नेपाल धितोपत्र बोर्डद्वारा पूँजी बजार सुधारका लागि व्यापक निर्देशन जारी, कसलाई के निर्देशन दियो ?

Aug 25, 2026 07:45 PM Merolagani



नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारलाई थप सुदृढ, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी), धितोपत्र दलाल, मर्चेन्ट बैंकर तथा सूचीकृत कम्पनीहरूलाई सम्बोधन गर्दै व्यापक निर्देशनहरू जारी गरेको छ।

 

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै लगानीकर्ताको हित संरक्षण र बजारको आधुनिकिकरणका लागि यी निर्देशनहरू दिएको हो।

 

नेप्सेलाई निर्देशन

बोर्डले नेप्सेलाई कारोबार व्यवस्थापन प्रणाली (TMS) को आइटी अडिट र भिएपीटी (VAPT) गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ भने कारोबार प्रणाली (NOTS) मा देखिएका समस्या पहिचान गरी प्रणालीलाई थप आधुनिक र सक्षम बनाउन भनेको छ। विशेषगरी पछिल्लो समय चर्चामा रहेको कृत्रिम बौद्धिकता (AI) को प्रयोग गरी हुने कारोबारका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकताको अध्ययन नभएसम्मका लागि एआईमा आधारित अर्डर प्रविष्टिलाई रोक्न र यसबारे लगानीकर्तालाई जानकारी गराउन बोर्डले निर्देशन दिएको छ। यसका साथै मोबाइल एपमार्फत दोस्रो बजार कारोबारको व्यवस्था मिलाउन, 'आफ्टर मार्केट अर्डर' (AMO) प्रभावकारी बनाउन र सि-केवाइसी (C-KYC) लाई टिएमएससँग जोड्न समेत नेप्सेलाई भनिएको छ।

बोर्डले नेप्से ३० र नेप्से हाई क्याप जस्ता नयाँ सूचकाङ्कहरू विकास गर्न र फ्री-फ्लोट शेयरका आधारमा सूचकाङ्क गणना गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ। लगानीकर्ताको सुविधाका लागि सिडिएससी र टिएमएस बीच एपीआई इन्टिग्रेसन गरी 'अटो इडिआईएस' (Auto EDIS) प्रणाली लागू गर्न बोर्डले निर्देशन दिएको छ। यसबाट शेयर बिक्री गरेपछि लगानीकर्ताले म्यानुअल रूपमा इडिआईएस गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।

साथै, सिडिएससीमार्फत लगानीकर्तालाई आईपीओ निष्काशन, बोनस तथा हकप्रद शेयर, सेटलमेन्ट र डिम्याट डेबिट जस्ता विवरणहरू मोबाइलमा 'पुस नोटिफिकेसन' मार्फत तत्काल जानकारी दिने व्यवस्था मिलाउन भनिएको छ।

बोर्डले टिएमएसमा देखिने डीपी होल्डिङ र सिडिएससीको वास्तविक होल्डिङ बीच देखिएको भिन्नता अन्त्य गर्न रियल-टाइम रिकन्सिलेसनको व्यवस्था गर्न र 'फ्र्याक्सन शेयर' (टुक्रा शेयर) कारोबारका सम्बन्धमा रहेका समस्या समाधान गर्न अध्ययन गरी प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको छ।

धितोपत्र दलाललाई निर्देशन

धितोपत्र दलालहरूका हकमा बोर्डले ग्राहकको रकम र दलालको आफ्नै रकम छुट्टाछुट्टै बैंक खातामा राख्ने व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिएको छ। दलाल कम्पनीहरूले लगानीकर्ताको गुनासो व्यवस्थापनका लागि अनिवार्य रूपमा 'गुनासो समाधान इकाइ' गठन गर्नुपर्ने र महिना समाप्त भएको तीन कार्यदिनभित्र त्यसको विवरण बोर्डमा पेश गर्नुपर्नेछ।

धितोपत्र कारोबारको राफसाफ (T+2) अवधिमा लगानीकर्तालाई रकम उपलब्ध गराउने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि दलाल र नेप्सेलाई सचेत गराइएको छ।

मर्चेन्ट बैंकरहरूलाई निर्देशन

यता मर्चेन्ट बैंकरहरूलाई धितोपत्र निष्काशन गर्दा स्वार्थको द्वन्द्व नहुने सुनिश्चितता गर्न र नयाँ आईपीओ निष्काशनको निवेदन दिँदा लेखापरीक्षण प्रतिवेदन अनिवार्य रूपमा संलग्न गर्न निर्देशन दिइएको छ।

सूचीकृत कम्पनीलाई निर्देशन

सूचीकृत कम्पनीहरूका हकमा बोर्डले ठूला शेयरधनीहरूका लागि नयाँ नियम ल्याएको छ। अब कुनै पनि कम्पनीका ५ प्रतिशत वा सोभन्दा बढी शेयर धारण गरेका आधारभूत शेयरधनीले आफ्नो शेयर बिक्री गर्नुभन्दा १५ दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ र कम्पनीले सो जानकारी नेप्सेमार्फत सार्वजनिक गर्नुपर्नेछ।

सामूहिक लगानी कोषलाई निर्देशन

सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का योजना व्यवस्थापकहरूले आफ्ना योजनाहरूको स्वीकृत विवरण पुस्तिका, दैनिक बिक्री र पुनःखरिद भएका एकाइहरू, न्याभ (NAV) र इकाइधनीहरूको संख्या सम्बन्धी विवरण अनिवार्य रूपमा आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

बजारमा वित्तीय साक्षरता अभिवृद्धि गर्न नेप्से, सिडिएससी, ब्रोकर र मर्चेन्ट बैंकर सबैलाई महिनाको कम्तीमा एउटा कार्यक्रम सञ्चालन गर्न समेत बोर्डले निर्देशन दिएको छ। यी कदमहरूले नेपाली पूँजी बजारको पारदर्शिता बढ्ने र लगानीकर्ताको मनोबल उच्च हुने विश्वास धितोपत्र बोर्डले लिएको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।