नेप्सेको आरएसआई ओभरसोल्ड जोनमा

Dec 05, 2021 03:25 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से करिब ३ प्रतिशत घटेको छ। यस दिन नेप्से परिसूचक २.८० प्रतिशत अर्थात ७२.३० अंक घटेर २५१३.८८ विन्दुमा झरेको छ।

नेप्से परिसूचक ओरालो लागेसँगै नेप्सेको १४ दिने आरएसआई २८.९३ स्केल अर्थात ओभरसोल्ड जोनमा पुगेको छ। आरएसआई ३० स्केलभन्दा तलको क्षेत्रलाई ओभरसोल्ड जोन भनिन्छ भने ७० स्केलभन्दा माथिको क्षेत्रलाई ओभरबट जोन भनिन्छ। ओभरसोल्ड जोनमा रहेको आरएसआईले बजारमा शेयर बिक्री चाप बढी रहेको संकेत गर्दछ।

यस दिन सेन्सेटिभ इण्डेक्स २.९ प्रतिशत, फ्लोट इण्डेक्स ३.१५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७३ प्रतिशत घटेको छ। यस दिन २२६ कम्पनीको ६० हजार ८८ पटकको कारोबारमा ४ अर्ब ९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको ८९ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.५४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार र विकास बैंक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने जलविद्युत, अन्य र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, बैंकिङ्ग, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन साढे १ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावरको सर्वाधिक शेयर खरिदबिक्री भएको छ। यस दिन सो कम्पनीको २८ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी, नेपाल टेलिकम र नबिल बैंकको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बजार ओरालो लागेपनि यस दिन न्यादी पावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४१ रुपैयाँ ३० पैसा बढेर ४५४ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन नयाँ सारथी लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका आईसीएफसी फाइनान्स र सबैको लघुवित्तको शेयरमूल्य यस दिन ८ प्रतिशतभन्दा बढी घटेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।