक पर्यटकको चहलपहलले गर्दा पोखरा, चितवनलगायतका होटलहरु भरीभराउजस्तै थियो । कोरोनाको नयाँ भेरियन्ट भारतमा समेत देखा परेका समाचारहरु आउन थालेपछि होटलहरु पनि आत्तिन थालेका छन् । ‘कोरोनाको नयाँ भेरियन्टका संक्रमित भारतमा समेत देखिन थालेको समाचार आउन थाले । अब फेरि लकडाउन भएर व्यवसाय थप्प होला भन्ने चिन्ता छ ।’–सौराहास्थित चितवन एडभेन्चर रिसोर्टका सञ्चालक श्याम श्रेष्ठले भने । गत हप्ता नेकपा एमालेको महाधिवेशन र अहिले नेपाली कांग्रेसका प्रदेशस्तरीय अधिवेशनले होटलमा अहिलेसम्म राम्रै अकुपेन्सी देखिएपनि अबको केही दिन अझ कठिन हुन सक्ने उनले बताए ।

भारतीयहरुको राम्रो आगमन बढ्न थालेको तथा बंगलादेशबाट पनि राम्रो इन्वायरी आइरहेको थियो। नयाँ भेरियन्टको समाचार आएपछि आइतबारदेखि सोधपुछ गर्न पनि छोडे’–नेपाल पर्यटन बोर्डको सेल्स मिसनमा बंगलादेश गएर फर्केका एक ट्राभल एजेन्सीका सञ्चालकले भने । भारतमा समेत देखिइसकेकाले खुला सिमानाको कारण नयाँ भेरियन्टको संक्रमण नेपालमा देखिने सम्भावना प्रवल रहेकाले अब केही महिना नेपालको पर्यटनले गतिरोधको सामना गर्नुपर्ने उनले बताए ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।